दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन « Khabarhub

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

चितवन– बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती ध्रुवे दाह्रा काटिएपछि पनि निकुञ्ज भित्रै बस्ने गरेको छ । जनधनको क्षति पुर्‍याएपछि ध्रुवेलाई नियन्त्रणमा लिएर गत असार ३१ गते चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुखिभार पोष्ट नजिक दुई वटै दाह्रा काटिएको थियो । 

सो हात्तीका शरीरमा नयाँ ‘रेडियो कलर’ जडान गरिएको थियो । निकुञ्जका संरक्षण अधिकृत प्रवीन पौडेलका अनुसार दाह्रा काटिएपछि ध्रुवे निकुञ्जभित्र नै बस्दै आएको छ । 

सो हात्ती आइतबार बिहान माडीको अमेलिया कृषि फर्म पुगेको स्थानीयवासीले जनाएका छन् । यो क्षेत्र निकुञ्जसँग जोडिएको रिउखोला आडमा पर्दछ । त्यसबाहेक बस्ती पसेर दुःख नदिएको जनाइएको छ । ध्रुवेको १०/१० मिनेटमा अनुगमन गरिएको छ । 

निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको नेपाली सेनाको ‘अप्रेसन युनिट’ले सो हात्तीको १०/१० मिनेटको सूचना लिइरहेको छ । बस्ती नजिकको निकुञ्जको भागमा पुगेको समयमा निकटका बस्तीका बासिन्दालाई सो सूचना प्रवाह गर्ने गरिएको छ । 

संरक्षण अधिकृत पौडेलले भने, ‘कुनै पनि समयमा ध्रुवे बस्ती पस्न सक्ने भएकाले तयारी अवस्थामा रहेका छौँ । हात्तीलाई डार्ट गर्ने क्रममा चढाइएको औषधिले केही समय शिथिल बनाउने भएकाले पहिलाको जस्तो अवस्थामा अहिले ध्रुवे छैन । यसको भरोसा नहुने भएकाले निकुञ्ज प्रशासन चनाखो भएको छ ।’

पच्चीस जना मानिसको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको गतिविधिमा पनि कमी आएको हो ।  चौथो पटक ध्रुवेको दाह्रा काट्ने र रेडियो कलर जडान गर्ने काम गरिएको हो । 

हात्ती बस्ती पसेको सूचना आएमा तुरुन्तै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय, स्थानीय टोल लगायतलाई सूचना दिने र सँगै निकुञ्ज सुरक्षा निकायको गस्ती स्थलगत पुगेर निकुञ्जतर्फ धपाउने गरी तयारी गरिएको उनले बताए । हात्तीले गत असार २० गते राति एकैपरिवारका दुई जनाको ज्यान लिएको थियो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार पुनः यो किसिमको घटना हुन नदिन उच्च सतर्कता अपनाइएको छ । यो हात्तीलाई बथानबाट लखेटिएका कारण बस्ती आएको अनुमान गरिएको उनले बताए । पहिले बथानमा रहँदा हिँड्ने माडीको धोवा, तमोरताल, खोरियामुहान र देउराली क्षेत्रमा अहिले पनि हात्ती जाने गरेको छ । 

हात्तीले विसं २०७४ मा सेनानी लाई आक्रमण गरेर मारेको थियो । निकुञ्जमा सबैभन्दा बढी मान्छे मार्ने हात्तीका रुपमा परिचित ध्रुवेले विसं २०६८/६९ ताका दैनिक जसो मान्छेको ज्यान लिन थालेपछि विसं २०६९ को पुस १ गते चितवनका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले हात्ती मार्न आदेश दिएको थियो । 

तर, यो हात्ती सेनाको गोलीबाट बच्दै आएको छ । ध्रुवे हात्ती २०६९ सालको कात्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै चार जनाको लगातार ज्यान लिएपछि मार्ने निर्णय गरिएको थियो । 

निकुञ्जमा रोनाल्डो, गोविन्दे, ध्रुवे लगायतका मत्ता छन् । प्रमुख संरक्षण अधिकृत पुनका अनुसार निकुञ्जभित्र ४५ देखि ५० हात्ती छन् । यिनै हात्तीमध्येबाट निकुञ्ज भित्रका हात्तीलाई प्रजनन गराइन्छ । 

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  १२ : ३९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार