किभ– युक्रेनको जापोरिज्जिया क्षेत्रमा मानवीय सहायता वितरण भइरहेको विद्यालयलाई लक्षित गरी रुसले गरेको हवाई आक्रमणमा २६ जनाको मृत्यु भएको छ ।
युद्धविराम समाप्त भएको केही घण्टामै भएको उक्त आक्रमणले रुस–युक्रेन युद्ध अन्त्यका लागि भइरहेको शान्ति प्रयासमा थप चुनौती थपेको छ ।
रुसी नियन्त्रणमा रहेको ओलेस्की सहरमा मानवीय सहायता पुर्याउने उद्देश्यले गत मङ्गलबारदेखि लागू भएको युद्धविराम आइतबार समाप्त भएको थियो । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता दुई देशबीच भएको यो सबैभन्दा लामो युद्धविराम थियो ।
युक्रेनी अधिकारीहरूका अनुसार युद्धविराम समाप्त भएलगत्तै जापोरिज्जिया क्षेत्रको एउटा गाउँमा रुसी सेनाले पटकपटक हवाई आक्रमण गरेको थियो । आक्रमणका बेला स्थानीय विद्यालयमा मानवीय सहायता लिन सर्वसाधारण भेला भएका थिए ।
कार्यवाहक क्षेत्रीय गभर्नर मिखाइलो सेमिकिनका अनुसार मृत्यु हुनेमा दुई उद्धारकर्मी र चार प्रहरी अधिकारीसमेत छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सहायता लिन पुगेका मानिसलाई लक्षित गरी पहिलो आक्रमण गरेपछि उनीहरू आश्रय लिइरहेको स्थानमा पुनः बमबारी गरिएको बताएका छन् ।
मृत्यु हुने उद्धारकर्मीमा ४४ वर्षीय डेनिस कोनोभालेन्को र ओलेक्सी सुशेभस्की रहेको आपतकालीन सेवाले जनाएको छ ।
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा सञ्चालन भएको ओलेस्कीको मानवीय सहायता अभियानमा रुस र युक्रेनका मानव अधिकार अधिकारीहरूले सहकार्य गरेका थिए । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अभियान सफल भएको बताए पनि तत्काल अर्को अभियान सञ्चालन गर्ने योजना नरहेको स्पष्ट पारेका छन् ।
युक्रेनले युद्धविरामको अवधिमा रुसले आफ्नो सैन्य उपस्थिति र क्षमता बलियो बनाएको आरोप लगाएको छ । युद्धविरामको अवधि थप्न युक्रेनले गरेको प्रस्ताव रुसले अस्वीकार गरेको थियो । यद्यपि, पेस्कोभले युद्धविरामको समय सैन्य पुनःसमूहबद्धीकरणमा प्रयोग गर्नु सामान्य अभ्यास भएको बताउनुभएको छ ।
यसैबीच, अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार रुस र युक्रेनबीच अमेरिकी नेतृत्वमा भइरहेको वार्ता आगामी नोभेम्बर १० र ११ मा संयुक्त अरब इमिरेट्सको अबुधाबीमा पुनः सुरु हुनेछ । युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दबाब दिँदै आए पनि वार्ताबाट ठोस उपलब्धि हासिल हुन सकेको छैन । ट्रम्प रुसको पक्षमा झुक्न थालेको भन्दै युक्रेन र उसका युरोपेली सहयोगीहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।
युद्धविराम समाप्त भएको केही घण्टापछि रुस र युक्रेनका आपतकालीन सूचना प्रवाह गर्ने मोबाइल एपहरूमा साइबर आक्रमण भएको दुवै देशले जनाएका छन् । युक्रेनले लाखौँ मानिसलाई विकिरणको जोखिमसम्बन्धी गलत सूचना पठाइएपछि आफ्नो हवाई आक्रमण चेतावनी प्रणालीमा अनधिकृत पहुँच भएको आशङ्का गरेको छ । रुसले पनि आफ्नो आपतकालीन अवस्था मन्त्रालयसँग सम्बन्धित एप ह्याक भएको जनाएको छ ।
यस वर्ष रुसले युक्रेनमाथिको आक्रमण थप तीव्र बनाउँदै ब्यालिस्टिक क्षेप्यास्त्र र तीव्र गतिका जेट इन्जिनयुक्त ड्रोनको प्रयोग बढाएको छ । यस्ता हतियारलाई रोक्न कठिन हुने युक्रेनी अधिकारीहरूले बताएका छन् ।














प्रतिक्रिया