तेस्रो विश्वयुद्धको जोखिम कति ? « Khabarhub

तेस्रो विश्वयुद्धको जोखिम कति ?



काठमाडौं-

‘‘हैदर… हैदर…
आतङ्क, लोभ र छल मिलेका छन्,
संसार अर्को विश्वयुद्धका लागि तयार भएको छ…’’

यो हरफ एउटा इरानी प्रोपागाण्डा गीतको नेपाली अनुवाद हो । पाकिस्तानको मध्यस्थतामा इरानले अमेरिकासँग युद्धविराम गरे पनि पश्चिम एशियामा फेरि द्वन्द्व सुरू हुने जोखिम अझै टरेको छैन । युद्धविरामका बावजुद इरानको आणविक कार्यक्रम, प्रतिबन्ध र नाकाबन्दी, सुरक्षा ग्यारेन्टीजस्ता विषयमा सहमति जुट्न नसक्दा अहिले पश्चिम एशियामा न त पूर्णस्तरको युद्ध, न त स्थायी शान्तिको अवस्था छ ।

अमेरिका र इरानका शीर्ष नेतृत्वको अभिव्यक्ति विश्लेषण गर्दा पश्चिम एशियामा स्थायी शान्तिभन्दा थप द्वन्द्वको जोखिम धेरै रहेको प्रतीत हुन्छ । यससँगै कतै यो युद्ध थप विस्तार भएर इरानी गीतमा भनिएजस्तै तेस्रो विश्वयुद्धकै रुप लिने त होइन भन्ने भय पनि सैन्य तथा रणनीतिक विश्लेषकहरूमा देखिन्छ ।

तेस्रो विश्वयुद्धको सम्भावनाबारे बेलायतमा एउटा सर्वेक्षण गरिएको थियो । इरानमा युद्ध सुरू भएपछि सार्वजनिक गरिएको सर्वेक्षणमा सहभागी ५३ प्रतिशतले अबको ५ देखि १० वर्षभित्र तेस्रो विश्वयुद्ध सुरु हुनसक्ने प्रतिक्रिया दिएका छन् । यो सङ्ख्या अघिल्लो वर्ष अप्रिल महिनाको तुलनामा १२ प्रतिशतले धेरै हो ।

युरोपमा नेटोको सर्वोच्च साझेदार पूर्व-उपकमाण्डर रिचर्ड शेरिफ भविष्यका इतिहासकारले इरानसँगको अमेरिका–इजरायल द्वन्द्वलाई ‘तेस्रो विश्वयुद्धको अन्तिम उत्प्रेरक’ का रूपमा हेर्ने बताउँछन् । डेली मेलमा उनले लेखेका छन्, ‘…मलाई भविष्यका इतिहासकारहरूले आकाशबाट शासन परिवर्तन गर्ने लापरवाह प्रयासलाई तेस्रो विश्वयुद्धको अन्तिम उत्प्रेरकको रूपमा हेर्लान् कि भन्ने डर छ ।’

हुन त दुई देशबीच द्वन्द्व सुरू हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमका हेडलाइनमा तेस्रो विश्वयुद्धको चर्चा हुन थालिहाल्छ । सन् २०२२ मा रुसले युक्रेनमाथि हमला गर्दा पनि तेस्रो विश्वयुद्ध हुने हल्ला चुलिएको थियो । कतिपय जानकार भने इरानमा जारी युद्धलाई तत्कालै विश्वयुद्धको जोखिमका रूपमा हेरिहाल्न नहुने धारणा राख्छन् ।

नर्वेजियन इन्टिच्युट फर डिफेन्स स्टडिजका सिनियर फेलो यो इङे बेक्केभोल्डको बुझाइमा हरेक युद्धको प्रकृति फरक फरक किसिमको हुन्छ । उनका अनुसार विश्वभर गम्भीर प्रभाव पारे पनि युक्रेन र इरानमा जारी दुवै युद्धको प्रकृति क्षेत्रीय किसिमको छ । उनी इरानले छिमेकी खाडी मुलुकमा हमला गरे पनि यो क्षेत्रीय युद्धमै सीमित हुने बताउँछन् ।

उनका अनुसार विश्वयुद्धका कम्तीमा चार मापदण्ड छन् । एक- सबै वा अधिकांश शक्ति मुलुकहरू एक अर्काविरुद्ध प्रत्यक्ष द्वन्द्वको अवस्थमा रहनु, दुई– सैन्य कारवाहीको दायरा विश्वव्यापी हुनु, तीन– युद्ध सीमित नभइ पूर्णस्तरको हुनु र चार– युद्धको नतिजास्वरुप विश्व व्यवस्थामा व्यापक संरचनागत परिवर्तन आउनु ।

पहिलो र दोस्रो विश्वयुद्धबाहेक थोरै द्वन्द्वले मात्रै चार मापदण्ड पूरा गरेको उनको भनाइ छ । सन् १७५६ देखि १७६३ सम्म चलेको सातवर्षे युद्ध साँचो अर्थमा पहिलो विश्वयुद्ध भएको बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलले जिकिर गरेका थिए ।

अन्य जानकारहरू नौवर्षे युद्ध (१६८८–१६९७), स्पेनी उत्तराधीकारी युद्ध (१७०१–१७१४) फ्रान्सेली क्रान्तिकारी युद्ध र नेपोलियनको युद्ध (१७९२–१८१४) जस्ता युद्धलाई पनि विश्वयुद्ध मान्ने गरेका छन् । कतिपय जानकार १३ औँ शताब्दीमा मंगोल साम्राज्यको विस्तारलाई पनि विश्वयुद्ध नै मान्छन् ।

आधुनिक समयमा शीतयुद्धको स्तर विश्वव्यापी भए पनि शक्ति राष्ट्रहरुबीच प्रत्यक्ष सैन्य टकराव नभएकाले यसलाई विश्वयुद्ध मान्न नसकिने यो इङे बेक्केभोल्डको बुझाइ छ । त्यसैगरी, सन् २००१ को सेप्टेम्बर ११ मा न्यूयोर्कको जुम्ल्याहा भवनमा हमला भएपछि अमेरिकाले विश्वभर सञ्चालन गरेको आतङ्कवादविरुद्धको युद्ध पनि महाशक्ति मुलुकबीच पूर्णस्तरको युद्ध थिएन । युक्रेनमा जारी युद्धको दायरा पनि युक्रेनी र रूसी भूमिमा मात्रै सीमित छ । यसले सन् १९५० को दशकमा कोरियाली युद्धको झल्को दिने उनी बताउँछन् ।

अस्ट्रियाको भियनास्थित मोडुल विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विद्यालयका प्रमुख तथा एक्सेटर विश्विद्यालयका मानार्थ प्राध्यापक डोग स्टोक्सका अनुसार लामो समयदेखि क्षेत्रीय शक्तिका रुपमा रहेको इरानले पछिल्लो आधा दशकमा चीनसँग संरचनागत रुपमै रणनीतिक साझेदारी विस्तार गरेको छ । चीनलाई बिक्री गर्ने सस्तो तेलबाट हुने आम्दानीलाई इरानले सैन्य प्रयोजनका लागि खर्च गर्दै आएको छ ।

त्यसबाहेक इरान र चीनबीच सैन्य औद्योगिक साझेदारी पनि झन् गहिरो छ । इरानले चीनबाट अत्याधुनिक हतियार खरिद गर्दै आएको छ भने सैन्य प्रयोजनका लागि इरानले चिनियाँ भू उपग्रह प्रयोग पनि बढाएको छ ।

अहिले विश्वमा भइरहेका द्वन्द्वले तेस्रो विश्वयुद्धको मापदण्ड अझै पूरा नगरिसकेको विश्लेषणमा बेलायती अखबार द गार्जियनका कूटनीतिक सम्पादक प्याट्रिक विन्टोर पनि सहमत छन् । तर, चीनले ताइवानमाथि गर्ने भनिएको सम्भावित हमलाले त्यसलाई बदल्न सक्ने उनको बुझाइ छ । तर तत्कालै यो सम्भावना कम रहेको उनी बताउँछन् ।

‘अमेरिका यति धेरै अन्योलमा रहेका बेला चीनले मौका छोपेर ताइवानमाथि हमला गर्छ कि गर्दैन भन्ने धेरैको चासो छ,’ उनी भन्छन्, ‘उनीहरूले एकदुई वर्षसम्म यसो गर्ने छैनन्, तर ताइवानलाई फिर्ता लिने सोच राख्ने चिनियाँका लागि लोभलाग्दो समय हुनुपर्छ । किनभने अमेरिका अहिले असाध्यै धेरै ठाउँमा अल्मलिएको छ ।’

उनको बुझाइमा विश्वभर जारी फरक तर अन्तरसम्बन्धित युद्धले विश्वयुद्धको जोखिम पहिलाभन्दा धेरै बढेर गएको छ । ‘विश्वका धेरै भागहरू द्वन्द्वमा छन् । मध्यपूर्व, युरोप र चीन सबै द्वन्द्वमा फसेका छन्, यी सबै युद्ध सैन्य नै हुनुपर्छ भन्ने छैन । कहिलेकाहीँ यो कूटनीतिक हुन्छ, कहिलेकाहीँ छायाँ वा साइबर युद्ध पनि हुनसक्छ । मलाई लाग्छ, हामी अहिले अन्तरसम्बन्धित द्वन्द्वको श्रृंखलामा छौँ,’ प्याट्रिक भन्छन् ।

रुसविरुद्ध लड्न अमेरिका र सझेदार मुलुकले युक्रेनलाई गरिरहेको हतियार सहयोग, शाहेद ड्रोन प्रविधिको विकासमा रुसलाई इरानले गरेको सहयोग, पश्चिम एशियामा रहेका अमेरिकी सैन्य अखडामा हमला गर्न इरानलाई रुसले भू उपग्रहमार्फत् गोप्य सूचना दिएको घटना, इरानी ड्रोन हमलाको प्रतिरोध गर्न युक्रेनले खाडी मुलुकसँग अघि बढाएको साझेदारीजस्ता घटनाक्रमले द्वन्द्वको श्रृङ्खलामा एकै किसिमका कारकहरूले भूमिका खेलिरहेको देखिन्छ ।

तर, ताइवानमाथि सम्भावित चिनियाँ हमलाले तेस्रो विश्वयुद्धको बाटो खोल्ने प्याट्रिकको बुझाइ छ । तर, चीनले ताइवानमाथि तत्कालै हमला नगर्ने जिकिर गर्दै उनी भन्छन्, ‘हामी विश्वयुद्धमा पुग्ने बाटो यही हुन सक्छ, तर मलाई लाग्दैन कि चीनले वास्तवमै ताइवानमाथि हमला गर्नेछ । मलाई लाग्छ हामी अहिले यो बहुआयामिक युद्धको परिदृश्यमा छौँ, र हामी लामो समयसम्म यस्तै अवस्थामा रहनेछौँ ।’

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ७ : ३४ बजे

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक

हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ

हुम्ला – जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना