काठमाडौं– आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको मानवीय र भौतिक क्षति, अर्थतन्त्रमा पर्ने प्रभाव र पुनव्यवस्थापनका विषय समेटेर तत्काल श्वेतपत्र जारी गर्न सरकारलाई सुझाव दिएका छन् ।
बिहीबार सरकारलाई सार्वजनिक सुझाव दिने क्रममा साहले श्वेतपत्र (ह्वाइट पेपर) जारी गरेर नागरिकलाई आश्वस्त पार्न आग्रह गरेका हुन् ।
साहले यस विपद्मा परी ज्यान गुमाका सम्पूर्ण नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनमा गहिरो समवेदना र हालसम्म बेपत्ता रहेका नागरिकहरूको सकुशल उद्धारको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको प्रार्थना गरेका छन् ।
घरबारविहीन र रोजगारीविहीन हुन पुगेका प्रभावितहरूको रोजगारीको सुनिश्चितता तथा शीघ्र पुनर्स्थापनाको अपेक्षासहित सरकारसमक्ष साहले विभिन्न १३ बुँदे सार्वजनिक सुझावहरू राखेका छन् ।
भोटेकोशीमा आएको विनाशकारी बाढीको वास्तविक कारणबारे विभिन्न अड्कलबाजी र अनुमानहरू सार्वजनिक भई जनमानसमा भ्रम सिर्जना भएको उल्लेख गर्दै उनले सरकारले यसको सत्य–तथ्य वैज्ञानिक कारण पत्ता लगाई यथाशीघ्र सार्वजनिक गर्नुपर्ने सुझाव राखेका छन् ।
साथै, यस्ता उच्च जोखिमयुक्त क्षेत्रहरू पहिचान गरी तत्काल पूर्वसूचना, सतर्कता र सुरक्षाका लागि ठोस योजना पनि सार्वजनिक गरिनुपर्ने उनको सुझाव छ ।
रसुवाको टिमुरेमा गत वर्ष पनि बाढीले ठूलो वितण्डा मच्चाउँदा सयौँ सवारी साधन र संरचनाहरू ध्वस्त भएको घटना स्मरण गराउँदै उनले सरकारले त्यसलाई गम्भीरतापूर्वक नलिएका कारण यसपटक पनि सोही क्षेत्रमा ठूलो जनधनको क्षति हुन पुगेको उल्लेख गरेका छन् ।
अब सरकारले यस्ता जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी सुरक्षाको उचित व्यवस्थासहित जोखिममुक्त क्षेत्रमा मात्र निर्माण र सञ्चालन गर्न पाउने ठोस नीति सार्वजनिक गर्नुपर्ने मत राखेका छन् ।
सरकारले उद्धार र राहतमा गम्भीरता नदेखाएको जनगुनासो रहेको भन्दै सबै दल, नागरिक र संघसंस्था र अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिएर काम गर्न पनि उनले सुझाव दिएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि खोज, उद्धार र राहतको लागि समन्वयनकारी भूमिका नखेलेको र सामाजिक सञ्जालमार्फत दैनिक गतिविधिको अपडेटमात्रै गराउँदा पीडित परिवार निराश बनेको पनि उनको टिप्पणी छ ।
बेपत्ता भएका नागरिकका परिवारजनले सास नभए पनि लास देउ भनेर आज एक सातासम्म पनि चिच्याउनुपर्ने विडम्बना आउनुले राज्य नभएको र असफलता भएको पूर्वसंकेत भएको उल्लेख गर्दै साहले प्रधानमन्त्री शाहलाई पीडित परिवारको साथमा उभिन र फिल्डमै पुगेर आश्वस्त पार्न सुझाव समेत दिएका छन् ।
उनले भने,’प्रधानमन्त्रीले यस्तो बेलामा पीडितहरूको संवेदनशीलता बुझ्नुपर्छ । गम्भीरता देखाउनुपर्छ ।’
संसद्मा आएर एकोहोरो लिखित मन्तव्य वाचन गरेर कसैसँग नबोली हिँड्ने र यस्तो विपत्तिको घडीमा अन्य दलहरूसँग पनि समन्वय नगर्दा नराम्रो सन्देश प्रवाह भएको साहले स्मरण गराएका छन् ।











प्रतिक्रिया