दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले सडक तथा गोरेटो बाटो निर्माणलाई विकासको प्रमुख आधार बनाउँदै ग्रामीण पूर्वाधार विस्तारमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।
गाउँपालिकाको ‘पक्की ग्रामीण सडक निर्माण अभियान’ अन्तर्गत विगत पाँच वर्षमा करिब ३० किलोमिटर पक्की सडक निर्माण सम्पन्न भएको छ भने पछिल्लो आठ वर्षमा ५० किलोमिटरभन्दा बढी पक्की गोरेटो बाटो निर्माण गरिएको छ।
गाउँपालिकाको वडानम्बर –२ र ३ अन्तर्गत पर्ने बुस्ती–पुतलीकाठ–मिर्गे सडकको जोखिमपूर्ण तथा भिरालो खण्डमा यस आर्थिक वर्ष ७०० मिटर आरसीसी ढलान सम्पन्न भएको छ।
बाढी, पहिरो र भलबाढीको उच्च जोखिम रहेको उक्त क्षेत्रमा ढलान निर्माण भएपछि स्थानीयवासीको आवागमन सुरक्षित र सहज बनेको छ। वर्षायाममा हिलो र पहिरोका कारण सास्ती भोग्दै आएका स्थानीयहरूलाई अहिले सहज यात्रा गर्न सकिने अवस्था बनेको छ।
गाउँपालिकाले पछिल्लो ७ वर्षको अवधिमा बुस्ती–पुतलीकाठ–मिर्गे सडकमा करिब ७ किलोमिटर, गोपी–जोमाने सडकमा ९ किलोमिटर, नाम्दु–पाडुडा सडकमा ३ किलोमिटर, डाँडागाउँ–मेघेचौर–बगर खण्डमा करिब १.५ किलोमिटर, मैनापोखरी अस्पताल सडक खण्डमा १.६० किलोमिटर, मैनापोखरी–बगर खण्डमा २ किलोमिटर, मैनापोखरी–देउराली–क्षेत्रपा खण्डमा ५ किलोमिटर तथा वडा नम्बर–७ अन्तर्गत नाम्दु–छाप र च्यानडा–छाप खण्डमा २.७० किलोमिटर सडक ढलान तथा कालोपत्रे सम्पन्न गरेको छ ।

सडक नै विकासको मेरुदण्ड
गाउँपालिका अध्यक्ष छवि लामाले विकासको मेरुदण्ड नै सडक पूर्वाधार भएको बताउँदै प्रत्यक्ष रूपमा जनजीवनसँग जोडिने भएकाले सडकलाई पहिलो प्राथमिकतामा राखिएको बताए ।
‘सडक पुगेपछि शिक्षा, स्वास्थ्य, कृषि, व्यापार र सेवाको पहुँच विस्तार हुन्छ,’ उनले भने । उनका अनुसार वडा नम्बर–३ बाहेक गाउँपालिकाका अन्य सातवटै वडा पक्की सडक सञ्जालसँग जोडिइसकेका छन्।
गोरेटो बाटोमा पनि लगानी
सडक मात्र नभई स्थानीय बस्तीहरूलाई सहज आवागमनसँग जोड्न गाउँपालिकाले पक्की गोरेटो बाटो निर्माणलाई पनि प्राथमिकता दिएको छ । अध्यक्ष लामाका अनुसार पछिल्लो आठ वर्षमा करिब ५० किलोमिटर पक्की गोरेटो बाटो निर्माण सम्पन्न भइसकेको छ। ‘हिलोरहित सडक र सुरक्षित पैदलमार्ग निर्माण अभियानले सार्थकता पाएको छ,’ उनले बताए ।
८५ प्रतिशत बस्तीमा खानेपानी पहुँच
पूर्वाधार विकाससँगै खानेपानी क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको छ । उप्रेतीका अनुसार हाल गाउँपालिकाका करिब ८५ प्रतिशत बस्तीमा स्वच्छ खानेपानीको पहुँच पुगेको छ। सडक, गोरेटो बाटो र खानेपानीको पहुँच विस्तारसँगै ग्रामीण जनजीवनमा सकारात्मक परिवर्तन देखिन थालेको छ ।
किसानको उत्पादन बजारसम्म
कुनै समय वर्षायाममा हिलो र हिउँदमा धुलोले सास्ती दिने ग्रामीण सडकहरू अहिले क्रमशः पक्की बन्दै गएका छन् । सडक पहुँच विस्तारसँगै दुर्गम बस्तीहरू बजार, स्वास्थ्य संस्था, विद्यालय तथा सरकारी सेवासँग नजिकिएका छन् । कृषि उत्पादन ढुवानी खर्च घटेको छ भने किसानले उत्पादन गरेका तरकारी, फलफूल, आलु, दूध तथा अन्य कृषि उपज सहज रूपमा बजारसम्म पुर्याउन थालेका छन् ।
यसले स्थानीय उत्पादनको बजारीकरण र किसानको आम्दानी वृद्धि गर्न मद्दत पुगेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश पौडेलले बताए ।
स्वास्थ्य, शिक्षा र कृषिमा जोड

गाउँपालिकाले पूर्वाधार विकाससँगै स्वास्थ्य, शिक्षा, कृषि, प्रशासनिक भवन निर्माण, खेतीपाती तथा पशुपालनमा अनुदान, दुग्ध उत्पादन प्रवर्द्धन, पशुपालन प्रोत्साहन तथा आयआर्जनका कार्यक्रमलाई समेत प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ । कृषि तथा पशुपालन क्षेत्रमा दिइएका अनुदान कार्यक्रमका कारण व्यावसायिक खेती र पशुपालनतर्फ युवाको आकर्षण बढ्न थालेको स्थानीयहरूको भनाइ छ ।
दुग्ध उत्पादक किसानलाई प्रोत्साहन, उन्नत जातका पशु वितरण, पशु स्वास्थ्य सेवा तथा कृषि प्रविधि विस्तारका कार्यक्रमले गाउँमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्न सहयोग पुर्याएको गाउँपालिकाको दाबी छ
।
प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार गाउँपालिकाको लक्ष्य अब भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नभई सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई एकीकृत रूपमा अघि बढाउँदै समृद्ध वैतेश्वर निर्माण गर्नु रहेको छ।
स्थानीयवासीहरूका अनुसार विगतको तुलनामा अहिले गाउँमा विकासको अनुभूति स्पष्ट रूपमा देखिन थालेको छ। सडक, गोरेटो बाटो, खानेपानी, विद्यालय र स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै ग्रामीण जीवनस्तरमा क्रमिक सुधार आएको छ। विकासका यी सूचकहरूले वैतेश्वर गाउँपालिकालाई दोलखाका ग्रामीण पालिकामध्ये पूर्वाधार विकासमा अग्रसर स्थानीय तहका रूपमा स्थापित गर्दै लगेका छन्।
दिगो विकासतर्फ उन्मुख गाउँपालिका
वैतेश्वर गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणलाई मात्र नभई दिगो विकासको आधारका रूपमा हेरेर योजनाहरू कार्यान्वयन गर्दै आएको जनाएको छ।
सडक र गोरेटो बाटो विस्तारसँगै शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रको सम्भावनालाई समेत जोड्ने प्रयास भइरहेको छ। गाउँपालिकाका अनुसार पहुँच मार्गको सुधारले दुर्गम बस्तीमा सरकारी सेवा पुर्याउन सहज भएको छ भने विपद् व्यवस्थापन र उद्धार कार्यमा समेत प्रभावकारी सहयोग पुगेको छ।
स्थानीय तह स्थापना यता गाउँपालिकाले विकास निर्माणका योजनालाई जनआवश्यकतासँग जोडेर अघि बढाएको छ। पूर्वाधार विकाससँगै उत्पादन, रोजगारी र आयस्तर वृद्धि गर्ने लक्ष्य राखिएकाले आगामी वर्षहरूमा पनि सडक स्तरोन्नति, खानेपानी विस्तार, कृषि आधुनिकीकरण र सामाजिक पूर्वाधार निर्माणलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।
विकासका यी प्रयासले वैतेश्वरलाई आत्मनिर्भर र समृद्ध गाउँपालिकाका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
सुवाश बस्नेत/दोलखा













प्रतिक्रिया