‘जिम्मेवारी पाउँदा युवाले राम्रो भूमिका निर्वाह गर्न सक्छन् भन्ने उदाहरण हामी हौँ’ « Khabarhub

‘जिम्मेवारी पाउँदा युवाले राम्रो भूमिका निर्वाह गर्न सक्छन् भन्ने उदाहरण हामी हौँ’

'सभापतिज्यूलाई विश्वास गरेर यहाँसम्म आयौँ, उहाँले कसैलाई अन्याय गर्नुहुन्न'



काठमाडौं- २०७९ को निर्वाचनमा निशा डाँगी कान्छी माननीयका रुपमा राष्ट्रिय स्वातन्त्र पार्टीबाट समानुपातिक सांसद भइन् ।वैकल्पिक शक्तिको रूपमा आएको रास्वपाले स्थापनाकालदेखि नै सचिवालयमा रहेर काम गरेकी डाँगीलाई समानुपातिक सूचीबाट सांसद बनाउँदा धेरैले आलोचना गरेका थिए । तर, डाँगीले २०८२ फागुन २१ को निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाट अत्याधिक मत ल्याएर ठूला दलका गन्यमान्य नेतालाई हराइन् ।

पत्रकारिता क्षेत्रबाट नेता बनेकी उनी चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनमा अत्याधिक मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भइन् । लगत्तै भएको पार्टीको पदाधिकारी निर्वाचनमा पनि उनी ७३७ मत प्राप्त गरेर महिला सहमहामन्त्रीमा विजयी भइन् ।

उनीसँगै प्रतिस्पर्धामा उत्रिएका चर्चित ५ अनुहार पराजित भए । पार्टीको सहममन्त्री भएपछि अब उनले पार्टीलाई चलायमान बनाउन र तल्लो तहसम्म विस्तार गर्न लाग्नुपर्ने चुनौती आइलागेको छ । सहमहामन्त्री डाँगी पार्टी सभापति रवि लामिछानेले केन्द्रीय कमिटी एक साताभित्रमा विस्तार गर्ने र लगत्तै पदाधिकारी र सचिवालय टुंग्याउँदै जाने बताउँछिन् । सभापतिले यी कामहरू थालिसकेको उनको भनाइ छ । सभापति लामिछानेले सचिवालय पदाधिकारी र केन्द्रीय कमिटी विस्तार गर्दा कसैलाई पनि अन्याय नगर्ने उनी बताउँछिन् ।

‘युवालाई अवसर दियो भने निस्वार्थ भावले सेवा गर्न सक्छन् भन्ने म्यासेज हाम्रो पार्टीले दिएको छ । महाधिवेशनपछि बल्लतल्ल पार्टी एक लयले अगाडि बढ्न गइराखेको छ । त्यसैले हामी सबै जना संस्थापन पक्षको भन्नुपर्छ,’ उनी भन्छिन्, ‘पार्टीको पहिलो महाधिवेशनमा स्वास्थ्य प्रतिस्पर्धा भयो । पार्टीमा कुनै गुट छैन । गुट छ भन्ने साथीहरुले यसको जवाफ दिनुहोला । मैले चाहिँ महसुस गरेकी छैन ।’

उनी पदाधिकारी केन्द्रीय कमिटी र सचिवालयमा क-कसलाई राख्ने भन्ने प्रक्रिया सभापतिले सुरु गरिसकेको र अब एक साताभित्रमा एउटा खाका आउने बताउँछिन् । यसै विषयमा केन्द्रित रहेर खबरहबले रास्वपा सहमहामन्त्री निशा डाँगीसँग गरेको कुराकानीको सम्पादित अंश ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ । के के विषयमा छलफल भयो ?

बधाई तथा शुभकामना दिने र निर्वाचन सफल रुपमा सम्पन्न भएकोमा कृतज्ञता व्यक्त गर्ने काम भयो । अनुशासन आयोगमा लामो समयदेखि कार्यवाहक जिम्मेवारी दिइरहेका थियौँ । त्यसलाई पूर्णता दियौँ । लामो बैठक राखिएन । दुई तीन वटा एजेण्डामा हामीले छलफल गरेर सकायौँ । अरु कुरा धेरै हुन पाएन । नेताहरू आफू आफ्नो काममा खटिनुपर्ने र सदन पनि भएको हिसाबले हामीले छिटोछिटो काम गरेका हौँ ।

केन्द्रीय कमिटी, सचिवालय र पदाधिकारी टुंग्याउने विषयमा सभापतिले के काम गरिरहनुभएको रहेछ ?

उहाँ केन्द्रीय कमिटी, सचिवालय र पदाधिकारी टुंग्याउने सोचमा हुनुहुन्छ । क-कसलाई राख्ने भन्ने प्रक्रिया सभापतिज्यूबाट सुरु भइसकेको छ भन्ने जानकारी आयो । बाँकी कुरा त सभापति स्वयंले निर्णय लिने कुरा भयो । उहाँले १० जना पदाधिकारीसँगै ५१ जना केन्द्रीय सदस्य र सचिवालयको टिम पनि विस्तार गर्नुहुन्छ । यी सबै विषयमा उहाँले काम सुरु गरिसक्नुभएको छ । उहाँले सोच विचार गरेर र आवश्यक परेको खण्डमा पदाधिकारीसँग छलफल पनि गरेर टुंग्याउनु हुन्छ । छिट्टै नै हाम्रो केन्द्रीय समितिले पूर्णता पाउँछ भन्नेमा म आशावादी छु ।

यहाँ त भदौ २३ र २४ गतेको आन्दोलनको पुस्ता अर्थात् जेन-जीको प्रतिनिधित्व गर्नुहुन्छ, अरु साथीहरू पनि आउनुहुन्छ कि ?

ठ्याक्कै म हो चाहिँ भन्दिनँ । तर म सँगसँगै मेरो उमेरसम्मको केही साथीहरूको चर्चा सुन्या छु । आवश्यकता अनुसार उहाँहरुलाई राख्नुहुन्छ ।

केन्द्रीय सदस्यमा मात्र हो कि सचिवालय र पदाधिकारीमा पनि ?

केन्द्रीय सदस्यमा चाहिँ धेरै जना साथीहरु आउनुहुन्छ । सचिवालय र पदाधिकारीमा चाहिँ एक दुई जनाको सम्भावना छ । छलफल गरेर निर्णय हुने भएको भए अलि बढी जानकारी हुन्थ्यो । सभापतिज्यूलाई नै निर्णय गर्ने अधिकार दिएकाले उहाँले यसबारे थप परामर्श गरिरहनु भएको होला । सभापतिज्यूले पक्कै पनि युवा पुस्तालाई ल्याउने प्रयास गर्नुभएको छ । यति चाहिँ भन्न सक्छु- सभापतिज्यूलाई नै विश्वास गरेर हामी सबै पार्टीमा जोडिएका हौँ । उहाँले सबैलाई न्याय गर्ने हिसाबले आगामी पदपूर्ति गर्नुहुन्न, अन्याय गर्नुहुन्न ।

तपाईं त ३० मुनिकै नेता हुनुहुन्छ, पार्टीमा कतिपयले तपाईंको पुस्तालाई ल्याउनु हुँदैन भन्ने कुरा पनि रहेछ, यहाँको विचारdf चाहिँ अबको केन्द्रीय कमिटी सचिवालय र पदाधिकारी कस्तो टिम बन्नुपर्छ ?

पार्टीका साथीहरूले हाम्रो पुस्ता ल्याउनु हुँदैन चाहिँ भन्नु हुँदैन होला । हामीलाई केन्द्रीय कमिटीमा निर्वाचित गर्दै गर्दा र पदाधिकारीमा चुन्दै गर्दा म अन्डर ३० को थिएँ । तर, धेरै जना साथीहरुले अत्याधिक मतले विजय गराउनुभयो । भारी मतका साथ सहमहामन्त्रीमा पनि अरु पाँचजना साथीभन्दा मलाई धेरै माया गर्नुभयो।

हाम्रो सहमहामन्त्रीमा धेरै जना आकांक्षी साथीहरू हुनुहुन्थ्यो । मलाई ल्याउनु हुँदैन भन्ने महाधिवेशन प्रतिनिधिले कुरा गर्नुभएको भए त अरुलाई पनि मत हाल्न सक्नुहुन्थ्यो । त्यो सँगसँगै माननीय उपसभापति तथा कानूनमन्त्री सोबिता गौतम पनि मभन्दा एक वर्ष मात्रै पाको हुनुहुन्छ । यो उमेर समूहलाई ल्याउनु हुँदैन भन्दा ३० हाराहारीका हामी दुई त आएका छौँ नि । हामीले पनि धेरै अध्ययन अनुसन्धान र अरु कुराहरू सिक्नुपर्ने होला । जुन हामीले गरिराखेका छौं । कोही पनि एकैचोटि त जान्ने हुँदैन नि ।

अहिले विस्तारै युवाले पनि परिपक्व रुपमा काम गर्न सक्नुहुन्छ भन्ने भाष्य निर्माण भइरहेको छ । जिम्मेवारी दियो भने युवाले राम्रोसँग निर्वाह गर्न सक्नुहुन्छ भन्ने उदाहरण हामी नै हो । युवालाई अवसर दियो भने निस्वार्थ भावले देशसेवा गर्न सक्छ भन्ने म्यासेज हाम्रो पार्टीले दिएको छ ।

युवा पुस्तालाई अवसर दिने, स्वागत गर्न खोज्ने व्यक्तिहरु धेरै देखेको छु । हाम्रो पार्टीले यसै पनि युवालाई अवसर दिएको छ । त्यसले हामी जस्ता व्यक्तिलाई राजनीति गर्न मौका मिलेको छ । मौकाभन्दा पनि राजनीति भनेको सेवा हो । सेवा भावले काम गरिरहेका छौँ ।

युवामा पनि अलिकति परिपक्वता देखिएन भन्ने कुरालाई चाहिँ कतिको विश्वास गर्नुहुन्छ ?

युवा हुँदैमा अपरिपक्व हुने र उमेर खाँदैमा परिपक्व हुने भन्ने चाहिँ हुँदैन । म यो कुरा मान्दिनँ । धेरै पर जानु परेन- यहाँले नै बुझ्नुहुन्छ, पार्लियामेन्टमा पनि कस्तो स्थिति छ । उमेरले परिपक्वता ल्याउने होइन, व्यवहार र कार्यशैलीले परिपक्वता ल्याउने हो । उमेरले अपरिपक्वता र परिपक्वता निर्वाह गर्छजस्तो लाग्दैन । जिम्मेवारी सुम्पिसकेपछि सानो होस् या ठूलो होस्, उसले निर्वाह गर्न सक्छ कि सक्दैन भन्ने कुरा हामीले हेर्नुपर्छ । कुनै पनि व्यक्तिलाई जिम्मेवारी निर्वाह गर्न सक्छ कि सक्दैन भन्ने हिसाबले हेर्नुपर्छ होला । उमेरले निर्धारण गर्दैन ।

उसो भए सहमामन्त्रीको भूमिका निर्वाह गर्न कठिन छैन ?

बिल्कुल छैन । मैले त यसअगाडि पनि सचेतकको भूमिका निर्वाह गरेको हो । युवाले त अझ निष्पक्ष भएर काम गर्नसक्छ । प्रलोभन, दबाब र धम्कीरहित वातावरणले आफ्ना गतिविधि गर्नसक्छ । सहमहामन्त्रीको जिम्मेवारी मैले पाइरहँदा पार्टीलाई चलायमान बनाउने , व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने लगायतको काममा खट्न सक्छु भनेरै उठेको थिएँ । म आफ्नो भूमिकाप्रति पूरा जानकार छु । काम मज्जाले गर्छु । हेर्नुहोला परिणाम पनि देखाउँछु।

तपाईँहरूको पार्टीमा पनि गुट रहेछ हैन ?

हाम्रोमा गुट कहिले पनि थिएन । गुट भनेको धेरै ठाउँमा सुन्छु । तर सुरुवाती दिनदेखि म पार्टीमा लाग्दै गर्दा पनि गुट कहिले भएको महसुस गरिनँ । आजको दिनसम्म पनि गुट भएको उपगुट भएको मैले चाहिँ थाहा पाएकै छैन । त्यही भएर यो कतै भाष्य निर्माण गर्न खोजेको मात्रै हो कि भन्ने लाग्छ । हाम्रोमा त्यस्तो गुट भन्ने केही छैन ।

महामन्त्रीमा एक जना संस्थापन पक्षको नेतालाई जिताउन लागेको र अरुलाई हराउने विषयमा काम भएको कुरा त तपाईंकै नेताले बोलिरहनु भएको छ नि ?

मैले यसलाई कसरी लिएको छु भने केही साथीहरुलाई जे लाग्यो त्यो बोल्नुभयो होला । उहाँ स्वयंलाई लागेको कुरा त्यहाँ भन्नुभयो होला । तर पार्टीमा वास्तविक रुपमा कुनै गुट छैन । साथीहरुले लागेजस्तो गरी केही अभिव्यक्ति दिनुभयो होला । किन अभिव्यक्ति दिनुभयो भनेर उहाँहरुले यसबारे आफैँ बोल्नुहोला । तर जसरी गुट उपगुट यो पक्षको त्यो पक्षको भनेर भन्ने गरिन्छ नि, त्यै मैले महसुस गरेको छैन ।

आजसम्म मैले गुटका नाममा कुनै पनि हन्डर नखाएको भएर मलाई त्यस्तो लाग्दैन । केही साथीहरुले व्यक्तिगत ढंगले यो हो, हामी यसरी आएको भन्ने आशय व्यक्त गर्नुभएको होला । त्यो आशय किन व्यक्त गर्नुभयो भन्ने उहाँहरु आफैँले स्पष्टीकरण दिनुहोला । किनकि पार्टीको त पहिलो महाधिवेशन भर्खरै सम्पन्न भएको छ ।

तर यसले राम्रो सन्देश त दिएन नि हैन ?

यसलाई कसरी हेर्नुपर्यो भने पार्टीको महाधिवेशन भर्खरै भएको छ । भर्खरै पार्टी संस्थागत भएको छ । महाधिवेशन पहिलो पटक भएर पार्टी बल्ल एकजुट भएको छ । एक हिसाबले लय लिएर अगाडि बढ्न त महाधिवेशनपछि सुरुवात भएको छ ।

विभिन्न राजनीतिक धरातलमा बसेर काम गरिराख्नुभएको साथीहरू आउनुभयो होला । त्योबीचमा हामीले समायोजन गरेर धेरै साथीहरुलाई एक ठाउँमा राखेर अगाडि बढ्यौँ । त्यसैले हामी सबैजना संस्थापन पक्षको भन्नुपर्छ ।

महाधिवेशनपछिका साथीहरूलाई भर्खरै जोडिनु भएको भन्न मिल्छ । तर महाधिवेशन अगाडिका साथीहरूलाई भर्खरै जोडिएको भन्न मिल्दैन । हामी सबै संस्थापन पक्षको भयौँ । कोही दुई दिन अगाडि आउनुभएको होला, कोही तीन दिन अगाडि आउनुभएको होला, फरक यति मात्रै हो । तर पार्टीको पहिलो महाधिवेशन अगाडि जोडिनुभएका सबै साथीहरू संस्थापन पक्ष हुन् । औपचारिक रूपमा पहिलो महाधिवेशनदेखि पार्टीले फरक हिसाबले गति लिएर पार्टीका काम क्रियाकलापहरू अगाडि बढाउँछ ।

यो महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा भयो त ?

अँ, एकदम लोकतान्त्रिक प्रक्रियाबाट हामी अगाडि बढ्यौँ । लोकतान्त्रिक प्रक्रिया अगाडि बढाएर हिँडेको भएर क्लियर भयो । लोकतान्त्रिक नभएको भए त हामी पनि आवाज उठाउँथ्यौँ होला । तर क्लियर भएको हिसाबले हामी खुसी छौँ ।

हामी मात्रै होइन, हाम्रा पार्टी पंक्तिका धेरैजना साथीहरू खुसी हुनुहुन्छ । पहिलो महाधिवेशन भएकाले धेरै कुरा सिक्न बाँकी होला । तर अस्वस्थ प्रतिस्पर्धा भने भएन । सहमतिको बाटो पनि रोजिएको हो । किनभने पहिलो महाधिवेशन हो, एकताको सन्देश दिउँ भनेर त्यो विकल्प पनि खोजेको हो । तर लोकतान्त्रिक प्रक्रियालाई पनि हामीले नकारेनौँ ।

जस्तो निर्वाचितमध्ये दुई तीन जनाको शपथ भएन । टेक्निकल त्रुटिको जिम्मेवारी कसले लिने ?

निर्वाचनको केही कमी कमजोरीले गर्दा उहाँहरूको सपथ रोकिएको हो । एक दुई दिनपछि पक्कै पनि निर्वाचन आयोगले एउटा निर्णय लिन्छ । उहाँहरूको प्रक्रिया मिलाएर अगाडि पक्कै बढ्छ । पक्कै पनि पहिलो पटक महाधिवेशन गर्दैछौँ, त्रुटी भएको होला । ठूलो पार्टीको महाधिवेशन गर्दा निर्वाचन आयोगले एक दुई वटा त्रुटी गर्‍यो होला । उसले सच्याउनुपर्छ ।

अब यो सचिवालय, केन्द्रीय कमिटी र पदाधिकारी टुङ्ग्याउन सभापति के कस्तो तरिकाले अगाडि बढ्नुपर्ला ?

सभापतिज्यूले आजको दिनसम्म पार्टीका लागि जे गर्नुभएको छ, त्यसलाई नै निरन्तरता दिनुपर्छ । केही वर्ग, समूह र जाति छुटेको भए उहाँहरुलाई समायोजन गर्नुपर्छ । समायोजन प्रक्रियामा आएका अन्य साथीहरुलाई पनि उहाँले समेट्नुहुन्छ ।

पार्टीको सम्पूर्ण जिम्मेवारी हामीले पार्टी सभापतिलाई सुम्पिएका छौँ । उहाँले मनन् गरेर पार्टीलाई अगाडि बढाउने काम गर्नुहुन्छ । यसमा मैले खासै सुझाव दिनुपर्छ भन्ने मलाई लाग्दैन ।

केन्द्रीय सदस्य पार्टी पदाधिकारी र सचिवालयका जिम्मेवारी फरक हुन्छन् । हामीले फरक फरक जिम्मेवारी तोकेर काम अगाडि बढाउँछौँ भनेर बुधबार पार्टी सभापतिले पनि भन्दै हुनुहुन्थ्यो । त्यही हिसाबले फरक फरक जिम्मेवारी तोकिन्छ र आ-आफूले पाएको जिम्मेवारी अनुसार सबै साथीहरुले १०० प्रतिशत दिएर पार्टीलाई अगाडि बढाउनको लागि काम गर्नुहुन्छ ।

म फेरि पनि भन्छु जनताले हामीलाई पाँच वर्षको लागि मात्रै जिताएका होइनन्, हामीलाई पाँच वर्ष टेस्ट गरेका हौँ । फाइनल म्याच त्यसपछाडि अझ व्यापक हुन्छ ।

पहिला केन्द्रीय कमिटीमा मनोनित गर्ने र सचिवालय पदाधिकारी चुन्ने काम सभापतिले अर्को बैठकबाट गर्नुहुन्छ रे हो ?

ठ्याक्कै अर्को बैठकमै टुङ्गिएला नटुङ्गिएला, तर प्रक्रियाहरु अगाडि बढ्छन् । केन्द्रीय सदस्य मनोनित गर्ने कुरा सम्भवत पार्टी सभापतिले अगाडि बढाइसक्नुभएको छ । सचिवालय त हाम्रो विधान अनुसार धेरै पदाधिकारी स्वत सचिवालय सदस्य बन्नुहुन्छ । ती बाहेकका सचिवालय सदस्य मनोनित गर्ने विषयमा पनि उहाँले काम गर्नु नै भएको होला । छिट्टै नै सम्पन्न गर्नुहुन्छ होला लगभग एक महिनामा यो सबै भ्याइन्छ जस्तो लाग्छ ।

अब केन्द्रीय कमिटी बैठक कहिले बस्छ ?

अबको एक साता भित्रमा लगभग बैठक बस्छ भन्ने कुरा चलिरहेको महसुस गरेको छु, किनकि हामीले अत्यावश्यक पदहरु टुङ्ग्याउनुपर्ने छ सभापतिज्यूले मनन गरेर अगाडि बढिरहनुभएको छ । उहाँ गम्भीर छलफल परामर्शमा हुनुहुन्छ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ६ : ४४ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय