हारेका र पद छोडेका नेताहरूलाई पनि मनोनयन गर्न रविलाई दबाब « Khabarhub

हारेका र पद छोडेका नेताहरूलाई पनि मनोनयन गर्न रविलाई दबाब

मनोनयनबाट आउँदैछन् चर्चित नेताहरू



काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले भर्खरै महाधिवेशन सम्पन्न गरेको छ । पार्टी सभापति रवि लामिछानेले केन्द्रिय समिति र पदाधिकारी सचिवालयलाई पूर्णता दिन मा ५१ जना केन्द्रिय सदस्य र १० जना पदाधिकारी मनोनयन गर्न बाँकी छ । सभापति लामिछाने त्यही टुंग्याउन छलफलमा जुटेका छन् । रविले पहिले केन्द्रीय कमिटी विस्तार गर्ने त्यसपछि पदाधिकारी र सचिवालय विस्तार गर्दै जाने सहमहामन्त्री निशा डाँगी बताउँछिन् ।

‘केन्द्रीय सदस्य मनोनित नगरी कतिपय साथीहरूलाई पदाधिकारीमा तान्न नमिल्ने भएकाले पहिला केन्द्रिय सदस्य र त्यसपछि बल्ल पदाधिकारी र आवश्यक परेको खण्डमा सचिवालय बन्दै जाने अवस्था छ । सभापतिज्यूले यसमा कसरत गरिरहनु भएको छ,’ डाँगी भन्छिन्, ‘यही महिनाभित्रमा केन्द्रिय सदस्य, पदाधिकारी र केही सचिवालय सदस्य टुंग्याउने तयारीमा उहाँ हुनुहुन्छ ।’

रविसामु अहिले पहिलो महाधिवेशनमा पराजित भएका नेताहरू व्यवस्थापन गर्नुपर्ने चुनौती आइलागेको छ । पहिलो महाधिवेशनमा हारेका पदाधिकारी र केही केन्द्रीय सदस्यलाई समेत उनले पार्टीमा मनोनित गर्नुपर्नेछ । उनीहरुलाई केन्द्रीय सदस्य, सचिवालय सदस्य र पदाधिकारीमा मनोनित गर्नुपर्ने दबाब छ ।

पार्टी विधानमा पदाधिकारी अथवा केन्द्रीय सदस्यमा हारेको व्यक्तिलाई मनोनित गर्न नपाउने भनेर उल्लेख नगरेकाले रविले चाहेको खण्डमा जो कोहीलाई पनि मनोनित गर्न पाउनेछन् । पार्टीको महाधिवेशनमा सुरुमा केन्द्रिय समितिमा उठ्ने इच्छा राखेर पछि पार्टी नेतृत्वले सहमति गरेपछि पछि हटेका नेतादेखि पदाधिकारीमा हारेका नेतालाई समेत समेट्नुपर्ने दबाब रमिसामु छ । रविलाई निकटस्थ नेताहरुले पनि सचिवालय, केन्द्रिय सदस्य र पदाधिकारी मनोनित गर्दा हारेका केही नेताहरुलाई पनि छुटाउन नहुने र उम्मेदवारी फिर्ता लिएका नेतालाई समायोजन गराउन दबाब दिएका छन् ।

तोशीमा, मनिष, सागर, गणेस, जुली, रिमा र कामिनिलाई समेट्नुपर्ने माग

धेरै जना नेताले मनिष झा महामन्त्रीमा हारेपछि उनलाई पुनः पार्टीको प्रवक्तामा दोहोर्‍याउनुपर्ने आवाज उठाएका छन् । केही नेताले मनिषले पार्टी संकटमा पर्दा पनि प्रवक्ताको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेको र तार्किक क्षमता राखेको आधारमा उनैलाई प्रवक्ता दोहोर्‍याउनुपर्ने माग राखेका हुन् । तर पार्टी सभापति रविले आफूनिकट प्रमोद न्यौपानेलाई प्रवक्तामा अगाडि सार्ने तयारी गर्दा मनिषले यो जिम्मेवारी पाउने सम्भावना कम रहेको देखिन्छ ।

मनिषनिकट नेताका अनुसार मनिषले पनि प्रवक्तामा नदोहोरिने कुरा राखिसकेका छन् । हुन त महाधिवेशन सकिएको दिन १२ गते पनि मनिषले आफू केन्द्रीय सदस्य र सांसदको भूमिकाबाहेक अहिले पार्टीको कुनै तहमा नबस्ने घोषणा नै गरिसके । मनिषलाई नेताहरूले पार्टी सचिवालयमा समेत समेट्नुपर्ने आवाज उठाएका छन् । मधेशी समुदायबाट मनिषलाई पदाधिकारी अथवा सचिवालयमा नसमेटेको खण्डमा जुलीकुमारी यादवलाई समेट्नुपर्ने आवाज पनि छ ।

‘पार्टी स्थापना कालदेखि नै यो अवस्थासम्म ल्याउन मनिषजीले महत्वपूर्ण भूमिका खेल्नुभएको छ उहाँलाई समेट्नुपर्ने अवस्था छ,’ ती नेता भन्छन, ‘केन्द्रीय सदस्यमा जाँदिन भन्ने कुरा गर्नुभयो रे पार्टी प्रवक्ता पनि बस्दिन भन्या जस्तो संकेत देखिन्छ तर उहाँलाई कतै न कतै जोड्नुपर्छ ।’

सचिवालयका लागि कामिनी कुमारी चौधरीको नाम पनि आएको बताइएको छ । जुली र कामिनी निशा डाँगीसँग सहममन्त्री पदमा हारेका थिए । विगतमा सचिवालय सदस्य अस्वीकार गरेकी सांसद तोसिमा कार्कीलाई पनि सचिवालय सदस्य अथवा पदाधिकारीमा समेट्नुपर्ने माग छ ।

तोसिमालाई पदाधिकारीमा समेट्ने सम्भावना न्यून रहे पनि सचिवालय सदस्यमा भने उनी समेटिन सक्ने बताइन्छ । उनी पार्टीको पहिलो महाधिवेशनमा उपसभापति पदमा कानुनमन्त्री सोबिता गौतमसँग पराजित भएकी थिइन् । यस्तै, महामन्त्रीमा हारेका गणेश कार्की पनि सचिवालयमा आउने सम्भावना छ । उनी यसअघि पनि सचिवालय सदस्य गणेशको विषयमा भने समेट्ने किन समेट्ने भन्ने विषय अन्योल रहेको बताइन्छ । किनकि उनी संसदीय समितिको सभापति छन् ।

सचिवालय सदस्यमै समेट्नुपर्ने अर्को नाम कवीन्द्र बुर्लाकोटीको हो । उनी यसअघि महामन्त्री भएकाले पार्टी पदाधिकारीमा समेटिने सम्भावना छैन । त्यसकारण उनी सचिवालय सदस्य बन्ने बताइएको छ । कवीन्द्रलाई सभापति रविले प्रमुख सचेतक समेत बनाइसकेका छन् ।

यस्तै, सागर ढकाललाई पनि सचिवालय सदस्यमा समेट्नुपर्ने दबाब छ । यस अगाडि पनि सचिवालय सदस्य थिए । सचिवालय सदस्यमा समेट्नुपर्ने अर्को नाम रिमा विश्वकर्मा हो । उनको पनि सम्भावना ज्यादै रहेको पार्टी स्रोत बताउँछ । पार्टी सहमहामन्त्री हरि ढकाल महत्वपूर्ण जिम्मेवारी दिनुपर्ने व्यक्तिलाई हारेको भनेर अन्याय नगरिने बताउँछन् । उनी पार्टी सभापति रविले सबैलाई न्यायोचित हुने हिसाबले सचिवालय पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गर्ने विश्वास व्यक्त गर्छन् ।

पदाधिकारीको उम्मेदवारीबाट फिर्ता लिएका नेताको व्यवस्थापन गर्न पनि चुनौती

उपसभापतिको उम्मेदवारी दिएर डा. स्वर्णिम वाग्लेलाई समर्थन गरेका विराजभक्त श्रेष्ठलाई सहमहामन्त्री बनाउनुपर्ने आवाज उठिरहँदा उनी ऊर्जामन्त्रीको जिम्मेवारीमा रहेकाले सम्भावना न्यून छ । यस्तै फागुन २१ को निर्वाचनअगाडि विवेकशील साझाबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएकी रन्जु दर्शनालाई पनि पार्टीको सहप्रवक्ता या सहमहामन्त्रीको पद जिम्मेवारी दिने सम्भावना छ । उनी पदाधिकारीको जिम्मेवारीमा नआएको खण्डमा सचिवालय सदस्यमा भने रहनेछिन् ।

सुरुमा उपसभापतिको चर्चा भएर पछि महामन्त्री पदमा उम्मेदवारी दिएर पछि हटेका गणेश पराजुलीलाई पनि सचिवालयमा समेट्नुपर्ने छ । उनी संसदीय दलको उपनेता भएकाले अरु पदमा नगएर सचिवालय सदस्यमा रहने सम्भावना रहेको बताइन्छ । यस्तै महामन्त्रीमा उठ्ने भनेर उम्मेदवारी फिर्ता लिएका शिशिर खनाल पनि सचिवालय सदस्यमा समेटिने छन् । निवर्तमान कोषाध्यक्ष लिमा अधिकारी पनि पदाधिकारीमा समेटिने छिन् । लिमा यसअघि उपसभापतिको दाबेदार भनिएपनि धेरैजना महिलाहरू उपसभापतिमा उठ्ने भएपछि उनी चुप थिइन् ।

रविसामु उनलाई पदाधिकारीमा समेट्नुपर्ने दबाब पुगेको छ । किनभने उनले स्थापनाकालदेखि कोषाध्यक्षको भूमिका सफलतापूर्वक निर्वाह गरेको पार्टीको समीक्षा छ । लिमाले पार्टी सहममन्त्रीको जिम्मेवारी सम्हाल्ने पनि चर्चा भएको सुनिन्छ । यस्तै, उपसभापतिको उम्मेदवारीबाट पछि हटेकी इन्दिरा रानालाई पनि पदाधिकारीमा समेट्नुपर्ने आवाज उठेको छ ।

उनलाई सहकोषाध्यक्ष अथवा सहप्रवक्ताको जिम्मेवारी आउन सक्ने बुझिन्छ । २१ संस्थापन सदस्य रहेर २०७९ मा पार्टी खोल्दा सदस्य रहेकी बसुमाया तामाङलाई पनि सहकोषाध्यक्षको भूमिका आउने सम्भावना छ । उनी आदिवासी समुदायबाट समेटिने छिन् । सचिवालय सदस्य अथवा पदाधिकारीमै सुम्निमा उदासको पनि चर्चा देखिन्छ ।

उपसभापतिको उम्मेदवारी दिएर पछि हटेकी विवेकशील साझाकी पूर्वअध्यक्ष र निर्वाचनअघि पार्टीमा जोडिएकी समीक्षा बास्कोटालाई पनि पदाधिकारीमा समेट्नुपर्ने आवाज छ । तर उनी कानुन तथा न्याय संसदीय समितिको सभापति भएकाले सचिवालय सदस्यमा मात्रै मनोनित हुने सम्भावना छ । पदाधिकारीमा समेट्नुपर्ने नाम दीपक बोहराको पनि हो । तर उनलाई रविले समेट्छन् या सचिवालय सदस्य मात्रै राख्छन् भन्ने कुरा टुंगोमा पुगेको छैन ।

महामन्त्री पदमा उठेर उम्मेदवारी फिर्ता लिएका प्रमोद न्यौपाने प्रवक्ता बन्ने सम्भावना प्रबल देखिन्छ । धेरैले उनले प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने भएकैले रविले रोज्ने बताइरहेका छन् । पुरुषोत्तम यादवलाई पनि सहप्रवक्ता अथवा पदाधिकारी नभए सचिवालयको जिम्मेवारी दिनुपर्ने आवाज छ । उनी जेन-जी अभियन्ता हुन् । उनलाई पदाधिकारी बनाउन अमरेशकुमार सिंहले दबाब दिइरहेको बताइन्छ ।

सामान्य प्रशासन सहकारी तथा भूमिमन्त्री प्रतिभा रावल पनि सचिवालय सदस्यमा समेटिने छिन् । उनी यसअगाडि पार्टीको सहप्रवक्तामा थिइन् । उनलाई पार्टी सचिवालयमा ल्याउने सम्भावना न्यून देखिन्छ । तर रवि निकट नेता भएकाले उनको सम्भावनाका ढोकाहरु पूरै बन्द भने भएका छैनन् ।

पूर्वसञ्चारमन्त्री तथा पहिलो महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिएका जगदीश खरेल पनि सचिवालय सदस्यमा समेटिने सम्भावना छ । केन्द्रीय सदस्यको निर्वाचनमा हारेका प्रकाशचन्द्र परियारलाई पनि केन्द्रीय सदस्य बनाउने सम्भावना छ । पदाधिकारीमा समेटिने अर्को नाम लक्ष्मण थारुको हो । उनी थारु समुदायको सिङ्गो प्रतिनिधि पात्र भएकाले उनी पदाधिकारीमा समेटिने छन् । पदाधिकारीमा नसमेटेको अवस्थामा सचिवालय सदस्य पक्का रहेको देखिन्छ ।

मनोनित कोटाबाट पनि आउँदैछन् चर्चित नेता

सभापति रवि लामिछानेले अब एकजना उपसभापति मनोनित गर्न पाउनेछन् । उपसभापति पदमा अहिले सुनिल लम्सालको नाम देखिन्छ । सुनिला पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहले अगाडि बढाएका नेता हुन् । उनको नाममा कुनै नाटकीय परिवर्तन भएको खण्डमा समीक्षा बास्कोटा पनि उपसभापति बन्ने सम्भावना रहेको बताइन्छ । महामन्त्रीका लागि अहिले भूपदेव शाह एकल दाबेदार रहेको देखिन्छ ।

पार्टीको संसदीय भूमिकामा पनि नभएको कारण उनी महामन्त्रीको जिम्मेवारीमा बालेनले पठाउने विश्वास गरिन्छ । महामन्त्री पदमा दोहोरिने कुरा त सञ्चारकर्मीसँग यस अगाडि नै भूपदेवले गरिसकेका छन् । यस्तै, सुदीप ढकाललाई पनि सचिवालय सदस्यमा मनोनित गर्नुपर्ने कुरा उठेको छ । उपसभापति सुनिललाई नबनाएको खण्डमा सुदीप पदाधिकारीको कुनै एक ठाउँमा समेटिन्छन् भन्ने चर्चा छ । सुदीप प्रधानमन्त्रीको सचिवालयमा रहेकाले उनी महामन्त्री बन्ने सम्भावना कम रहँदा भूपदेव नै महामन्त्री बन्ने देखिन्छन् । तर कुनै नाटकीय परिवर्तन भए सुदीप महामन्त्री बन्ने सम्भावना पनि छ ।

सुनिल र भूपदेव मनोनित कोटाबाट केन्द्रीय सदस्य बनेर पदाधिकारीमा समेटिने छन् । सुदीपले भने केन्द्रीय सदस्यको निर्वाचन जितेका छन् । सचिवालय सदस्यमा आउनेहरूको नाम गृहमन्त्री सुदन गुरुङको हो । उनी पार्टी पदाधिकारीमा नसमेटिएको खण्डमा सचिवालय सदस्य बन्नेछन् । सुदनलाई सचिवालय सदस्य बनाउन रवि-बालेनबीच लगभग सहमति भइसकेको देखिन्छ ।

पार्टी महामन्त्री विपिनकुमार आचार्य पार्टीमा कसैलाई पनि अन्याय नहुने गरी स्थान दिइने बताउँछन् । उनी सभापतिलाई नै विश्वास गरेर पार्टी यो अवस्थासम्म आएकाले सभापतिले कानुन र विधिको अधिनमा रहेर गतिविधिहरु गर्ने बताउँछन् । ‘पक्कै पनि पदाधिकारी केन्द्रीय कमिटी सचिवालय सदस्य टुंग्याउने विषयमा सभापतिज्यू गम्भीर तरिकाले काम गरिरहनुभएको सूचना छ,’ आचार्यले भने, ‘विधानले नै सभापतिज्यूलाई अधिकार दिएको छ त्यसकारण पहिलो महाधिवेशन भएकाले सहभागितामूलक र एकतात्मक हिसाबले उहाँले समेट्नुहुन्छ । हारेका नेताहरुलाई पनि उहाँले अवसर पक्कै दिनुहुन्छ । किनभने धेरै जना साथीहरू समेट्नुपर्ने अवस्थामै हुनुहुन्छ ।’

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ४ : ४४ बजे

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी : एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता

काठमाडौं– वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू

सर्वोच्चका रजिस्ट्रार मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त सिफारिस

काठमाडौं- संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस

एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट

काठमाडौं– संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

काटिया ला मार- भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा