रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट « Khabarhub

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट



काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय कमिटी सदस्य र पदाधिकारीमा कसैलाई पनि मनोनित गरिएन । पार्टी महामन्त्री विपिनकुमार आचार्यका अनुसार बुधबार यसबारे बैठकमा छलफल अगाडि बढ्न सकेन । उनले पार्टी सभापति रवि लामिछानेलाई केन्द्रीय कमिटी, पदाधिकारी र सचिवालय टुंग्याउन अधिकार दिएकाले आवश्यकता अनुसार पदपूर्ति गर्दै जाने बताए ।

‘सभापतिलाई अधिकार दिइएको छ । बुधबार मुख्यतः दुई वटा एजेण्डामा मात्रै केन्द्रित रहेर बैठक बस्यो । पहिलो शुभकामना आदानप्रदान र तीन वटा आयोगमा नियुक्ति गर्ने ।’ आचार्यले जानकारी दिए, ‘केन्द्रीय कमिटी पदाधिकारी र सचिवालय सदस्य विधानले नै पार्टी सभापतिलाई मनोनित गर्ने अधिकार दिएको छ । आवश्यकता अनुसार उहाँले कदम चाल्नुहुन्छ ।’

केन्द्रीय कमिटी बैठकमा पार्टी सभापति रवि लामिछानेले उपस्थित केन्द्रीय सदस्यहरूलाई सपथ खुवाएर मायाको चिनो वितरण गरेका थिए । मायाको चिनोमा काठको फ्रेममा घन्टी समेत राखिएको थियो । उत्साहित हुँदै नवनिर्वाचित केन्द्रीय सदस्यले उक्त मायाको चिनो ग्रहण गरे । ९९ सदस्यीय केन्द्रीय समितिमा ९७ जनाको मात्र शपथ गरिएको छ । दुई जना केन्द्रीय सदस्यको विषयमा निर्वाचन आयोगले धाँधली गरेको भन्दै उजुरी परेपछि रोकिएको थियो ।

सोम शर्मालाई केन्द्रीय सदस्यको सूचीबाट हटाएर पूजा बास्तोलालाई ल्याएको विषय र जनजाति क्लस्टरमा विजयी घोषित गरिएका कृष्णमान श्रेष्ठको स्थानमा ध्रुव थापा मगरलाई समेटेको विषयमा उजुरी परेपछि यी चार जनामध्ये कसैलाई पनि शपथ ग्रहण गराइएन । पार्टी कार्यालयमा चारैजना उपस्थित भएपनि उनीहरू बैठकमा पनि सामेल गराइएन । उनीहरूको सपथ पनि भएन । यो प्रश्न पार्टी महामन्त्री विपिन आचार्यलाई सोध्दा निर्वाचन आयोगले आवश्यक निर्णय गर्ने बताउँछन् ।

उनी आएको क्षेत्राधिकारभित्र पर्ने कुरा भएकाले पार्टीले निष्पक्ष रुपमा छानबिन गर्न आयोगलाई निर्देशन दिइसकेको बताउँछन् ।

रविले के भने ?

पार्टीको पहिलो महाधिवेशन एक सातामा सकिए पनि उत्साहित मुद्रामा उपस्थित भएका पार्टी सभापति लामिछानेले सुरुमै सबैलाई धन्यवाद दिएका थिए । बैठकमा वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह भने उपस्थित भएनन् । यो विषयमा कसैले पनि प्रश्न नराखेको र सभापति रविले पनि उल्लेख नगरेको सहभागी नेताहरु बताउँछन् । आधिकारिक रुपमा पार्टी सभापतिले मनोनित नगरिसकेको र केन्द्रीय कमिटीमा पनि उनी आइनसकेको भएर बैठकमा उपस्थित नभएको प्रधानमन्त्रीको सचिवालय बताउँछ ।

केन्द्रीय सदस्यलाई सम्बोधन गर्दै रविले कुनै पनि गुट र आशंका पार्टीभित्र नरहेको दाबी गरे । उनले सुरुमै पार्टीको पहिलो महाधिवेशनले पार्टीलाई एक ढिक्का र एकचित्त बनाएको उल्लेख गरेका थिए । उनले महाधिवेशनले सबैलाई एकताको सन्देश दिएकाले कोही पनि कहाँको भन्ने प्रश्न नहुने उल्लेख गरे । रविले पदाधिकारी सचिवालय सदस्य र केन्द्रीय सदस्यको पदपूर्तिका विषयमा सबैको जिज्ञासा रहन सक्ने अनुमान गर्दै भने, ‘पदाधिकारी केन्द्रीय सदस्य र सचिवालय टुङ्ग्याउनेबारे मैले आफ्नो ढंगले तयारी गरिरहेको छु । ल्याउनैपर्ने अवस्थाका साथीहरू कसैलाई पनि छुटाउने छैन । समावेशिता र प्रतिनिधिमूलक विषयललाई मध्यनजर गर्दै पदपूर्ति गरिनेछ । केन्द्रीय कमिटीको बैठकबाट निर्वाचित हुनुभएका तपाईँहरू सबैलाई बधाई छ। अब आउने साथीहरु पनि विभिन्न जातजाति भाषाभाषी संस्कृति र फरक फरक क्षमताका पनि आउनुहुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टी सबैको साझा फूलबारी बनाउनका लागि नै मैले मेहनत गरेर केन्द्रीय कमिटी पदाधिकारी र सचिवालय टुङ्ग्याउने छु । यसमा साथीहरुले टाउको नदुखाउनु होला । मैले फेरि पनि भने समावेशिताको मर्मलाई मर्न दिने छैन। म सबैको विषयमा जानकार छु ।’

बैठकमा रविले तयारी नपुग्दा र प्राविधिक कठिनाइका कारण समयमै महाधिवेशन सम्पन्न हुन नसकेकोमा पार्टी सभापतिको हैसियतले माफी समेत मागेको उनी निकट नेता बताउँछन् । केन्द्रीय कमिटी बैठकमा पार्टी सभापति रविले कोषाध्यक्ष र पार्टी प्रवक्ता नियुक्ति गर्ने सम्भावना थियो । तर उनले अत्यावश्यक पद यी दुई पनि नियुक्ति गरेनन् । पार्टीका गतिविधिलाई सञ्चालन गर्नका लागि पार्टी प्रवक्ता र पार्टीको आर्थिक कारोबार सञ्चालन गर्नका लागि कोषाध्यक्षको जरुरी भएपनि उनले अर्को केन्द्रीय कमिटी बैठकमा एकै साथ पदपूर्ति गर्ने योजना अनुरुप बुधबार नगरेको जानकारी उनी निकट नेता बताउँछन् ।

यसबारे सहममन्त्री निशा डाँगीलाई प्रश्न गर्दा उनी आवश्यकता हेरेर पार्टी सभापतिले मनोनित गर्ने र मनोनयन गर्दा कसैलाई पनि अन्याय नगर्ने कुरा राखेको बताउँछिन् । ‘विधानले नै पार्टी सभापतिलाई अधिकार दिएको छ । हामीले त्यो अधिकारको उपयोग गर्न सभापतिलाई छुट दिएका छौँ । यसबारेमा कुनै निर्णय भएको छैन । ठूलो पार्टी भएकाले समावेशी समानुपातिक सिद्धान्तलाई अङ्गीकार गर्दै उहाँले थप कुराहरुको निर्णय लिनुहुन्छ भन्ने हामीले अपेक्षा राखेका छौ ।’ डाँगीले भनिन्, ‘बल्ल त केन्द्रीय कमिटीको बैठक बसेको छ। अरु बैठकहरु पनि आउँदैछन् नि । सभापतिज्यूले यसबारे तयारी गरिरहनुभएको जानकारी हामीले पाएका छौँ ।’

अर्का केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार आगामी बैठकबाट केन्द्रीय कमिटी र सचिवालय टुङ्ग्याउने तयारीमा रवि छन् । अर्को केन्द्रीय कमिटी बैठक यही साताभित्र नभएपनि अर्को सातामा बस्ने जानकारी छ। सभापतिले केन्द्रीय कमिटी बैठक अबको ७,८ दिनमा बस्ने गरी आफू तयारीमा जुटेको बताएका थिए । त्यो बैठकबाट छिटपुट पदहरू नटुङ्गिए पनि केन्द्रीय कमिटी र पदाधिकारीलाई पूर्णता दिने विषयमा रवि अहिले गम्भीर छलफलमा रहेको उनको सचिवालय बताउँछ ।

केन्द्रीय कमिटी र पदाधिकारी आगामी बैठकमा टुङ्ग्याउने संकेत रविले दिए पनि सचिवालयमा भने आवश्यकता अनुसार मनोनीत गर्दै जाने सम्भावना रहेको देखिन्छ । ‘पार्टी सभापतिज्यूको संकेत र हामीसँग अनौपचारिक रूपले कुरा गरेको आधारमा उहाँले आगामी बैठकमा एकैसाथ पार्टी केन्द्रीय सदस्य र सचिवालय टुङ्ग्याउने तयारी चाहिँ गर्नुभएको हो । उहाँ विभिन्न व्यक्तिहरूसँग यस बारेमा गहन छलफलमा हुनुहुन्छ भन्ने जानकारी हामीलाई पनि छ ।’ ती नेता भन्छन्, ‘सचिवालय आवश्यकता अनुसार मनोनित गर्दै जाने तर पदाधिकारी र केन्द्रीय कमिटी आगामी बैठकसम्ममा टुंग्याउने उहाँको तयारी छ । पार्टी प्रवक्ता र कोषाध्यक्ष अत्यावश्यक पद भएकाले तत्कालै टुङ्ग्याउने भन्ने विषयमा उहाँले केही जनासँग छलफल गर्नुभएको हो । तर आगामी बैठकमा एकैचोटी टुङ्ग्याउँदा हुने भन्ने हिसाबले अगाडि बढेको देखिन्छ ।’

अहिले पार्टीको प्रवक्ता नभएको अवस्थामा सहममन्त्री र महामन्त्रीले आवश्यक सूचनाहरू दिइरहेका छन् । बुधबारको बैठकको विषयमा पनि सञ्चारकर्मीलाई महामन्त्री आचार्यले जानकारी दिएका थिए । त्यसपछि सहममन्त्री हरि ढकाल, निशा डाँगी पनि आवश्यकता अनुसार जोडिए । प्रवक्ताको विषयमा ढकाललाई प्रश्न गर्दा उनी भन्छ्न, ‘सभापतिलाई अधिकार दिएकाले उहाँले सोचेर निर्णय लिन सक्नुहुन्छ । उहाँले काम पनि गर्दै हुनुहुन्छ होला ।’

रविसामु पुगेको छ विभिन्न समूहको लिस्ट

पदाधिकारी सचिवालय र केन्द्रीय सदस्य टुंग्याउनका लागि विभिन्न घटकहरूको लिस्ट रवि सामु पुगेको छ । पार्टी एकीकरणका क्रममा मिसिएका घटकहरूले सभापतिलाई आफ्नो पक्षका नेताहरूलाई राख्न लिस्ट बुझाएका छन् । विवेकशील साझा पक्ष, बालेन्द्र शाह पक्ष, थारु समूह, दलित समूह लगायतका व्यक्तिहरूको लिस्ट पार्टी सभापतिसँग पुगेको र ती लिस्टलाई मसिनो गरी उनले अध्ययन गरिरहेका छन् । रविले आफू निकट नेताहरूलाई पनि ती विषयमा अध्ययन गर्न दिइरहेको र विभिन्न घटकका तत्कालीन नेतृत्वमा रहेका नेताहरूसँग पनि परामर्श गरिरहेको बताइन्छ ।

रविले ५१ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउनेछन् तर उनी सामु लिस्ट १०० भन्दा बढी पुगिसकेको छ । पदाधिकारीमा भने रविले आफूलाई सहयोग पुर्‍याउनसक्ने व्यक्तिलाई राख्ने तयारी गरेका छन् । तर यहाँ पनि विभिन्न समूहबाट आएका नेताहरुलाई समेट्नुपर्ने छ ।

पार्टी प्रवक्तामा भने रविले आफू निकट नेतालाई मनोनित गर्ने बताइन्छ । यसका लागि बलियो दावेदार केन्द्रीय सदस्यहरु प्रमोद न्यौपाने , गणेश पराजुली र दीपक बोहरा हुन् । तीमध्ये न्यौपाने र बोहराको नाम अलि बढी चर्चामा छ । संस्थापन मध्येका एक नेता भएकाले पराजुलीलाई पनि समेट्न सक्ने नेताहरू बताउँछन् ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ९ : २८ बजे

थाइल्यान्डमा बसोबास गर्ने नेपालीलाई कृषिमन्त्रीले भनिन्- अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको विकासमा उपयोग गरौँ

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग थाइल्यान्डमा बसोबास गर्ने

कर्णाली नदीमा मिनीबस खस्यो

दैलेख- दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङगेतरा क्षेत्रमा मिनीबस कर्णाली

विपद्का घटनामा ३ जनाको मृत्यु, २३ जना घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ५२ वटा विभिन्न विपद्का घटना

शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाले लिए शपथ

काठमाडौं- शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री तथा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का

बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र निर्माण

काठमाडौं– नेपाली कला, संस्कृति तथा धार्मिक सम्पदाप्रति जनचेतना अभिवृद्धि गर्ने