काठमाडौं- राष्ट्रिय खेलकुद परिषद (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) बीचको विवादका कारण नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा सिरिजको खेल गुमाएपछि गोलकिपर अन्जिला तुम्बापो सुब्बाले गहिरो असन्तुष्टि जनाएकी छन्।
विवादका कारण थाइल्यान्डमा आयोजना हुने सिरिजबाट एन्फाले नेपालको नाम फिर्ता लिएपछि टोली अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट वञ्चित भएको हो।
यस घटनाप्रति प्रतिक्रिया जनाउँदै सुब्बाले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा सार्वजनिक गरेकी हुन्।
उनले एक दशकसम्मको कठिन मेहनत केही समयको स्वार्थ र राजनीतिक खिचातानीका कारण खेर गएको बताएकी छन्।
‘१० वर्षको मेहनतलाई खरानी बनाउन १० मिनेट पनि लागेन,’ उनले भनेकी छन् । खेलाडीहरूले घाम, पानी, चोटपटक र अभाव सहेर बनाएको उपलब्धि यत्तिकै नष्ट भएको उनले उल्लेख गरेकी छन्।
अन्तर्राष्ट्रिय खेल खेल्ने अवसरलाई खेलाडीको लागि ‘पर्व’ र ‘सपनाको शिखर’सँग तुलना गर्दै उनले अन्तिम समयमा राजनीतिक कारणले अवसर खोसिँदा हुने पीडा गहिरो हुने बताइन्।
सुब्बाले खेल क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्न आग्रह गर्दै खेलाडीको भविष्यसँग खेलबाड नगर्न चेतावनीसमेत दिएकी छन्। ‘हामी देशका लागि खेल्न चाहन्छौँ, कसैको अहंकारका लागि होइन,’ उनले लेखेकी छन्।
उनले अहिलेको अवस्थाले नयाँ पुस्तामा समेत निराशा फैलाउने खतरा रहेको औंल्याउँदै खेलकुद क्षेत्रका जिम्मेवार निकायहरूलाई गम्भीर बन्न आग्रह गरेकी छन्।
एन्फा र राखेपबीचको विवादले नेपाली महिला फुटबल टोली अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट बाहिरिनु परेको घटनाले समग्र खेल क्षेत्रमै चिन्ता बढाएको छ।













प्रतिक्रिया