कोप-३१ का मुख्य एजेन्डा र नेपालको अडान « Khabarhub

कोप-३१ का मुख्य एजेन्डा र नेपालको अडान


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

टर्कीको अन्टाल्याामा संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी महासन्धिमा सम्बद्ध राष्ट्रहरूको कन्फ्रेन्स-अफ-पार्टीको ३१ औँ सम्मेलन हुँदैछ । त्यसको नेगोसिएसनको कन्टेक्स्ट के हो ? त्यसका एजेन्डाहरु, अहिले उठाइने विषयहरु के के हुन् र हाम्रो नेपालको स्ट्राटेजिक प्रायोरिटी के हो भन्ने विषयमा मैले संक्षिप्त कुरा राख्ने अनुमति चाहन्छु ।

अब पहिलो विषय चाहिँ नि के हो भने यो महासन्धि १९९२ मा स्थापित भयो र १९९५ देखि प्रत्येक वर्ष यसका १९७ सम्बद्ध राष्ट्रहरुले वर्षैपिच्छे सम्मेलन गर्दै आएका छन् । अहिले अमेरिका यसबाट निस्केपछि यसमा सम्बद्ध राष्ट्रहरुको सङ्ख्या १९६ छ । वर्षैपिच्छे सम्मेलन हुने भएकाले यसलाई ‘एन्युअल मल्टिल्याटरल फोरम’ पनि भनिन्छ । यसले जलवायु परिवर्तनसम्बन्धी एजेन्डाहरुमा छलफल गर्ने, नेगोसिएसन गर्ने र खासगरी पेरिस एग्रिमेन्टको क्लाइमेट टार्गेटलाई कलेक्टिभ रेस्पोन्सको आधारमा कसरी इम्प्लिमेन्टेसन गर्ने भन्ने विषय लगायतमा छलफल गर्छ ।

अर्को बुझ्नै पर्ने कुरा के हो भने जलवायु परिवर्तनको कारण ग्लोबल वार्मिङ हो, त्यसको कारण ग्रीन हाउस ग्यास इमिसन हो र यसका कारण १८५० को तुलनामा तापक्रम अहिले १.११ देखि १.१३ डिग्रीसम्म बढिसकेको विभिन्न रिपोर्टहरुले भनेको छ । त्यसलाई १.५ डिग्री सेन्टिग्रेडभन्दा तल राख्ने अथवा २ डिग्री भन्दा त बढ्नै नदिने भन्ने २०१५ मा पेरिसमा भएको कोप २१ मा सहमति भएको हो । त्यसलाई कार्यान्वयन गर्ने विषय महत्वपूर्ण हो र त्यसलाई हामीले क्लाइमेट एम्बिसन अथवा क्लाइमेट टार्गेट भन्ने गरेका छौँ ।

अर्को विषय चाहिँ जलवायु परिवर्तन भइससक्यो, त्यसको प्रभाव देखिसक्यो । त्यसो हुनाले अब एडप्टेसन र रेजिलिएन्स कसरी गर्ने भन्ने दोस्रो विषयमा ब्रडरली छलफल हुन्छ । त्यस्तै, सन् २०५० सम्म १.५ डिग्रीमा पुग्नका लागि नेट जिरो इमिसनमा नगई हुँदैन भन्ने जुन लक्ष्य छ, त्यसलाई कार्यान्वयन गर्ने विषय क्लाइमेट एम्बिसन हो । त्यसैको आधारमा एजेन्डा सेट हुन्छन् र यसैबारे छलफल हुन्छ । यदि युनाइटेड नेसन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज र यस्तै कन्फरेन्सेस र नेगोसिएसन नभइदिएको भए जलवायु परिवर्तनको कारणले ले २१ औ शताब्दीसम्म पुग्दा तापक्रम वृद्धि ४ डिग्रीसम्म पुग्थ्यो । तर, अहिले हामीले त्यसलाई केही न केही रुपमा कार्यान्वयन गर्दै आएको हुनाले अहिलेकै अवस्थालाई निरन्तरता दिने हो भने २१औ शताब्दी सम्म २.६ डिग्री सेल्सियसमा पुग्छ भन्ने कुरा छ ।

यो सकारात्मक कुरा त हो, तर अहिलेका पोलिसिजहरु कार्यान्वयनको अवस्था रहेकले यो १.५ डिग्रीमा रहन अथवा २ डिग्री भन्दा तल रहन कठिन देखिएको छ । र, थप काम गर्नुपर्ने छ । कोप-३१ को नेतृत्व चाहिँ टर्कीले लिएको छ, त्यहाँका वातावरणमन्त्री मुरात कुरुमले लिनुभएको छ । यसमा अस्ट्रेलियाले चाहिँ नेगोसिएसनको नेतृत्व लिएको छ । त्यहाँका मन्त्री हुनुहुन्छ, क्रिस ब्राउनले यसको नेतृत्व गरिरहनु भएको छ ।

इमिसन रिडक्सन मुख्य एजेन्डा हो र यसको ग्याप कसरी क्लोज गर्ने भन्ने मुख्य छलफलको विषय हो । ग्लोबल इमिसन भयावह ढङ्गले बढिरहेको छ र रिपोर्ट अनुसार ५८.४ गिगाटन कार्बनडाइअक्साइड इमिसन भएको छ । क्लाइमेट एम्बिसन कायम गर्न २०२५ को बेसमा १८ प्रतिशतले, २०३५ सम्म ४५ प्रतिशतले र २०४० सम्म ६९ प्रतिशतले ग्रीन हाउस ग्यास इमिसन घटाए मात्र २०५० मा नेट जिरो इमिसनमा पुग्न सकिन्छ ।

तर करेन्ट नेसनल्ली डिटर्माइन कन्ट्रिब्युसन अनुसार सन् २०३० सम्म ५ देखि ८ प्रतिशतले, २०३५ सम्म ११ देखि १५ प्रतिशतले र २०४० सम्म २० प्रतिशतले मात्रै घट्ने देखिन्छ । यदि हालका एनडीसीहरू मात्रै सही रूपमा इम्प्लिमेन्ट भए पनि तापक्रम २.८ डिग्री सेन्टिग्रेडसम्म पुग्ने देखिन्छ । त्यसैले नेगोसिएसनको सबैभन्दा ठूलो विषय एनडीसीलाई कसरी एम्बिसियस र कार्यान्वयन गर्ने भन्ने हो ।

दोस्रो एजेन्डा क्लाइमेट फाइनान्स हो । नेसनल्ली डिटर्माइन कन्ट्रिब्युसन, नेसनल एडप्टेसन प्लान र लस एन्ड ड्यामेजको अवस्था हेर्दा सन् २०३० सम्म प्रतिवर्ष ७.५ ट्रिलियन युएस डलर र २०२१ देखि २०५० सम्म नेट जिरो पुग्नका लागि ८.८ ट्रिलियन प्रतिवर्ष चाहिन्छ । तर हाल फन्डिङ फ्लोको ट्रेन्ड प्रतिवर्ष १.४६ ट्रिलियन मात्र छ, जसले गर्दा फन्डिङ ग्याप धेरै ठूलो छ ।

नेपालको सन्दर्भमा कुरा गर्दा, नेपालको नेसनल एडप्टेसन प्लान २०२१ देखि २०५० सम्म कार्यान्वयन गर्न ७.४ बिलियन युएस डलर चाहिन्छ, जसमा ३ प्रतिशत सरकारले र ७ प्रतिशत एक्सटर्नल सोर्सबाट जुटाउने भनिएको छ । त्यस्तै, एनडीसीको दोस्रो संस्करणका लागि १० वर्षमा ४.४ बिलियन युएस डलर चाहिन्छ । यी सबै विश्लेषण गर्दा नेपाललाई प्रतिवर्ष .९५ बिलियन युएस डलर क्लाइमेट फाइनान्स चाहिन्छ, जुन कुल गार्हस्थ उत्पादनको करिब २ प्रतिशत हुन आउँछ । नेपालमा ५ देखि ९२ प्रतिशतसम्म फन्डिङ ग्याप रहेको रिपोर्टहरूले देखाएका छन् ।

युएनएफ ट्रिपल सीको क्लाइमेट फाइनान्सको इन्स्ट्रुमेन्ट न्यु कलेक्टिभ क्वान्टिफाइड गोल अनुसार लिस्ट डेभलप र डेभलपिङ देशहरूलाई प्रतिवर्ष १.३ ट्रिलियन चाहिए तापनि ३०० बिलियन प्रतिवर्षको मात्र कमिटमेन्ट भएको छ, जुन १ प्रतिशतभन्दा पनि कम हो र त्यो पनि पूर्ण रूपमा डेलिभरी भएको छैन । जियोपोलिटिकल कन्टेक्स्ट र अमेरिका बाहिरिएका कारण उत्पन्न अवस्थालाई ध्यानमा राख्दै क्लाइमेट फाइनान्स कोप-३१ को मुख्य एजेन्डा हो ।

अर्को एजेन्डा एडप्टेसन हो । विश्वका १७२ देशले नेसनल एडप्टेसन प्लान बनाएका छन् । युएनएफ ट्रिपल सीको रिपोर्ट अनुसार एडप्टेसनका लागि प्रतिवर्ष ३१० देखि ३६५ बिलियन डलर चाहिन्छ तर फ्लो भने २६ बिलियन प्रतिवर्ष मात्र छ । नेपालमा नेसनल र लोकल एडप्टेसन प्लानहरू छन् र मधेस प्रदेश लगायतका स्थानमा जलवायु परिवर्तन रणनीतिक कार्ययोजना निर्माण गरिएका छन् । संसारभर १ प्रतिशत फन्डिङ ग्याप हुनुको अर्थ राष्ट्रिय सरकारहरूले जलवायु परिवर्तनलाई पूर्ण रूपमा आन्तरिकीकरण गर्न सकेका छैनन् भन्ने बुझिन्छ । त्यसैले क्लाइमेट फाइनान्सिङ प्रणाली सुधार गर्नुपर्छ र प्राइभेट सेक्टरलाई अनबोर्ड गर्नुपर्छ ।

लस एन्ड ड्यामेज जलवायु परिवर्तनको मिटिगेसन र एडप्टेसनभन्दा फरक विषय हो, जुन क्लाइमेट चेन्जको अनभोइडेबल इम्प्याक्ट हो (जस्तै भोटेकोशी वा लाङटाङ क्षेत्रमा भएको हिममण्डल कोल्याप्स) । इजिप्टको कोप-२७ कन्फ्रेन्सबाट स्थापित यो मेकानिजमअन्तर्गत ‘फन्ड फर रेस्पोन्डिङ टू लस एन्ड ड्यामेज’ मार्फत काम भइरहेको छ । मार्च २०२६ सम्मको तथ्याङ्क अनुसार ७१८ मिलियन युएस डलर प्लेड भएको छ ।

नेपालको रसुवा-भोटेकोसीको क्याटास्ट्रोफीको इमिडिएट रेस्पोन्सका लागि २१.६ मिलियन युएस डलर प्रदान गरिएको छ, जसमध्ये २० मिलियन देशको लागि र बाँकी प्रशासनिक खर्चका लागि हो । नेपालले लस एन्ड ड्यामेजबाट प्राप्त हुने फन्डलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेसनल गभर्मेन्टको पिडिएलाई आधार मानेर प्रक्रियाहरू सहज बनाउनुपर्छ ।

कोप-३१ मा टर्कीले होस्ट गर्नेछ भने अस्ट्रेलियाले नेगोसिएसनको नेतृत्व गर्नेछ । ११ र १२ तारिखमा हुने वर्ल्ड लिडर समिट अत्यन्तै महत्त्वपूर्ण हुन्छ, जसमा सम्माननीय प्रधानमन्त्री वा राष्ट्रपतिस्तरबाट नेपालको आवाज बुलन्द रूपमा उठाउनुपर्छ । चिफ नेगोसिएटरको रूपमा मन्त्री र सचिवहरू रहनेछन् । जलवायु परिवर्तन आर्थिक, सामाजिक र राजनैतिक संकट भएकाले यसलाई समग्रतामा हेर्नुपर्छ । नेगोसिएसनमा युरोपियन युनियन, एलाइन्स फर स्मल आइल्याण्ड स्टेट्स, अफ्रिकन ग्रुप अफ नेगोसिएटर्स, लिस्ट डेभलप कन्ट्रीज, ओपेक देशहरू र माउन्टेन एलाइन्सजस्ता ब्लकहरूसँग सहकार्य गर्नुपर्छ ।

नेगोसिएसनका फोकस एरियाहरूमा फसिल फ्युएल ट्रान्जिसन, क्लाइमेट फाइनान्स, ग्लोबल स्टक टेक, एनडीसीको एड्भान्समेन्ट, र माउन्टेन एजेन्डा हुन् । हिमाल र समुद्रको अन्तरसम्बन्धलाई कायम राख्दै ‘सगरमाथा टु सी’ स्ट्राटेजीलाई अगाडि बढाउनुपर्छ र माउन्टेन एन्ड क्लाइमेट चेन्जसम्बन्धी एनुअल डाइलगलाई स्थायी युएन एजेन्डा बनाउनुपर्छ ।

नेपालको कोर स्ट्राटेजिक प्रायोरिटी र क्लाइमेट जस्टिसका लागि मुख्य विषयहरूमा माउन्टेन एजेन्डालाई स्थायी एजेन्डाको रूपमा स्थापित गर्नु, १.५ डिग्रीको लक्ष्यलाई प्रभावकारी बनाउँदै माउन्टेन रेजिलिएन्स बिना ग्लोबल क्लाइमेट रेजिलिएन्स असम्भव छ भन्ने पक्षमा जोड दिनु, तथा ‘सगरमाथा टु सी’ विषयलाई जोडदार रूपमा उठाउनु रहेका छन् ।

साथै ऋणमा आधारित नभई ग्रान्ड-बेस्ड क्लाइमेट फाइनान्सलाई डकुमेन्टमै पार्ने गरी काम गर्ने, व्यापक लस एन्ड ड्यामेज रिकभरी गर्ने र क्लाइमेट डिप्लोमेसीको क्षमता अभिवृद्धि गर्ने प्राथमिकता नेपालले राख्नुपर्छ । नेपालले देश भित्रै क्लाइमेट डिप्लोमेसीको मेकानिजम र नेगोसिएसन क्षमता बढाउँदै माउन्टेन एजेन्डालाई टप मोस्ट प्रायोरिटीमा राखेर अगाडि बढ्नुपर्छ ।

नेपालले आफ्नो क्लाइमेट डिप्लोमेसीको क्षमतालाई बढाउदै जानुपर्छ । किनभने यो पर्मानेन्ट इस्यु हो । आजको भोलि नै यो सबै चिज टुंगिने वाला छैन । त्यसकारण माउन्टेन एजेन्डालाई टप मोस्ट इम्पोर्टन्स दिनुपर्छ भन्ने हाम्रो विषय हो । क्लाइमेट फाइनान्स सबभन्दा ठुलो विषय हो त्यसमा जानुपर्छ । त्यो ग्रान्ट बेस्ड नै हुनुपर्छ मल्टिल्याटरल बाइल्याटरल जे जे भए पनि ऋणमा चाहिँ क्लाइमेट फाइनान्स हुनु हुँदैन ।

(राजधानीको दरबारमार्गमा इन्स्टिच्युट अफ स्टाटेजिक स्टडिज एण्ड सोसियो इकोनोमिक रिसर्च आईएसएसआर र खबरहबले सोमबार ‘जलावायु पीडितदेखि जलवायु नेतृत्वसम्म’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव एवम् वातावरणविद् डा. पेम कँडेलको प्रस्तुतिको सम्पादित अंश)

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ४ : ३६ बजे

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा अहिले

दक्षिण कोरियाली राष्ट्रपतिसहित १६० अधिकारीको पासपोर्ट विवरण चुहावट

सियोल– दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसहित १६० भन्दा बढी

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा अहिले

वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि

लुम्बिनीको संरचनागत विकासका लागि कोषको सदस्य सचिवमा सन्तोष पाण्डे 

काठमाडौँ – नेपाल सरकारले युवा इन्जिनियर सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको