काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सङ्घीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न विपक्षी दलहरूले गरेको माग सभामुख डीपी अर्यालसमक्ष पुर्याएका छन् ।
सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा पुगेर आङदेम्बेले विपक्षी दलहरूको बैठकले गरेको निर्णयबारे जानकारी गराएका हुन् ।
सोमबार बसेको कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालका नेताहरूको बैठकले संसद्को अधिवेशन तत्काल बोलाउन माग गर्ने निर्णय गरेको थियो ।
सञ्चारगृहमा प्रहरीको धरपकड र पक्राउ तथा सर्वोच्च अदालतमा बिचौलियाको संलग्नतासम्बन्धी विषयमा संसदीय छानबिन आवश्यक रहेको विपक्षी दलहरूको निष्कर्ष छ । ती विषयमा संसद्मा छलफल र छानबिनको प्रक्रिया अघि बढाउन अधिवेशन आह्वान गर्नुपर्ने उनीहरूको माग छ ।
विपक्षी दलहरूले संसद् अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाइरहेका बेला आङदेम्बेले सभामुखलाई भेटेर सामूहिक निर्णयबारे जानकारी गराएका हुन् ।














प्रतिक्रिया