पञ्चतत्त्वकाे पालाम : अक्षरभित्र ब्रह्माण्डको ऐना  « Khabarhub

पुस्तक समीक्षा

पञ्चतत्त्वकाे पालाम : अक्षरभित्र ब्रह्माण्डको ऐना 



मनप्रसाद सुब्बा भारतीय–नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक चिन्तक हुन् । उनको जन्म ३ सेप्टेम्बर १९५२) मा भारतको दार्जिलिङमा भएको थियो । औपचारिक अध्ययनका क्रममा सुब्बाले अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेर प्रारम्भिक विद्यालयमा शिक्षक र केही समय कलेज तहमा अध्यापन गरेका थिए । लेखन यात्राको कुरागर्दा सन् १९७० देखि नै नेपाली कविता र साहित्यमा सक्रिय रहेका सुब्बाले सबाल्टर्न साहित्य रचना गरेको पाइन्छ । उनलाई नेपाली साहित्यमा ‘किनारीकृत लेखन अभियान’ का प्रणेता पनि मानिन्छ ।

साहित्यका कविता, उपन्यास, आख्यान र निबन्ध विधामा रचना गर्ने सुब्बाको सबैमध्ये एक गहिरो र समृद्ध साहित्यिक छाप कवितामा नै रहेको  पाइन्छ । उनले विविध विधाबाट लेखन गर्नुका साथै सामाजिक—सांस्कृतिक समस्याहरू, पहिचान, समाजका किनाराका आवाजहरू, प्रकृति, र समसामयिक विषयवस्तुलाई आफ्नो रचनाहरूमा समावेश गरेका छन् ।

नेपाली साहित्यमा नवीनता र प्रयोगवादको विषयलाई साहित्य रचना गर्ने सुब्बाले ‘किनारीकृत लेखन अभियान’ मार्फत दमित र निहत्था सामान्य वर्गका आवाजलाई उठाएका छन् । उनले प्रकृति र मानिसको परिपूरक सम्बन्धलाई नयाँ विचारबाट प्रस्तुत गर्दै परम्परागत नेपाली कविताको सीमाबाट बाहिरिँदै नयाँ भाषिक र शैलीगत प्रयोग गरेका छन् ।

प्रकृति र पर्यावरणका बारेमा गहन विचारलाई सूक्ष्म तहबाट रचना गरिएको ‘पञ्चतत्त्वकाे पालाम’ (२०८१) उनको निकै लोकप्रिय कवितासङ्ग्रह हो । ‘पञ्चतत्व’ अर्थात् यो मानव संसार ब्रह्माण्ड रचनाको आधार तत्त्व हो । यसैभित्र आम सजीव तथा निर्जीव वस्तुहरूको अस्तित्व रहेको छ । ‘पञ्चतत्त्व’ शब्द संस्कृतको पञ्च (पाँच) र तत्त्व अर्थात् सारवस्तु वा कुनै पनि वस्तुलाई अस्तित्व प्रदान गर्ने भौतिक वा अभौतिक मूल कारणको रसायनबाट बनेको शब्द हो । पञ्च र तत्त्वको समीकरणबाट पञ्चतत्त्वकाे निर्माण भएको छ जसलाई पञ्चमहाभूत पनि भनिन्छ ।

पूर्वीय षड्दर्शनले पनि पञ्चतत्त्वलाई सृष्टिको मूलाधार र मुख्य संख्याको रूपमा साङ्ख्य दर्शनले प्रमाण दिएको छ भने अन्य वैदिक दर्शन, विज्ञान, योग, आयुर्वेद,  वास्तुशास्त्र र तन्त्रले मूल तत्त्वको रूपमा चित्रण गरेको पाइन्छ । पञ्चतत्त्वलाई सजिलो गरी बुझ्नलाई ‘पृथ्वी, जल, तेज, वायु, आकाश’ भनिन्छ । यी पञ्चमहाभूतको रूपमा भौतिक विज्ञानले पनि प्रस्तुत गरेको छ । ब्रह्माण्डका हरेक वस्तुको अस्तित्वका लागि पृथ्वीलाई हामीले माटो र ढुङ्गा भनेर मान्दछाैँ । यसको गुण स्थिरता, गहनता, कठोरतासँग जोडिन्छ । 

कुनै पनि वस्तु सड्नु, गल्नु, कुहिनु, गन्ध आउनु पृथ्वीकै गुण हो । मान्छेको शरीरमा पृथ्वीको अंशका रूपमा हड्डी, मांसपेशी, नङ, छाला, कपाल आदि रहेको पाइन्छ । अर्को तत्त्व जल अर्थात् पानी हो । जल तत्वले तरल गुणको बोध गराउँछ । पानी जीवनको एक हिस्सा हो । यसको पहिचान तरलता, शुद्धता, सञ्चारका रूपमा गर्न सकिन्छ । मान्छेको शरीरमा रगत, आँसु थुक, पसिना, मूत्र आदिका रूपमा जलतत्व रहेको देखिन्छ । पञ्चतत्त्वलाई शरीर र सृष्टि दुवैलाई हेर्न सकिन्छ र जन्म र मृत्यु प्रक्रियामा यही कुरा जोडिन्छ । र यसैमा गएर मिल्दछ भन्ने दर्शन प्रस्तुत भएको पाइन्छ ।

पालमको अर्थबोध गर्दा यो लिम्बू समुदायको प्राचीन लोकभाका, संस्कृति, मायाप्रेमको अनुशासित अभिव्यक्तिको माध्यम हो । यो विशेषतः लिखित र मुद्रितभन्दा पनि मौखिक र मौलिक परम्परा हो । ‘पालाम’ पूर्वी नेपालको लिम्बू जातिको मौलिक लोकगीत वा लोकगायन परम्परा हो । पालाम केवल गीत मात्रै होइन, यो संवाद हो, प्रेम हो, लिम्बू समुदायको पहिचान हो, संस्कृति हो, इतिहास हो ।

एउटा परम्परागत निश्चित लयमा दुई पक्ष भएर विभिन्न विषयमा, जस्तै पारिवारिक, प्रेम, दर्शन, जीवन, अध्यात्मिक, पीडा अथवा शोकको अभिव्यक्ति, आदिको संवादतात्मक गायन हो । पालाम गाउने छुट्टै तौरतरिका वा प्रचलन छ । पालम गाउने सिलसिलामा केटाकेटी  उभिएर एक अर्काको हात समातेर वरिपरि घुम्दै पनि गाइन्छ, बसेर अलगअलग दुई पक्ष भएर पनि गाइन्छ । च्याब्रुङ, मादल आदि वाद्यवादनसँग पनि गाइन्छ र बिना वाद्यवादन पनि गाइन्छ पालम ।

सृष्टिको पाँचतत्व र यसको प्रक्रियागत शैली वा परम्पराको अर्थबोधमा प्रस्तुत भएको यस शीर्षकले पञ्चतत्त्वको सही प्रकारले प्रयोग गर्दै  मानव जीवनको चिरस्थायीपनलाई जोड्न खोजिएको छ । जसरी कुनैपनि वस्तु प्रयोगको निश्चित पद्धति तौरतरिका हुन्छ त्यस्तै प्रकृतिका सवै वस्तुलाई ठिक ठिक तरिकाले यसको अस्तित्ब बचाउँदै यो वातावरण, पर्यावरणलाई उपयोग गर्नु भन्ने वैचारिकता यस कवितासङ्ग्रहमा प्रस्तुत भएको छ ।

यस सङ्ग्रहमा पाँच तत्व र उपसंहार गरी छ भागमा विभाजन गरिएको छ । कवि मनप्रसाद सुब्बाले ‘पञ्चतत्त्वको पालाम’ कवितासङ्ग्रहमा आकाशलाई पहिलो नम्बरमा राखेका छन् । दोस्रोमा हावालाई, तेस्रोमा तेजलाई चौथोमा पानीलाई र पाँचौँमा पृथ्वीलाई राखेका छन् ।

संसारको रचना र मानव सृष्टिको मूल आधार तत्त्व पञ्चतत्व नै हो भन्दै पहिलो तत्त्व एकमा आकाशसम्बन्धी नौ शीर्षकका तानमा बुनेको आकाश, मेरो आकाश, सहरमा आकाश, ओ आकाश, आकाश–१, आकाश–२, आकाश–३, आकाशको नीलो आख्यान र चेतनाको आकाश अन्तरिक्ष समेटिएको छ । आकाश अर्थात् शून्यलाई  पञ्चतत्त्वको मुख्य अंश मान्दै कवि सुब्बाले तानमा बुनेको आकाश शीर्षकबाट कविता यसरी प्रारम्भ गरेका छन्ः

समयको यौटा प्राचीन कुइनेटोमा 
मेरा जिजुबाजेका जिजुबाजेले 
आफ्नो ज्यानको २०६ वटै हड्डी जोडजाड पारी 
यौटा अनौठो तान बनाए 
र उपहार दिए मेरी जिजूबोजुकी जिजूबोजुलाई 
त्यही तानमा ती प्राचीन जिजूबोजुले 
बुनिन् नीलो आकाश 
संवेदनाका अनन्त रेसाहरू निकालेर…

मुटुको ढुकढुकीको लयमा तान चलाएर बुनेको 
त्यो मिहिन नीलो आकाशलाई 
उचालेर ती पुर्खाहरूले माथि टाँगिदिए 
घरको छानामाथि डाँडामाथि हिमालमाथि 
अनि अघिको त्यो अँध्यारो शून्य भ्वाङ 
नीलो आकाशले भरिएर सुहायो 
पहाडपर्वत सुहायो 
तराई–फाँट सुहायो 
सुहायो, सुहायो, सबथोक सुहायो 
अनि त बस् 
उनीहरूकै चकमक र झुलोले 
झिलिक्क पारेका सपनाहरू ( पृ.९)
यसरी मानव सृष्टिको निरन्तरता र प्रकृतिको चित्रण गर्दै कवि सुब्बाले आकाशको शून्यबोध सँगै अस्तित्वलाई सम्झाएका छन् ।

आकाशको अर्को कविता ‘मेरो आकाश’ लाई शून्य र अनन्तबोध गर्दै कवि सुब्बाले यसरी प्रस्तुत गरेका छन् ः 
‘म जन्मँदा
मेरा दुई चिम्म आँखामा चेपेर ल्याएको आकाश
मैले आँखा उघार्न थालेपछि
टाँगिँदै गो मास्तिर
अझ मास्तिर…..
तर तिमी त
मेरो यो आकाशलाई टुक्रा… टुक्रा च्यातेर
तिम्रो डिपार्टमेन्टल स्टोरमा सौदा पोको पार्ने
थैलाहरू पो बनाउन खोजिरहेका छौ त !
हँ ? ( पृ.१२)

कविताले प्रकृतिलाई जोगाउन सके मात्र स्वस्थ र हाँसीखुशी बाँच्नसक्छ भन्दै मान्छेभित्र आकाश छ, ऊ बाँच्नका लागि पनि आकाश स्वस्थ हुन आवश्यक छ भन्ने चेतनाबोध गराएको छ । वातावरण प्रदूषणले आकाश अहिले घाइते छ, शिथिल छ, रोगी छ । यही आकाशमा पड्काइएको छ बम, उडाएको छ धुवाँ त्यसैले आज विभिन्न रोगको सङ्क्रमित भएका मान्छेको अवस्थाको कारक तत्त्वको चित्रण यहाँ पाइन्छ । आकाशको अवस्था र हुनुपर्ने यही कुरा मनप्रसाद सुब्बाले आफ्ना आकाशसम्बन्धी नौवटा कवितामा प्रस्तुत गरेका छन् । आकाशका सबै कविताहरूले गहकिलो विचार शक्तिका साथ उभिएर आकाशलाई बोकेका छन् भन्न सकिन्छ ।

त्यस्तै दोस्रो तत्वका रूपमा आएको वायु अर्थात् हावा तत्वका बारेमा पनि हावा सम्बन्धी नौवटा नै कविता लेखेका छन् । जसमा हावा–२, हावा–१, हावा यसरी चल्यो, आख्यान वायुको, यो एकनासे हावा, वायुकणदेखि वायुदेवसम्म, लखतरान वायु, हावाको त्यो हावा कथा र हावाको श्राप रहेका छन् । हावा अर्थात् वायुको शक्ति र सामथ्र्यलाई सम्बोधन गर्दै लेखिएका कवितामा हावाले के के बोकेर हिँड्न सक्छ ? हावामा के के मिसिएर हामीसम्म आइपुग्छ ? यी कविताहरूले दिमागलाई रनन घुमाउँछन् ।

पाँच दशकको अथक साहित्य साधनापछि कवि सुब्बा ‘पञ्चतत्त्वकाे पालाम’ कवितासङ्ग्रहमा आइपुग्दा वैचारिक स्खलनको कतै आभास पाइँदैन । यही नै उनको मूल विशेषता हो । इतिहासलाई वर्तमानभित्र राखेर पर्यावरण अर्थात् प्रकृतिलाई विषय बनाएर कविता लेख्नु कवि सुब्बाको खूबी हो । उनको कवितामा उपदेश मात्र हुँदैन, पर्यावरणको गहन विश्लेषणसहित सूक्ष्म रूपमा मानवीय सन्देश नै उनको कविताको गुण हो । उनका कवितामा सृष्टि र भूगोलका तत्त्व समावेश गरेर हावा, पानी या सूर्यको तत्त्व ज्ञान हुन्छ, विज्ञान लुकेको हुन्छ ।

१३० पृष्ठमा संरचित यस कवितासङ्ग्रहलाई पेज टर्नरले प्रकाशित गरेको यो पुस्तक पर्यावरण कवितामा वर्षकै उत्कृष्ट कवितासङ्ग्रह हो । यस कवितासङ्हमा सङ्ग्रहीत कविताले पञ्चतत्वमध्येका आकाश, अग्नि, हावा, पानी र पृथ्वीलाई हेर्ने भाव र यसको विशिष्ट पक्षलाई प्रस्तुत गर्दै यी तत्वहरूको शाश्वत मूल्य, जीवनका लागि तिनको अपरिहार्यता र मान्छेका असंवेदनशील र स्वार्थपूर्ण कुकृत्यका कारण तिनमा पर्दै गएको नकारात्मक असर र त्यसले पारेको प्रभावबारे पाठकलाई सचेत गराउने चेष्टा गरेका छन् ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  १० : ५७ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने