भोजपुर– यहाँको हतुवागढी गाउँपालिका–४ खैराङमा अवस्थित छत्रपति गैया (बाघ) थान ओझेलमा परेको छ । पर्यटकीय महत्वको सो थान पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानमा रहेको यो देवस्थल स्थानीय बासिन्दाको आस्थाको प्रमुख केन्द्रका रूपमा रहँदै आएको भएपनि बाह्य पर्यटक तथा अन्य क्षेत्रका श्रद्धालुबीच भने अपेक्षित रूपमा परिचित हुन सकेको छैन ।
स्थानीयको विश्वासअनुसार, यस स्थानमा पूजा–आजा गर्दा मनले चिताएको पूरा हुने, देश–प्रदेश जाँदा सफल यात्रा हुने तथा गाउँघरमा कुनै प्रकारको विपत्ति नआउने जनविश्वास रहँदै आएको छ । यही आस्थाका कारण यहाँ हरेक वर्ष चैत र भदौ महिनामा गाउँबासी सामूहिक रूपमा भेला भई विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना गर्ने परम्परा रहिआएको स्थानीयबासी अभिषेक राईले बताए।
‘यो स्थान हाम्रो लागि केवल धार्मिकस्थल मात्र होइन, गाउँको पहिचानसँग जोडिएको आस्थाको केन्द्र पनि हो’ उनले भने, ‘यहाँ पूजा गर्दा मनोकामना पूरा हुने विश्वासका कारण टाढाटाढाबाट मानिस आउने गर्छन् । तर प्रचारको अभावले अझै धेरै मानिस यसबारे अनभिज्ञ छन् ।’
यस स्थलसँग स्थानीय संस्कृति, परम्परा र सामाजिक एकता पनि गाँसिएको छ । सामूहिक पूजा–आजाले गाउँमा आपसी सद्भाव, सहकार्य र धार्मिक एकताको भावना अभिवृद्धि गर्ने काम गर्दै आएको छ । तर यति महत्वपूर्ण सांस्कृतिक र धार्मिक सम्पदा हुँदाहुँदै पनि सम्बन्धित निकायबाट पर्याप्त ध्यान नपाउँदा यसको उचित विकास र प्रवर्द्धन हुन सकेको छैन ।
वडाध्यक्ष चन्द्रबहादुर विष्टका अनुसार, यस देवस्थलको संरक्षण तथा विकासका लागि वडा कार्यालयले विभिन्न पहल अघि बढाएको छ । यो देवस्थलको सुरक्षाका लागि तारजालीले घेराबारा गरिएको उनले जानकारी दिए । साथै पूजा–आजाको समयमा ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति हुने भएकाले उनीहरूको सहजताका लागि प्रतिक्षालयलगायतका पूर्वाधार निर्माण गर्न चालु आर्थिक वर्षमा रु तीन लाख बजेट विनियोजन गरिएको उनले बताए।
आगामी दिनमा यस क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने योजना पनि रहेको वडाले जनाएको छ । स्थानीयवासीका अनुसार, यदि यस क्षेत्रको उचित प्रचार–प्रसार गर्न सकिएमा यो स्थल धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्न सक्ने प्रचुर सम्भावना रहेको छ ।
गाउँपलिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा योजनावद्ध रूपमा काम अघि बढाएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। धार्मिक स्थलको संरक्षण, प्रवर्द्धन र दिगो विकासमा गाउँपालिकाले ध्यान दिएको अध्यक्ष राईले जानकारी दिए ।















प्रतिक्रिया