केपी ओलीबारे माधव नेपालको प्रश्न- मुख गन्हाउने मान्छेसँग कसरी तालमेल र सहकार्य हुन्छ ? « Khabarhub

अन्तर्वार्ता

केपी ओलीबारे माधव नेपालको प्रश्न- मुख गन्हाउने मान्छेसँग कसरी तालमेल र सहकार्य हुन्छ ?

खुट्टै ढोगेर डुब्नै लागेँ भनेमा सोच्न सकिन्छ



काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल एमालेसँग चुनावी तालमेल र सहकार्य गर्ने अवस्थामा देखिँदैनन् । नेकपा संयोजक पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहकार्य हुने चर्चाबीच उनी यसबारे आफूलाई कुनै जानकारी नभएको बताउँछन् । 

संयोजक प्रचण्डले तालमेल र सहकार्यका विषयमा आफूसँग कुनै कुरा नगरेकाले नेकपा नै बलियो शक्ति बनाएर जाने उनको विश्वास छ । ओली र प्रचण्डबीच एकताबारे कुराकानी भएको भन्ने सन्दर्भमा आफूले कुनै संकेत र सुइँको नपाएको उनी बताउँछन्। 

यथास्थितिमै एमालेसँग सहकार्य र चुनावी तालमेल गरेर जाने अवस्था नरहेको बताउँदै नेपाल आफूलाई ओलीले मुख गन्हाउने मान्छे भनेको कुरा सम्झिन्छन्। उनी भन्छन्- ‘मुख गन्हाउने मान्छेहरूसँग एकता कसरी सम्भव छ र ?’ उनी संयोजक प्रचण्डले आफूलाई सूचना नदिई एमालेसँग तालमेल गरेर जाने अवस्था नरहेको पनि बताउँछन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले ओली सुध्रिएर माफी मागेको खण्डमा मात्रै सहकार्य अथवा तालमेलबारे सोच्न सकिने बताउँछन् । तर यही अवस्थामा तालमेलको सम्भावना नभएको दाबी उनी गर्छन् । भन्छन्- खुट्टै ढोगेर तालमेल नगरी भएन, म त डुब्नै लागेँ भन्छन् भने त्यसबेला प्रचण्ड र म छलफल गर्छौँ । नेपालको कुराले नेकपाले एमालेसँग तालमेलबारे प्रस्ताव नराखेको खुलाएको छ। तर ओलीले चुनावमा मिलेर जाने प्रस्ताव राखेको देखिन्छ। । प्रचण्डसँगको सहकार्य अहिलेसम्म ‘कम्फर्टेबल’ रहेको दाबी गर्दै नेपाल आफू सम्मानजनक अवस्थामा रहेको बताउँछन् । 

‘प्रचण्डसँग सहकार्यमै काम भइरहेका छन् । हामी सल्लाहमै बढिरहेका छौँ’, नेपाल भन्छन्, ‘सोमबार पनि संयोजक कमरेड र मबीच लामो कुरा भयो । हामीले पार्टीलाई बलियो बनाएर जाने कुरा गरेका छौँ ।’

०७९ को निर्वाचनमा रौतहट १ बाट विजयी नेकपा सहसंयोजक नेपाल अहिले त्यहीँ पुगेका छन् । २०५६ पछिका निर्वाचनमा उनी निरन्तर उठिरहेका छन् । यसपटक कांग्रेसले रौतहट १ बाट सद्भावना पार्टीबाट आएका अनिल झालाई उम्मेदवार बनाएको छ। झाले सद्भावना छोडेर कांग्रेसको टिकट लिएका हुन्।

यस्तै रास्वपाले राजेश चौधरीलाई उम्मेदवार बनाएको छ। उनी रौतहटबाट फेरि चुनाव जितेर संसद्‍मा आउने दाबी गर्छन् । प्रधानमन्त्री हुँदा विकास निर्माण, शिक्षा, स्वास्थ्य र खानेपानीमा राम्रो काम गरेको दाबी गर्दै आएका नेपाल आत्मनिर्भर अर्थतन्त्र बनाउन आफूलाई मतदान गर्नुपर्ने जिकिर गर्छन् । 

नेपालसँग खबरहबले चुनावी गतिविधि र एमालेसँगको तालमेलसहितका अन्य राजनीतिक सम्भावना, नेकपाको सम्भावित परिणाम, पुराना नेताप्रतिशत विश्वासका आधार र प्रचण्डसँगको सहयात्रासहितका विषयमा केन्द्रित रहेर गरेको कुराकानी गरेको छ ।

नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच चुनावी तालमेलको चर्चा छ नि ?

कसलाई के हल्ला गर्न मन लाग्छ, त्यही हल्ला गरेका हुन सक्छन् । संयोजक कमरेड प्रचण्ड र म ओलीको व्यवहार र कार्यशैलीसँग परिचित छौँ । संयोजक कमरेडले मलाई यसबारे कुनै जानकारी गराउनुभएको छैन । मलाई यसबारे थाहै छैन । हामीले ओलीलाई यहाँभन्दा कति चिन्ने र अझै ? अस्ति भर्खरै राष्ट्रियसभा निर्वाचनमा ओलीको गतिविधिबाट लागेको घाउ सुकेको छैन । अहिले देशव्यापी चुनावी तालमेल गरेर जाने अवस्था आउँदैन । 

तालमेलबारे एमालेले केही कुरा गरेको संयोजक प्रचण्डले तपाईंलाई केही जानकारी गराउनुभएको छैन ? 

छैन, कसले कोसँग के कुरा गर्छ, सबै कुरा थाहा पाएर साध्य पनि छैन । तर संयोजक कमरेड र मबीच सोमबार पनि आफ्नै पार्टीलाई बलियो बनाउने विषयमा कुराकानी भएको छ।  

नढाँटी भन्दा प्रचण्ड र ओलीबीच पछिल्लो समय कहिले र कहाँ कुराकानी भयो  ?

मेरो जानकारीमा आएसम्म उहाँहरूबीच पछिल्लो समय कुराकानी भएको छैन। मलाई जानकारी भएको कुरा प्रचण्ड दिल्ली जानुअगाडि भेटवार्ता भएको थियो । त्यसपछि भेट भएको बारे मलाई थाहा भएन। उहाँहरू भेट भएको भए त मलाई जानकारी हुन्थ्यो। नेकपा सबैभन्दा ठूलो पार्टी बन्ने कुरामा दुईमत छैन । यो कुरा देखेर आत्तिएका मान्छेले भ्रम फैल्याउने काम गरेका हुन सक्छन् । 

संयोजकले कुनै पार्टीसँग तालमेल गरेर जानुपर्ला कि भन्ने राय राख्नुभएको छैन ?

यस्तो कुरै भएको छैन । सोमबार हाम्रो निर्वाचन परिचालन कमिटीको बैठक थियो । सोमबार पेरिसडाँडामा बैठकमा बसेर म र संयोजक कमरेड बाहिरिएका हौँ । केहीबेर हामी गफिएका थियौँ । तर उहाँले यसबारे कुनै कुरा गर्नुभएको छैन । हामीले पार्टीलाई बलियो र बहुमत ल्याउने शक्ति कसरी बनाउन सकिन्छ भनेर सुधारका उपायमा मात्रै कुरा गर्‍यौँ ।

उसो भए एमाले र नेकपाबीच सहकार्य भएर निर्वाचनमा जाने अवस्था छैन ?

यथास्थितिमा कुनै कुरा सम्भव छैन । मुख गन्हाएका मान्छेहरूसँग हामी सहजै तालमेल गर्ने अवस्थामा छैनौँ । हामीले कहिले पनि तालमेलका लागि प्रस्ताव राखेका छैनौँ र राख्ने चरणमा पनि छैनौँ । एकता र तालमेलको विषय हाम्रो पार्टीमा छलफलको एजेण्डा बनेको छैन । 

आग्रह-पूर्वाग्रह राख्ने मान्छेबीच सहकार्य हुन्छ भन्ने मलाई लाग्दैन। मेरो श्वास गन्हाउने मान्छेसँग हामी कसरी एकता र तालमेल गर्छौँ ? उहाँलाई हिजो हाम्रो सास गन्हाएको होइन ? अहिले किन एकता गर्नुपर्‍यो ?

यहाँ र संयोजकबीच कतिको कुरा मिलिरहेको छ ? नेकपामा प्राप्त सम्मानबाट तपाईं सन्तुष्ट हुनुहुन्छ ?

हामी सहकार्य गर्दै बढेका छौँ । संयोजक र सहसंयोजकबीच राम्रो समझदारी छ। पारस्परिक विश्वास पनि छ । नयाँ पार्टी निर्माण गर्ने कल्पना गरेका छौँ । नयाँ पार्टीबाटै पुरानाको कमजोरी सुधार्ने हाम्रो सङ्कल्प छ । राम्रो विश्वास बनाउँदै असल पार्टीका रुपमा अगाडि बढाउन खोजेका छौँ । 

यदि प्रचण्डले एमालेसँग तालमेल वा चुनावी सहकार्यको निर्णय गर्नुभयो भने  के गर्नुहुन्छ ?
 
यस्तो कुराको हामीले कल्पना गरेका छैनौँ । हामीबीच राम्रो सहकार्य र छलफलमै कुरा अगाडि बढिरहेका छन् । कसैकसैले हाम्रो सम्बन्ध बिगार्न खेल्न पनि सक्छन् । तर हामी पूर्ण सजग छौँ । कसैले निहुरिँदै आएर तालमेल नगरी भएन, डुब्नै लागेँ भनेको अवस्थामा सोच्ने विषय हो । यदि खुट्टै ढोग्न आए भने प्रचण्ड र म सल्लाह गर्छौँ तर हामी निहुरिन तयार छैनौँ । 

ओलीको कार्यशैली र उनको एकात्मक चरित्रका विषयमा प्रचण्ड र म दुवै जानकार छौँ । त्यसकारण उनी नसुध्री कुनै तालमेल र एकता सम्भव छैन। यसका लागि ओलीले गल्ती कमीकमजोरी स्वीकारेर सम्बन्धित ठाउँमा माफी माग्नुपर्छ। 

तर झलनाथ खनाल त यहाँ र प्रचण्डसँग असन्तुष्ट रहेको थाहा पाउनु भएको छ ?

यो अनावश्यक कुरा हो। यसमा कुनै दम छैन । निर्वाचन बिथोल्न, हामीलाई कमजोर बनाउन विभिन्न भ्रम छर्ने काम गरिएको छ। 

बाहिर त यहाँ र प्रचण्ड मिलेर झलनाथ खनाललाई पेल्नुभयो रे भन्ने गुनासो छ नि ?

कागको पछिपछि लाग्यो भने काग, काग नै हुन्छ। कुनै विवाद भएको भए बसेर हल गर्न सकिन्छ । हल गर्न नसकिने कुनै कुरै छैन। बाहिर जसरी प्रचारबाजी भए ती सबै गलत हुन् । 

आफ्नो निर्वाचन क्षेत्रमा यहाँ कति सुरक्षित हुनुहुन्छ ?  

देशभरको अवस्था हेर्दा हाम्रो पार्टीमा राम्रो सुधार आएको छ। अहिले पनि हाम्रो पार्टी ४२ सिटमा छ । विभिन्न पार्टी छोडेर प्रवेश गर्नेहरूको लहर चलिरहेको छ । देशभर डुल्दा पार्टीको आकर्षणले बहुमत ल्याउन कुनै कठिन देखिँदैन । 

यहाँहरूलाई मतदाता सम्झाउन कतिको सहज छ ? पहिला भन्दा बढी खट्नुपर्ने अवस्था पो छ कि ? 

भ्रमहरू छरिएका कारण खट्नुपर्ने अवस्था छ । तर नेपाली कम्युनिस्ट पार्टीलाई पहिलेका निर्वाचनभन्दा बढी खट्नुपर्ने परिस्थिति बनेको छैन । जनताले नयाँ शक्तिका रुपमा हामीलाई हेरेका छन् । 

समाजवादको नयाँ दिशा लिएको पार्टी हुनाले प्रचारबिना पनि धेरै साथीहरू जोडिनुभएको छ । कृषि, शिक्षा, पर्यटन, जलवायु परिवर्तन लगायतका क्षेत्रमा हामीले कसरी काम गर्नुपर्छ भनेर स्पष्ट नीति बनाएका छौँ। 

रोजगार दिने, स्वास्थ्यका क्षेत्रमा काम गर्ने र विज्ञान प्रविधिलाई प्रोत्साहन गर्ने विषयमा हाम्रो पहिलो प्राथमिकता रहन्छ । 

तर माधव नेपाललाई किन पटक पटक भोट दिएर जिताउने भन्ने प्रश्न होला नि ?
 
माधव नेपाल प्रधानमन्त्री हुँदा होस् या परराष्ट्रमन्त्री, रक्षामन्त्री हुँदा यो देशमा खेलेको भूमिकाले राजनीतिक कोर्ससमेत सही दिशामा अगाडि बढाउने काम गरेको छ। लोकतन्त्र ल्याउन अहम् भूमिका खेलेको छ । गणतन्त्रलाई बलियो बनाएको छ । 

राष्ट्रियता सुदृढ गरेर जनताका पीर मर्कालाई सम्बोधन गर्दै घरबारविहीनहरूलाई जनता आवासको व्यवस्था गरेको छ । जलविद्युतको विकासका योजना सुरुवात गरेको छ । नेपालको भौतिक संरचना विकास गर्ने कुरामासमेत गहिरो रूपले खटेको छ । 

मेरो पालामा धेरै नयाँ नयाँ काम भएका छन् । युवा रोजगार कोषको स्थापना मात्रै होइन, युवालाई रोजगार बनाउनुपर्छ भन्ने कुराको थालनी समेत भएको थियो ।

अब चाहिँ के गर्न बाँकी छ र यहाँलाई पुन जिताउने ? 

अब पनि हामी जनताको पीर मार्कालाई सम्बोधन गर्न चाहन्छौँ। युवाहरूको समस्यालाई हल गर्न चाहन्छौँ । रोजगारी प्रबन्ध गर्दै देशका अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन चाहन्छु । त्यसको लागि हामीले शिक्षाको नीतिमा परिवर्तन गर्नुपर्‍यो भने पनि परिवर्तन गर्छौँ । 

युग सुहाउँदो शिक्षा नीति अवलम्बन गर्नेछौँ । यस्तो भिजन र नीति बोकेको पार्टी अर्को छैन । अरु पार्टी स्टन्टबाजीमा लागेका छन् । अन्य पार्टीमा कुनै ठोस योजना छैन। हामीसँग देश बनाउने हुटहुटी छ। देश बनाउने जाँगर पनि छ। विगतका त्रुटी सुधारेर, नदोहोर्‍याउने प्रतिबद्धतासहित काम गर्न चाहन्छौँ। जनताको सेवामा समर्पित भएर लाग्न चाहन्छौँ। 

नयाँहरूको चुनौती परास्त गर्न कतिको सहज छ ? 

नयाँसँग कुनै भिजन छैन । उहाँहरूसँग देश विकासको कुनै परिकल्पना छ ? न कुनै कार्यक्रमिक खाका छ । उहाँहरूसँग राष्ट्रिय चुनौती समाधान गरेको कुनै अनुभव र नयाँ खाका पनि छैन। जो चाहिँ सङ्घर्षको मैदानमा खारिएको छ , जसले सबै किसिमको चुनौती सामना गर्दै आएको छ, त्यस पार्टीलाई जनताले नपत्याएर अरूलाई पत्याए भने टाउकोमा हात राखेर पछुताउनु पर्नेछ। 

यहाँहरू त तीनजना पूर्व प्रधानमन्त्री जोडिएको पार्टी र चलेका वामपन्थी मिलेको पार्टी यो निर्वाचनपछि कति सिट आउला ?

हामी सम्मानजनक सिट ल्याएर सबैभन्दा ठूलो पार्टी बन्छौँ । अहिले असली कम्युनिस्ट पार्टी को छ भन्दा जम्मा नेकपा मात्रै छ ।हामीले २२ वटा घटक मिलाएर नेकपा बनाएका छौँ । जोडिने क्रम अझै जारी छ। बहुमत आउने विषयमा कुनै अलमल छैन। 

एमालेसहित जोड्दा बहुमत आउने हो ?

होइन, नेकपाको मात्रै बहुमत आउँछ । एमालेको मैले कहाँ कुरा गरेको छ र ? हामीले नेपाली जनतालाई पूर्णरूपमा विश्वास गरेका छौँ । उहाँहरू अति नै बुद्धिमान हुनुहुन्छ। नेकपाभन्दा अरु पार्टी रोज्ने विषयमा उहाँहरू तयार हुनुहुन्न । खहरेको भेलमा उहाँहरू बग्न चाहनुहुन्न  । सही र गलत छुट्याएर हाम्रो पार्टीलाई रोज्नु हुन्छ। हामीलाई पुरै नेपाली जनताको विवेक र बुद्धिमा विश्वास छ। 

अन्तिममा, एकपटक फेरि भनिदिनुस् त एमालेसँग चुनावी तालमेल सम्भव छैन ?

आजका दिनमा र अहिलेकै परिवेशमा तालमेल सम्भव छैन। तालमेल पनि कस्तो किसिमको हुने, कहाँ हुने कसरी हुने भन्ने कुरा हो। नेपाली जनताले ओलीलाई अस्वीकार गरिसकेको अवस्थामा अहिले पुन तालमेल गरेर हाम्रो पार्टीलाई कमजोर बनाउने पक्षमा हामी छैनौँ, रहनु हुँदैन भनेर संयोजक कमरेड प्रचण्ड म र अन्य साथीहरूले समेत छलफल गरिसकेका छौँ । 

राष्ट्रिय सभामा आएको चुनौती समाधान गर्ने विषय कुनै दलसँगको तालमेलले हुने होइन । संविधान लोकतन्त्र र गणतन्त्र जोगाउने विषयमा हामी छौँ, तर आन्दोलनका मुख्य मतियारहरूसँगै यथास्थितिमा मिल्ने कुरा छैन।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ४ : ५० बजे

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको नाममा ठगी गर्ने युवक पक्राउ

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’