काठमाडौँ – सर्वोच्च अदालतको फूलकोर्ट बैठकले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे सञ्चारमाध्यममा प्रकाशित र प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार बसेको सबै न्यायाधीश सम्मिलित बैठकले संविधानको सर्वोच्चता र कानुनको शासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै सार्वजनिक भएका विषयमा निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा पूर्वाग्रहरहित र स्वतन्त्र ढंगले अनुसन्धान गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न भनिएको छ ।
बैठकले समाचारका सम्बन्धमा हुने छानबिन र अनुसन्धानमा कानुनबमोजिम सहयोग तथा जवाफदेहिता निर्वाह गर्न न्यायपालिका प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।
त्यस्तै, छानबिनको निष्कर्ष नआउँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
न्यायपालिका जनताको आस्था र विश्वासमा आधारित संस्था भएकाले यससँग सम्बन्धित समाचारले सेवाग्राहीमा भ्रम र नकारात्मक असर पार्न नहुने बैठकको भनाइ छ ।
बैठकले प्रकाशित समाचारबाट विचलित नभई नियमित न्यायिक काममा सक्रिय रहन देशभरका अदालतमा कार्यरत न्यायाधीश तथा कर्मचारीलाई पनि आग्रह गरेको छ ।
















प्रतिक्रिया