काठमाडौं– आगामी शनिबारदेखि सुरु हुने टी–२० विश्वकप अघि पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्ने निर्णय लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट जगतमा ठूलो तरंग पैदा भएको छ ।
पाकिस्तान सरकारले आफ्नो टोली विश्वकप खेल्ने तर भारतसँग प्रतिस्पर्धा नगर्ने स्पष्ट पारेको छ । यस निर्णयले केवल दुई देशबीचको क्रिकेट सम्बन्ध मात्र होइन, सम्पूर्ण प्रतियोगितामै असर पार्ने देखिएको छ ।
पाकिस्तानको निर्णय सार्वजनिक हुनासाथ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई आफ्नो निर्णयमा पुनः विचार गर्न आग्रह गरेको छ । आईसीसीले चेतावनी दिँदै यस्तो कदमले पाकिस्तानलाई भविष्यमा गम्भीर समस्यामा पार्न सक्ने संकेत पनि दिएको छ ।
भारतविरुद्ध नखेल्ने निर्णयको ठोस कारण पाकिस्तानले सार्वजनिक गरेको छैन। यद्यपि, बंगलादेशलाई टी–२० विश्वकपबाट हटाउने आईसीसीको पछिल्लो निर्णयसँग पाकिस्तान असन्तुष्ट रहेको अनुमान गरिँदै आएको छ । यही असन्तुष्टिको प्रतिक्रिया स्वरूप पाकिस्तानले यस्तो कडा निर्णय लिएको हुन सक्ने विश्लेषण भइरहेको छ ।
आईसीसीको खेलसम्बन्धी नियमअनुसार, कुनै टोलीले खेल बहिष्कार गरेमा त्यस टोलीले २० ओभरमा शून्य रन बनाएको मानिन्छ, जबकि विपक्षी टोलीको एक ओभर गणना हुँदैन ।
यसको प्रत्यक्ष असर पाकिस्तानको नेट रनरेटमा गम्भीर रूपमा पर्न सक्छ, जसका कारण बाँकी सबै खेल जिते पनि समूह चरण पार गर्न मुस्किल हुन सक्छ ।
समूह–ए मा भारत र पाकिस्तानसँगै नामिबिया, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । यीमध्ये कुनै एक खेलमा पनि हार बेहोर्नुपरेमा पाकिस्तान समूह चरणबाटै बाहिरिने जोखिममा पर्न सक्छ ।
स्मरणीय छ, अघिल्लो विश्वकपमा अमेरिकाले पाकिस्तानलाई हराउँदै प्रतियोगिताबाट बाहिर पठाएको थियो, जबकि नेदरल्यान्ड्स पनि ठूला उलटफेरका लागि परिचित टोली हो ।
प्रतिबन्धको खतरा अझ गहिरिँदै
आईसीसी र पाकिस्तानबीचको सम्बन्ध विगतदेखि नै सहज छैन । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आईसीसीमा बलियो प्रभाव रहेको चर्चा हुँदै आएको छ ।
आईसीसी अध्यक्ष जय शाह बीसीसीआईका पूर्वसचिव समेत हुन् । यस्तो अवस्थामा भारतविरुद्ध खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णयले आईसीसीलाई कडा कदम चाल्न प्रेरित गर्न सक्ने देखिन्छ ।
आईसीसीले पाकिस्तानसँग भारतविरुद्धको खेल किन बहिष्कार गरियो ? भन्ने स्पष्ट जवाफ माग्नेछ । यदि जवाफ सन्तोषजनक नभएमा, पाकिस्तानलाई यही विश्वकपबाटै प्रतिबन्ध लगाउनेदेखि भविष्यका प्रतियोगितामा सहभागिता नगराउने सम्मका विकल्प खुला रहने बताइन्छ ।
यसअघि सुरक्षा र राजनीतिक कारण देखाउँदै अन्य देशहरूले पनि विश्वकप खेल बहिष्कार गरेका उदाहरण छन् ।
तर पाकिस्तानको हकमा भने आईसीसी नरम नहुने संकेत देखिएको छ । विश्वकपका सबै खेलहरू भारतमा नभई श्रीलंकामा आयोजना भइरहेकाले सुरक्षाको कारण देखाउन पाकिस्तानलाई कठिन हुने विश्लेषण छ ।
पीएसएलदेखि रेभेन्युसम्म : पाकिस्तानलाई दोहोरो आर्थिक झट्काको खतरा
यदि पाकिस्तानले भारतविरुद्ध खेल बहिष्कार गर्नुको कारण बंगलादेशलाई समर्थन गर्नु भएको पुष्टि भएमा, त्यसको असर केवल विश्वकपसम्म सीमित रहने छैन ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यस्तो अवस्थामा पाकिस्तान सुपर लिग (पीएसएल) लाई आवश्यक पर्ने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)नदिने सम्भावना बलियो देखिएको छ ।
यस्तो निर्णय आएमा पीएसएलमा विदेशी खेलाडीको सहभागिता प्रभावित हुनेछ, जसले पाकिस्तानको घरेलु क्रिकेट संरचनामै ठूलो धक्का पुर्याउन सक्छ ।
यससँगै, भारत–पाकिस्तानबीचको बहुप्रतीक्षित खेल नहुँदा आईसीसीले ठूलो आर्थिक घाटा व्यहोर्नुपर्नेछ। विश्वकपमा यी दुई टोलीबीचको खेल नै सबैभन्दा बढी दर्शक तान्ने र आम्दानी ल्याउने मानिन्छ ।
यही कारणले आईसीसीले पाकिस्तानलाई दिइने वार्षिक खर्च घटाउने विकल्पसमेत विचार गर्न सक्ने अनुमान गरिएको छ ।
अझ गम्भीर पक्ष के छ भने, भविष्यमा पाकिस्तानले आईसीसी प्रतियोगिता आयोजना गर्ने अधिकारसमेत गुमाउन सक्छ । पाकिस्तानले करिब २९ वर्षपछि २०२५ को च्याम्पियन्स ट्रफी आयोजना गर्ने अवसर पाएको थियो ।
तर हालको विवाद गहिरिँदै गएमा त्यो प्रतियोगिता नै पाकिस्तानका लागि अन्तिम ठूलो आईसीसी आयोजना बन्न सक्ने चिन्ता विश्लेषकहरूले व्यक्त गरेका छन् ।
यो निर्णयले पाकिस्तान क्रिकेटलाई खेलमैदान बाहिर आर्थिक, प्रशासनिक र अन्तर्राष्ट्रिय स्तरमा गहिरो संकटतर्फ धकेल्न सक्ने संकेत देखिएको छ ।













प्रतिक्रिया