‘पूर्णबहादुर खड्काले सदस्यता नवीकरण नगरे अवकाश पाएको बुझ्नुपर्छ’ « Khabarhub

अन्तर्वार्ता

‘पूर्णबहादुर खड्काले सदस्यता नवीकरण नगरे अवकाश पाएको बुझ्नुपर्छ’



काठमाडौं- नेपाली कांग्रेसभित्रको घरझगडा अझै साम्य भइसकेको छैन । सर्वोच्च अदालतले विशेष महाधिवेशनमार्फत् भएको नेतृत्व चयनसम्बन्धी विवाद औपचारिक रूपमा टुङ्ग्याइदिएको भएपनि पार्टीभित्र अझै पनि संवाद र समन्वयको अभाव देखिन्छ । यसैबीच, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका विषयमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सार्वजनिक गरेको पछिल्लो वक्तव्यले पार्टीभित्र नयाँ बहस जन्माएको छ ।

एकातर्फ पार्टीले ‘जरामा जाऔँ’ अभियानमार्फत डिजिटल माध्यमबाट सदस्यता अद्यावधिक गरिरहेको छ भने अर्कोतर्फ खड्काले यसअघि टुंगो लागिसकेका सदस्यतालाई नै १५औँ महाधिवेशनको आधार बनाउनुपर्ने धारणा राखेका छन् । यस्तै विषयमा खबरहबले नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेसँग कुराकानी गरेको छ ।

प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

निवर्तमान कार्यवाहक सभापतिको गतिविधिलाई पार्टीले कसरी लिएको छ ?

हाम्रो अग्रज नेता, पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीको कार्यकारिणी पदमा हुनुहुन्न । पार्टीको निर्णय गर्ने कुरामा उहाँको सरसल्लाह हुनसक्छ तर वैधानिक उपस्थिती हुँदैन । उहाँले भनेका कुरालाई पार्टीले व्यक्तिगत विचारका रुपमा लिन्छ ।

ती विचार समयानुकूल अर्थपूर्ण भए त्यसलाई समेटिन्छ । देशका सम्पूर्ण कांग्रेसीजनका लागि हाम्रो वैधानिक कार्यसमितिले प्रदान गर्ने दिशा निर्देशन र कार्यक्रम नै आधिकारिक हुन्छ । यसबारे कसैलाई अन्योल र भ्रम हुन जरुरी छैन ।

क्रियाशील सदस्यता अद्यावधिक अभियान विवादमा किन ?

डिजिटलाइज गर्ने उद्देश्यले सुरु गरिएको अद्यावधिक अभियानलाई लिएर पार्टीभित्र विवाद गर्नुपर्ने विषय होइन । यो पार्टीलाई अपग्रेड तथा आधुनिकीकरण गर्ने र प्रविधिसँग जोड्न सुरु गरिएको हो । पार्टी यस विषयमा कमजोर भएकाले हामीले उचित रणनीति तयार गर्न सकेनौँ र निर्वाचनमा जनमत गुमायौँ । अथवा भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको बेला हामीले सही सूचना दिन सकेनौँ । यी सबैको कारक तत्व सामाजिक सञ्जालमा पार्टीको उपस्थिती कमजोर रहेको ठहरियो । पार्टीको सबै प्रणालीलाई डाटाबेसमा लैजाने प्रक्रियालाई अधिवेशनसँग जोडेर जुङ्गाको लडाइँका रुपमा लिँदा पार्टीलाई फाइदा गर्दैन ।

ज-जसलाई नेतृत्वमा पुग्न मन छ, उसले नयाँ विचार, कार्यक्रम र एजेण्डा लिएर प्रतिस्पर्धामा गए हुन्छ । पार्टीलाई क्षति पुर्‍याएर होइन । पार्टीको ढोका निकालेर झ्याल फुटाएर घर भत्काएर पार्टीको निर्माण हुँदैन । पार्टीलाई आधुनिकीकरण गर्ने विषयमा किन राजनीति गरेको ?

आत्मसमीक्षा लोकतन्त्रको सबैभन्दा बलियो पक्ष हो । विवेक यसमा सबैभन्दा बढी प्रयोग हुने शब्द हो । नेताहरुमा म ठीक वा बेठीक के गर्दै छु, विवेकले परिक्षण गर्ने क्षमता हुनुपर्छ । यो सबै कुरा जनसमुदाय र कार्यकर्ताले हेर्छ । यो अभ्यास र परीक्षणको कुरा हो । नेतृत्व जहिले पनि जनतामा आधारित हुन्छ । यो कुरा नेताले ध्यानमा राख्नुपर्छ ।

जनताले अहिले नयाँ पार्टीलाई भारी बहुमत दिएर पठाएका छन् । यो अवस्थामा कांग्रेसजस्तो पुरानो पार्टीमा निम्तिएको विवादले आगामी निर्वाचनमा गाह्रो पर्ला नि !

लोकतन्त्रमा अवसर हुन्छन् । व्यक्तिका लागि पार्टी बनेको हुँदैन । लगातार ३०/४० वर्षसम्म एउटै व्यक्तले नेतृत्व लिइरहनुपर्ने भन्ने कुरा हुँदैन । संसदीय प्रणालीमा बेलायतको अभ्यास हेर्ने हो भने पार्टीका पूर्वप्रधानमन्त्री र मन्त्रीहरु आज राजनीतिमा छैनन् । नयाँ मान्छे आइसकेका छन् ।

हरेक प्रजातान्त्रिक प्रणालीमा नेतृत्वले केही समय नेतृत्व गर्छ । त्यसपछि उसले छोडेर निजी जीवनमा जान्छ । उसको ठाउँमा अर्को नेता आउँछ ।

पार्टीमा दुई पक्षले फरक–फरक निर्णय गर्दा तल्लो तहका सदस्य अन्योलमा छन् । यसबारे पार्टीले कुनै ठोस योजना बनाएको छ ?

धैर्यता सबैभन्दा महत्वपूर्ण हो । अहिले पार्टीका अग्रजलाई यो गर वा त्यो नगर भनेर मर्यादामा ठेस पुर्‍याउन चाहँदैन्नौँ । शब्दमा संकीर्णता, दुर्व्यवहार र दुर्वचन पनि देखाउन चाहादैनौँ । २/३ महिना धैर्य राख्छौँ । महाधिवेशन गर्छौँ र त्यहाँबाट स्वःस्फुर्त समाधान आउँछ ।

पूर्णबहादुर खड्काको हरेक वक्तव्यमा सदस्यता वितरण र अद्यावधिकको विषय उल्लेख गरिएको पाइन्छ । अब उहाँहरु पार्टीबाहिर हुने हो ?

प्रजातन्त्रले उहाँहरुलाई आफ्नो कुरा राख्ने स्वतन्त्रता दिन्छ । पार्टीको निर्णय जहिल्यै वैधानिक हुन्छ । सदस्यता अद्यावधिक गर्ने वा नगर्ने उहाँको कुरा हो । त्यसमा हामीले जबरजस्ती गर्न मिल्दैन । उहाँहरुले सदस्यता नवीकरण गर्न नचाहे अग्रज नेताहरु रिटार्यड हुनुभएको होला भन्ने बुझ्नुपर्ला । उहाँहरुले पार्टीको निरन्तर नेतृत्वमा अरुलाई प्रोत्साहन गर्नुभयो भन्ने अर्थमा बझ्न सकिँदैन । महात्मा गान्धीको पदनै थिएन, के उनी नेता होइनन् र ?

उहाँको वक्तव्यको पनि प्रभाव, सिमा र औचित्य पक्कै होला । ४/५ महिनामा हामी अधिवेशन गरिहाल्छौँ । त्यसपछि उहाँहरु पदमा भए नभएपनि कुनै कमी हुन दिँदैनौँ । उहाँले अहिले राम्रो/नराम्रो जे गरेपनि हिजो त पार्टीका लागि गर्नुभयो नि ! उहाँहरुको विचारमा सहमत नभएपनि हामी इतिहासको सम्मान गछौँ, योगदानको कदर गछौँ ।

घरमा बुवाआमा वृद्ध हुँदा छोराछोरीमा भूमिका हस्तान्तरण भएजस्तै हो । बाबुआमाबाट भूमिका लिँदैमा सम्मान गर्न छाड्छौँ र ? पार्टीमा जिम्मेवारी नहुँदैमा नेता नै नहुने होइन । नेता र पद फरक विषय हो । पद नभएपनि नेता हुन सकिन्छ । तर पद हुँदैमा सबै नेता भने हुँदैनन् ।

इतर पक्षलाई एकै छानामुनि ल्याउन पार्टीले केही रणनीति बनाएको छ ?

उहाँहरु बुझ्ने मान्छे नै हो । त्यसैले सारा पार्टीको ऊर्जा त्यसमै खर्च गर्नुभन्दा नयाँ विषयमा लगाए नतिजा आउँला नि त ! हाम्रो ऊर्जालाई देशवासीमा नयाँ आशा सिर्जना गर्न उपयोग गर्नुपर्छ । सकारात्मक विषयलाई प्रचार गरेर युवापुस्तालाई पार्टी र देशमा भइरहेका र हुनसक्ने नेगेटिभ कुराबाट जोगाउनुपर्छ ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ८ : ३९ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण