काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, संसद् र पार्टीभित्र तथ्य एवम् तर्कमा आधारित खुला संवादको आवश्यकता रहेको बताउँदै प्रधानमन्त्रीको उपस्थितिविना संसद्को औचित्यमाथि प्रश्न उठाएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई काठमाडौँको ऐतिहासिक खुलामञ्चमा सम्बोधन गर्दै सभापति थापाले ऐतिहासिक थलो खुलामञ्चको महत्त्व दर्शाउँदै पुराना जननेताहरू बिपी कोइराला, गिरिजाप्रसाद कोइराला र पूर्वसभापति शेरबहादुर देउवाको योगदानको स्मरण गरे।
सम्बोधनका क्रममा थापाले संसद्को वर्तमान कार्यशैलीप्रति कडा आक्रोश व्यक्त गरे। “हामीलाई पहिलो खुलामञ्च संसद्भित्र चाहिएको छ, तर संसद् आज खुला छैन, बन्दप्रायः छ,” उनले भने, “संसद्मा प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थिति नहुँदासम्म त्यो वास्तविक रूपमा खुला र जीवन्त हुन सक्दैन।”
सभापति थापाले एक पुस्ताले अर्को पुस्तासँग खुला रूपमा संवाद गर्न सक्ने वातावरण निर्माण हुनुपर्नेमा जोड दिए। उनले प्रतिक्रिया र प्रतिशोधको राजनीतिभन्दा माथि उठेर तथ्य र तर्कका आधारमा बहस गर्ने खुला थलो सिङ्गो देश र पार्टीभित्र आवश्यक रहेको बताए।
कांग्रेसको ऐतिहासिक यात्रा र राणाशासनविरोधी आन्दोलनको स्मरण गर्दै थापाले नेपालको इतिहास पढ्दा नेपाली कांग्रेसलाई छुटाउन नसकिने उल्लेख गरे। पार्टी निर्माण र लोकतान्त्रिक आन्दोलनमा त्याग गर्ने परिवार तथा सहिदहरूको स्मरण गर्दै उनले भने, “इतिहास गौरवशाली छ, तर इतिहासले हामीलाई शक्ति मात्र होइन, शिक्षा दिन्छ। कांग्रेसले इतिहासबाट सिक्नुपर्छ।”
विक्रम संवत् २००७ सालमा तत्कालीन समाज र समयको सबैभन्दा ठूलो प्रश्नको उत्तर बोकेर कांग्रेसको जन्म भएको स्मरण गराउँदै सभापति थापाले अबका दिनमा पनि नयाँ पुस्ताका नयाँ चुनौती र प्रश्नहरूको उत्तर दिन कांग्रेस सक्षम हुनुपर्ने स्पष्ट पारे।














प्रतिक्रिया