काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा अर्थराजनीतिक विषयका ६ जना विज्ञहरू पनि मैदानमा उत्रिएका छन् । जसमध्ये केही अर्थविद् पहिलो पटक चुनावमा होमिएका छन् । अन्य केहीले भने यसअघि पनि प्रतिस्पर्धा गरिसकेका छन् ।
यो भदौ २३ र २४ को दुईदिने जेन-जी आन्दोलनपछि मुलुकमा विकसित नयाँ मनोविज्ञानको धरातलमा हुन लागेको निर्वाचन हो । जेन-जी आन्दोलनका क्रममा मुलुकमा भ्रष्टाचार बढ्दै गएको, सुशासन स्थापित हुन नसकेको र राजनीतिमा पुस्तान्तरण नभएको जस्ता विषय चर्को रूपमा उठेको थियो ।
तर, मतदाताले मुलुकमा सुशासनको स्थापना र नयाँ विकासको प्रारम्भका निम्ति व्यक्तिगत रूपमा कस्ता उम्मेदवारलाई छनौट गर्लान् ? मतदानका क्रममा अर्थराजनीतिक विज्ञहरूलाई प्राथमिकता देलान् वा नदेलान् ?
खोटाङमा डा. हरि रोका
हरि रोका नेपाली अर्थराजनीतिको क्षेत्रमा परिचित विज्ञ हुन् । भारतको जवहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गरेका रोकाले केही पुस्तक पनि लेखिसकेका छन् । उनले विभिन्न सञ्चारमाध्यमबाट आलेख र अन्तवार्तामार्फत आफ्नो धारणा सार्वजनिक गरिरहन्छन् । विशेषगरी समाजवादी अर्थराजनीतिक विषयमा उनले आफ्नो मत राख्दै आएका छन्
तत्कालीन नेकपा (माओवादी)को तर्फबाट संविधानसभा सदस्यसमेत भएका रोका प्रतिनिधिसभा सदस्यका लागि पहिलो मैदानमा उत्रिएका हुन् । उनी एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट अहिले चुनावी अभियानमा छन् ।
०७९ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा खोटाङमा नेपाली कांग्रेसको समर्थनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामकुमार राईले ३१ हजार ३५१ मतसहित जितेका थिए । रोका अहिले तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच एकताबाट बनेको नेकपा साझा उम्मेदवार हुन् ।

०७९ मा खोटाङमा नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेका विशाल भट्टराईले २८ हजार ६८२ मत ल्याएका थिए । तेस्रो स्थानमा जनता समाजवादी पार्टीका उम्मेदवार कृष्णकुमार राईले १९१४ मत ल्याए ।
यसपटक खोटाङमा मुख्य तीन प्रतिस्पर्धी राजनीतिक दलका सबै उम्मेदवार परिवर्तन भएको अवस्था छ । जहाँ कांग्रेसको तर्फबाट वीरकाजी राई र एमालेको तर्फबाट देवबिक्रम राई उम्मेदवार छन् ।
खोटाङको चुनावी प्रतिस्पर्धा हेर्दा रोकाको राष्ट्रिय पहिचान र विज्ञताका आधारमा सहज भए पनि दलगत मत हेर्दा उनले निकै मिहिनेत गरेमात्रै जित निकाल्न सक्ने अवस्था देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीको समेत खोटाङमा प्रभाव रहेकाले तीन ठूला दललाई उनीहरू पनि चुनौती बन्न सक्छन् ।
प्युठानमा डा. गोविन्दराज पोखरेल
प्रा. डा. गोविन्दराज पोखरेल नवीकरणीय ऊर्जा र वित्त क्षेत्रमा विज्ञका रूपमा परिचित व्यक्ति हुन् । थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नल र सञ्चारमाध्यममा आलेखसहित अन्तरवार्ताको माध्यमबाट आफ्ना विचार प्रस्तुत गर्दै आएका उनी कांग्रेस नेताका रूपमा पनि परिचित छन् ।
जर्मनीबाट विद्यावारिधी गरेका पोखरेलले पछिल्लो समय राजनीतिका अलावा नीतिगत बहसमूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएका थिए । पोखरेलले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र भूकम्पपछि सरकारले बनाएको नेपाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा रहेर काम गरेका थिए ।
०७४ सालको निर्वाचनमा प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा उनी पराजित भएका थिए । ०७९ मंसिरमा भएको निर्वाचनमा उक्त जिल्लामा तत्कालीन सत्ता गठबन्धनको तालेमल थियो। तर त्यहाँ एमालेका सूर्यबहादुर थापा क्षत्री ४१ हजार ११८ मतसहित विजयी भए । सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८१४ मत ल्याउँदै पराजित भइन् । राष्ट्रिय स्वतन्त्र पार्टीले यो निर्वाचनमा जम्मा ३ हजार ३१८ मत ल्याएको थियो ।

यसपटकको निर्वाचनमा पनि एमालेका थापाको उम्मेदवारी दोहोरिएको छ । नेकपाको तर्फबाट कृष्णध्वज खड्का उम्मेदवार छन् । ०७९ को प्रतिनिधिसभामा निर्वाचनमा समानुपातिकतर्फ खसेको मत हेर्दा प्यूठानमा एमालेको कांग्रेस र तत्कालीन माओवादी केन्द्रभन्दा दोब्बर धेरै छ ।
राष्ट्रिय रूपमा स्थापित एमालेका सूर्य थापा, माओवादी सशस्त्र जनयुद्धदेखि राजनीतिमा सक्रिय नेकपाका कृष्णध्वज खड्का र रास्वपाका उम्मेदवार सुशान्त वैदिकसँगको चारपक्षीय प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा छन् प्रा.डा पोखरेल ।
यसका साथै जिल्लामा राष्ट्रिय जनमोर्चाको पनि राम्रो प्रभाव छ । उदारवादी अर्थराजनीतिको पैरवी गर्दै आएका पोखरेललाई कम्युनिस्ट तथा वामपन्थी मत आकर्षित गरेर बाजी मार्न चुनौतीपूर्ण छ।
डा. सुदन वली रोल्पामा
डा. सुदनकुमार वली मानवीय पुँजी निर्माण र स्थानीय अर्थतन्त्रका विज्ञ हुन् । चीनबाट विद्यावारिधि गरेका वलीले यसअघि संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयमा नीति विज्ञ, सिँचाइ मन्त्रालयमा सल्लाहकार र लुम्बिनी प्रदेश योजना आयोगको सदस्यका रूपमा काम गरिसकेका छन् ।
कांग्रेससँग आबद्ध रहँदै आएका डा. वली अहिले माओवादी सशस्त्र युद्धको केन्द्र रोल्पामा उम्मेदवार छन् । जहाँ नेकपाका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन उम्मेदवार छन् ।
विशेषगरी तत्कालीन माओवादी र हालको नेकपाको दबदबा रहेको रोल्पामा ०६४ देखि नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीले जित्दै आएको छ । ०७९ मंसिरमा भएको निर्वाचनमा यहाँँबाट तत्कालीन नेकपा (माओवादी केन्द्र)का उम्मेदवार वर्षमान पुनले ४१ हजार ७१४ मतसहित जितेका थिए ।

प्रतिस्पर्धामा रहेको नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले १६ हजार ४८५ मत ल्याए । उक्त निर्वाचनमा नेपाली कांग्रेसले भने माओवादीलाई समर्थन गरेको थियो ।
रोल्पामा ०७९ मा समानुपातिकतर्फ खसेको मत हेर्दा एमाले र कांग्रेसको भन्दा हालको नेकपामा दोब्बर बढी मत छ । जसमा कांग्रेस तेस्रो स्थानमा छ । त्यसैले, डा. वलीलाई माओवादी सशस्त्र युद्धको विरासत बोकेको र वामपन्थी मत बलियो रहेको रोल्पामा विचारधाराकै हिसाबले मत आकर्षित गर्न चुनौतीपूर्ण देखिन्छ ।
तनहुँ १ मा डा. स्वर्णिम वाग्ले
स्वर्णिम वाग्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अर्थशास्त्री तथा अर्थ विज्ञका रूपमा परिचित छन् । राजनीतिक विचारधाराक हिसाबले लामो समयदेखि कांग्रेसमा आबद्ध वाग्ले ०८० वैशाखमा भएको उपनिर्वाचनसँगै रास्वपा उपसभापतिका रुपमा रहँदै आएका छन् ।
कांग्रेसको नेतृत्वमा सरकार बनेको बेलामा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका वाग्लेसँग विभिन्न अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रमा काम गरेको लामो अनुभव छ ।
०७९ सालमा नेपाली कांग्रेसको घोषणापत्र लेखनमा भूमिका खेलेका वाग्लेले टिकट नपाएपछि असन्तुष्ट भएका थिए । त्यसलगत्तै रास्वपा प्रवेश गरेर तनहुँ १ मा भएको उपनिर्वाचनमा उम्मेदवार बनेर विजयी भए ।

उक्त निर्वाचनमा उनले ३४ हजार ९१९ मत ल्याए। कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत ल्याएका थिए । जसलाई तत्कालीन माओवादी केन्द्रले पनि समर्थन गरेको थियो । जहाँ एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत ल्याए ।
समानुपातिक मतको आधारमा ०८० को उपनिर्वाचनमा वाग्लेले कांग्रेस, एमालेसहित सबै दललले राम्रो मत प्राप्त गरेका थिए । उक्त निर्वाचन क्षेत्रमा कांग्रेसको जनाधार राम्रो रहे पनि विगतका चुनावमा आन्तरिक एकता नहुँदा विद्रोही उम्मेदवार खडा हुने स्थिति देखिँदै आएको थियो । तर, यसपटकको निर्वाचनमा कांग्रेसको नेतृत्व फेरिएकाले उनीहरूको मनोविज्ञान बद्लिँदा एकजुट भएको अनुमान मतदाताले गरेका छन् ।
यसपटक पनि डा. वाग्लेले उपनिर्वाचनमा प्रतिस्पर्धा गरेका कांग्रेसका गोविन्द भट्टराई, एमालेकी भगवती न्यौपाने र नेकपाका विद्यानाथ ढकालसँग प्रतिस्पर्धा गर्दैछन् ।
राष्ट्रिय रूपमा परिचित र विशेषगरी सत्तापक्षसँग असन्तुष्टको भारी मत ल्याएर उपनिर्वाचनमा विजयी वाग्लेलाई यसपटक कांग्रेसको एकता र नेतृत्व परिवर्तनको चुनौती थेग्नुपर्ने दबाब छ ।
नुवाकोटमा १ मा डा. महत
डा. प्रकाशशरण महत अर्थशास्त्र विषयमै विद्यावारिधी गरेका कांग्रेसका नेता हुन् । कांग्रेसमा लामो समयदेखि सक्रिय महत पारिवारिक विरासतबाटै केन्द्रीय राजनीतिमा स्थापित भएका पात्र हुन् ।
व्यक्तिगत रूपमा अर्थराजनीतिको क्षेत्रमा राम्रो विज्ञता भए पनि पार्टीभित्रको गुटगत राजनीतिमा उनी विवादित बन्न पुगेका थिए । जसकारण कांग्रेसको पछिल्लो विशेष महाधिवेशनसँगै पूर्वप्रवक्ता रहेका उनी पार्टीको मुख्य जिम्मेवारीबाट किनारा लागेका छन् ।
डा. महत ०६४ र ०७४ मा बनेको दुवै संविधानसभामा सदस्यमा मनोनित भएका थिए । यसअघि अर्थ र ऊर्जा मन्त्रालय पनि सम्हालिसकेका छन् ।
कांग्रेसको विशेष महाधिवेशनपछि शेरबहादुर देउवाको टिममा रहेरै पनि नुवाकोट १ बाट टिकट पाएका उनलाई विजय हासिल गर्न सहज छैन । महतले उक्त निर्वाचन क्षेत्रमा ०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेकपाका हितबहादुर तामाङ र एमालेका बद्री मैनालीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

०७९ को निर्वाचनमा उक्त क्षेत्रबाट विजयी तामाङले कांग्रेसकै समर्थनमा २६ हजार ५४८ मत ल्याएका थिए । प्रतिस्पर्धी मैनालीले २३ हजार ४६५ मत ल्याएका थिए । यसका साथै रास्वपाका उम्मेदवार प्रद्युम्न महत क्षेत्रीले ६ हजार ११३ मत ल्याएका थिए ।
डा. महत उम्मेदवार रहेको नुवाकोटमा एमाले, कांग्रेस र नेकपाको समानुपातिक मत झण्डै समान देखिन्छ । पछिल्लो समयमा रास्वपाले पनि उक्त निर्वाचन क्षेत्रमा आफ्नो मत बढाउँदै लगेको छ । अवस्थामा यहाँ चारपक्षीय प्रतिस्पर्धाबाट जित हासिल गर्न महतलाई सजिलो छैन।













प्रतिक्रिया