काठमाडौँ– नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै देखिएको छ । ‘राष्ट्रिय बाघ सर्वेक्षण, २०८२’ अनुसार चितवनको राप्ती र बर्दियाको कर्णाली नदी तटीय क्षेत्र वरपर बाघको सङ्ख्या धेरै रहेको पाइएको हो ।
बाघको सङ्ख्या नदी तटीय क्षेत्रमा धेरै र मानव गतिविधि हुने वन क्षेत्रमा तुलनात्मक कम देखिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिए ।
‘चितवनको राप्ति नदी किनार क्षेत्रमा धेरै बाघ देखिएका छन्,’ उनले भने, ‘लालझाडी क्षेत्रमा भने वन अतिक्रमण, मानिसको आवतजावतलगायत कारणले होला बाघको उपस्थिति निकै कम देखियो ।’
कृषि, वन तथा पर्यावरणले विश्व बाघ दिवसका अवसरमा गत बुधबार ‘राष्ट्रिय बाघ सर्वेक्षण, २०८२’ को नतिजा सार्वजनिक गरेको थियो । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ बाट बढेर ४२९ पुगेको छ । यस सर्वेक्षणमा विविध नयाँ र रोचक तथ्यहरु देखाएको छ ।
पछिल्लो सर्वेक्षणअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १४५, बर्दिया राष्ट्रिय निकुञ्ज ११२, पर्सा राष्ट्रिय निकुञ्जमा ७१, बाँके राष्ट्रिय निकुञ्जमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० बाघ गणना गरिएका छन् ।
यस सर्वेक्षणमा बाघको आहारा प्रजातिको समेत सर्वेक्षण गरिएको छ । उक्त अध्ययनअनुसार सबैभन्दा बढी आहारा प्रजातिमा चित्तल देखिएको छ । त्यसपछि जरायो, बाह्रसिङ्गे, बँदेल, लगुना, रतुवा मृगलगायत देखिएका छन् ।
नेपालले २००९ देखि हरेक चार वर्षमा बाघ गणना गर्दै आएको छ । सन् २०२२ को गणनाअनुसार चितवनमा १२८, त्यसपछि बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ बाघको सङ्ख्या रहेको थियो । यसअघि नेपालमा बाघको सङ्ख्या सन् २०१० मा १२१, सन् २०१४ मा १९८ र २०१८ मा २३५ रहेको थियो ।
‘पछिल्लो सर्वेक्षणमा अर्को नयाँ विषय भनेको आफ्नो क्षेत्रमा आहारा प्रजाति हुँदाहुँदै पनि बाघको चलायमान लामो दूरीसम्म भएको देखियो,’ वरिष्ठ इकोलोजिष्ट आचार्यले भने, ‘बाघको चलायमान चितवनको कसरादेखि पर्साको अमलेखगञ्जसम्म एक महिना लामो भएको देखियो । यो चलायमान भाले बाघबीच क्षेत्रको प्रतिस्पर्धा वा पोथीको खोजी हुन सक्छ ।’ बाघलाई पारिस्थितिकीय प्रणालीको छाता प्रजातिका रुपमा लिइन्छ ।
नेपालमा बाघ पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा निकुञ्ज एवं वरिपरिका वन क्षेत्रमा पाइन्छ । यस सर्वेक्षणमा अर्को देखिएको नयाँ विषय भनेको भाले बाघको सङ्ख्या औसतमा ३४ प्रतिशत र पोथी बाघको सङ्ख्या ५३ प्रतिशत देखिएको छ । बाँकी छुट्टिन नसक्ने गरी केही तस्बिर कैद भएको विभागको भनाइ छ ।
मानव–बाघ द्वन्द्वको समाधान सहअस्तित्व
जेडएसएल नेपालका राष्ट्रिय प्रतिनिधि डा. भगवानराज दाहालले यस सर्वेक्षणबाट प्राप्त नतिजाले वासस्थान संरक्षण तथा व्यवस्थापन, चोरी–सिकार नियन्त्रण, आहारा प्रजातिको संरक्षण, जैविक मार्ग संरक्षण जस्ता प्रयासहरूको सकारात्मक परिणामलाई प्रतिबिम्बित गरेको बताए ।
सर्वेक्षणबाट प्राप्त तथ्याङ्कले बाघ तथा यसको बासस्थान संरक्षणसम्बन्धी आगामी नीति, योजना तथा कार्यक्रम निर्माणका लागि महत्वपूर्ण वैज्ञानिक आधार प्रदान गर्ने उनको भनाइ छ ।
‘यो सरोकारवाला सबैको संयुक्त प्रयासको प्रतिफल हो, अब यस्तो प्रयास मानव–बाघ सहअस्तित्वका लागि लगाउनु आवश्यक छ,’ उनले भने । राष्ट्रिय प्रतिनिधि डा. दाहालले मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि समुदायको आयको वैकल्पिक व्यवस्था गर्नुपर्ने तथा बाघप्रतिको व्यवहार परिवर्तन गर्नुपर्ने सुझाव दिए । यसका साथै प्रकृतिमा बाघको धान्ने क्षमताका बारेमा नयाँ अध्ययन गर्नुपर्ने उनको भनाइ छ ।
आगामी दिनमा नेपाल सरकारले प्रदेश तथा स्थानीय तहसँगको समन्वय र स्थानीय समुदायको प्रत्यक्ष संलग्नता तथा संरक्षण साझेदार संस्थाको समेत सहयोगमा मानव बाघ सहअस्तित्व, बाघ संरक्षण तथा बाघको आनीबानी सम्बन्धी सचेतना कार्यक्रम, समस्याग्रस्त बाघको समयमा पहिचान गरी नियन्त्रण, बाघमा आधारित पर्यापर्यटन जस्ता कार्यक्रममा केन्द्रित भई शून्य मानवीय क्षतिको अवधारणामा काम गर्ने सोच रहेको निकुञ्ज विभागले जनाएको छ ।
वनमन्त्री गीता चौधरीले बाघको दिगो संरक्षणका लागि सङ्घ, प्रदेश, स्थानीय तह, समुदाय र साझेदारबीचको बहुपक्षीय प्रयास आवश्यक रहेको बताइन् ।
उनले स्थानीय समुदायको सहभागिता र स्वामित्व नै संरक्षणको आधारशिला भएको उल्लेख गर्दै संरक्षणसँगै यसको उपयोगितालाई पनि सरकारले प्राथमिकतामा राखेको जानकारी दिइन् ।
बाघ पर्यटनमार्फत रोजगारी सृजना, आयआर्जन र सामुदायिक अपनत्व अभिवृद्धि गरी स्थानीय जीविकोपार्जनलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री चौधरीले सरकारले बाघ संरक्षण कार्ययोजना कार्यान्वयन गर्दै विभिन्न साझेदार सस्थाहरुको सहयोगमा बाघको बासस्थान तथा आहारा संरक्षणका लागि निरन्तर प्रयासहरु जारी राखेको बताइन् ।
बाघ नेपाललगायत भारत, चीन, बङ्गलादेश, भूटान, कम्बोडिया, लाओस, इन्डोनेसिया, मलेसिया, म्यान्मा, रसिया, थाइल्यान्ड र भियतनाम गरी एसियाका १३ देशमा मात्र पाइन्छ ।
विश्वमा सन् २०१० मा करिब तीन हजार २०० को सङ्ख्यामा रहेको बाघको सङ्ख्या सन् २०२५ को तथ्याङ्कअनुसार बढेर पाँच हजार ३५७ पुगेको छ ।












प्रतिक्रिया