प्रधानमन्त्रीज्यू ! मौनता त्याग्नुस्, देश सून्न चाहन्छ « Khabarhub

प्रधानमन्त्रीज्यू ! मौनता त्याग्नुस्, देश सून्न चाहन्छ



प्रधानमन्त्री बालेन्द्र शाह देश तपाईँलाई सुन्न चाहन्छ । तपाईंका सामाजिक सञ्जालका पोष्टबाट होइन, मन्त्रीहरूका अभिव्यक्तिबाट होइन, सरकारका प्रवक्तामार्फत पनि होइन । देशले प्रधानमन्त्रीकै मुखबाट कुरा सुन्न चाहेको छ । तपाईँ के सोचिरहनुभएको छ ? सरकार कसरी अघि बढिरहेको छ ? देशलाई कुन दिशामा लैजान खोज्दै हुनुहुन्छ ? सरकारका प्राथमिकता के हुन् ? आगामी दिनका योजना के छन् ? जनताका यी प्रश्नको जवाफ तपाईँबाटै खोजिएको छ ।

अनि प्रधानमन्त्रीज्यू, किन यति धेरै मौनता ?
काठमाडौँ महानगरपालिकाको मेयर हुनु र देशको प्रधानमन्त्री हुनु पक्कै पनि फरक कुरा हुन् । प्रधानमन्त्रीका जिम्मेवारी धेरै ठूला हुन्छन्, निर्णयहरू जटिल हुन्छन् र चुनौतीहरू पनि उत्तिकै गम्भीर हुन्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा, अर्थतन्त्र, कूटनीति, सुरक्षा, सुशासन र विकास निर्माणजस्ता अनेक विषयमा प्रधानमन्त्रीले ध्यान दिनुपर्छ । तर एउटा कुरा भने उस्तै रहन्छ– जनताले आफूले चुनेको नेतृत्वसँग कुरा गर्न चाहन्छन् । प्रधानमन्त्री भएपछि त यो अपेक्षा झन् बढ्छ ।

जनताका मनमा थुप्रै प्रश्न छन् । कसैलाई सरकारका योजनाबारे जान्नु छ, कसैलाई पछिल्ला घटनाक्रमबारे स्पष्टता चाहिएको छ । कतिपय विषयमा अन्योल छ, कतिपय विषयमा जिज्ञासा । जनता हल्ला होइन, आधिकारिक धारणा सुन्न चाहन्छन् । अनुमान होइन, स्पष्ट जवाफ खोजिरहेका छन् । देशको नेतृत्व गरिरहेको व्यक्तिको  सोच, दृष्टिकोण र कार्ययोजना के हो  भन्ने जान्न चाहन्छन् ।

सबै समस्या एकैपटक समाधान गर्नुपर्छ भन्ने पनि होइन । तर जनतासँग संवाद गर्न त सकिन्छ नि !

तपाईँले हरेक प्रश्नको जवाफ तत्काल दिनैपर्छ भन्ने छैन । सबै समस्या एकैपटक समाधान गर्नुपर्छ भन्ने पनि होइन । तर जनतासँग संवाद गर्न त सकिन्छ नि ! आफ्नो धारणा राख्न, सरकारको प्राथमिकता बताउन र जनताका कुरा सुन्न के कुराले रोकिरहेको छ ?

तपाईँको राजनीतिक यात्रा नेपालको परम्परागत राजनीतिभन्दा केही फरक रह्यो । काठमाडौँ महानगरपालिकाको नेतृत्वबाट राष्ट्रिय राजनीतिमा प्रवेश गर्दै प्रधानमन्त्रीको जिम्मेवारीसम्म पुग्नुभएको छ । तपाईँको कार्यशैली, अभिव्यक्ति र केही फरक गर्ने प्रतिबद्धताले धेरैको ध्यान तानेको छ । पुरानो राजनीतिक अभ्यासप्रतिको असन्तुष्टि र परिवर्तनको अपेक्षाबीच तपाईँप्रति ठूलो भरोसा व्यक्त गरिएको छ । त्यसैले पनि तपाईँको बोली मात्र होइन, मौनता पनि चर्चाको विषय बन्न थालेको छ ।

तपाईँले अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालको प्रतिनिधित्व गरिसक्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा गर्नुभएको सम्बोधन स्मरणीय छ । विशेषगरी भगवान् गौतम बुद्धको शान्ति र करुणाको सन्देश समेट्दै सम्बोधनको अन्त्य गर्नुभएको शैलीले धेरैको ध्यान खिचेको थियो । नेपालको पहिचान, बुद्धको जन्मभूमिको गौरव र विश्वशान्तिको सन्देशलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नु प्रशंसनीय कुरा हो ।  त्यहाँ तपाईँले देशको प्रतिनिधिका रूपमा आफ्ना विचार राख्नुभयो । अब त्यही स्पष्टता, आत्मविश्वास र अभिव्यक्तिको शैली आफ्नै देशका जनतासामु पनि देखिएको हेर्न चाहन्छौँ । अन्तर्राष्ट्रिय समुदायले तपाईंको कुरा सुन्योे, अब नेपाली जनताले पनि तपाईंलाई नियमित रूपमा सुन्न पाउनुपर्छ ।

सरकारको मौनताले खाली ठाउँ छोड्छ । त्यो ठाउँमा अनेक अनुमान, अपुष्ट सूचना र अफवाहले प्रवेश पाउँछन् । प्रधानमन्त्री नबोल्दा अरूले उहाँको धारणा व्याख्या गर्न थाल्छन् ।

​​​​​​​सरकार सञ्चालन सामाजिक सञ्जाल चलाएजस्तो सजिलो काम होइन । बैठकहरू हुन्छन्, फाइलहरू हेर्नुपर्छ, निर्णय गर्नुपर्छ र अनेक चुनौतीको सामना गर्नुपर्छ होला । देशका नाममा सपथ खाएकाहरूले सबै कुरा सार्वजनिक गर्न पनि मिल्दैन होला । कतिपय विषय राष्ट्रिय सुरक्षा, कूटनीतिक संवेदनशीलता र सरकारी गोपनीयतासँग जोडिएका हुन्छन् होला । तर संवेदनशील सरकारी विषय गोप्य राख्नु र जनतासँग संवाद नै नगर्नु एउटै कुरा होइन ।

सरकारको मौनताले खाली ठाउँ छोड्छ । त्यो ठाउँमा अनेक अनुमान, अपुष्ट सूचना र अफवाहले प्रवेश पाउँछन् । प्रधानमन्त्री नबोल्दा अरूले उहाँको धारणा व्याख्या गर्न थाल्छन् ।  मन्त्रीका अभिव्यक्ति, नेताका टिप्पणी र सामाजिक सञ्जालका अड्कलबाजीले सरकारी दृष्टिकोणको स्थान लिन थाल्छन् ।  यसले अन्योल मात्र बढाउँदैन, सरकारप्रतिको विश्वासमा पनि असर पार्न सक्छ । त्यसैले समयमै आउने आधिकारिक अभिव्यक्ति केवल सूचना होइन, जिम्मेवार शासनको एउटा महत्वपूर्ण आधार हो ।

जनताले चमत्कारको अपेक्षा गरेका छैनन्, कम्तीमा आफ्नो सरकार के गर्दैछ भत्रे जान्न पाउने अपेक्षा गरेका छन् ।

कुनै विषयमा भ्रम छ भने स्पष्ट पारिदिनुस् । कुनै निर्णयबारे अन्योल छ भने त्यसको कारण बताइदिनुस् । सरकारको कुनै काममा कमजोरी भएको छ भने त्यसलाई स्वीकार गर्नुस् ।  समाधानका लागि समय लाग्ने विषय छन् भने त्यो पनि जनतालाई भन्नुस् । सबै कुरा मिलिसकेपछि मात्र बोल्नुपर्छ भन्ने छैन ।  कहिलेकाहीँ इमानदार जवाफले नै धेरै अन्योल हटाउन सक्छ । जनताले चमत्कारको अपेक्षा गरेका छैनन्, कम्तीमा आफ्नो सरकार के गर्दैछ भत्रे जान्न पाउने अपेक्षा गरेका छन् ।

सञ्चारमाध्यमसँग किन टाढा ?
पत्रकारहरू सरकारका तयार पारिएका वक्तव्य पढ्न मात्र बसेका हुँदैनन् । उनीहरूको काम प्रश्न सोध्नु हो । कहिलेकाहीँ असहज प्रश्न पनि सोधिन्छन् । कतिपय प्रश्न आलोचनात्मक हुन सक्छन्, कतिपय प्रश्न सरकारलाई मन नपर्न सक्छन् । तर त्यस्ता प्रश्नबाट भाग्ने होइन, जवाफ दिने हो ।  यही त लोकतन्त्रको सुन्दर पक्ष हो ।

प्रधानमन्त्रीज्यू, नियमित पत्रकार सम्मेलन गर्न के समस्या छ ? पत्रकारहरूसँग खुलेर संवाद गर्दा के घाटा होला ? अर्थतन्त्र, रोजगारी, वैदेशिक रोजगारी, विकास निर्माण, सुशासन, भ्रष्टाचार नियन्त्रण र सरकारका प्राथमिकताबारे प्रश्न सोध्न दिनुस् । सबै प्रश्नको जवाफ तपाईँसँग नहुन सक्छ, तर जवाफ दिने प्रयास त गर्न सकिन्छ । कुनै विषयमा अध्ययन भइरहेको छ भने त्यसबारे जानकारी दिन सकिन्छ । कुनै निर्णय हुन बाँकी छ भने त्यसको प्रक्रिया बताउन सकिन्छ । जवाफ नहुनु र जवाफ दिन नचाहनु फरक कुरा हुन् ।

आलोचनाले सरकारलाई कमजोर बनाउँदैन, बरु कमजोरी सच्याउने अवसर दिन्छ ।

तपाईँलाई सबै प्रश्न मन पर्नुपर्छ भन्ने छैन । सबै समाचार र टिप्पणीसँग सहमत हुनुपर्छ भन्ने पनि छैन । तर आलोचना र प्रश्नलाई लोकतन्त्रकै एउटा हिस्साका रूपमा स्वीकार गर्नुपर्छ । आलोचनाले सरकारलाई कमजोर बनाउँदैन, बरु कमजोरी सच्याउने अवसर दिन्छ । प्रश्न गर्ने पत्रकार, असहमति राख्ने नागरिक र सरकारको काममाथि निगरानी गर्ने नागरिक समाज लोकतन्त्रका प्रतिस्पर्धी होइनन्, सहयोगी हुन् ।

अझ झापा–५ का मतदातालाई त तपाईँसँग धेरै कुरा सोध्नु छ । उनीहरूले तपाईँलाई प्रतिनिधिसभामा पठाएका हुन् ।  उनीहरू पनि आफ्नो प्रधानमन्त्रीको सोच, योजना र प्राथमिकता जान्न चाहन्छन् ।  आफ्नो क्षेत्रका लागि तपाईँको योजना के छ ? राष्ट्रिय जिम्मेवारीसँगै निर्वाचन क्षेत्रका जनताको अपेक्षालाई कसरी सम्बोधन गर्नुहुन्छ ? आफूले विश्वास गरेर चुनेको नेताले अहिले के सोचिरहेको छ ? यी सामान्य र स्वाभाविक प्रश्न हुन् ।

तपाईँ काम गरेर देखाउन चाहनुहुन्छ होला । काम नै बोल्नुपर्छ भन्ने सोच पनि हुन सक्छ । तर कामले बोल्नका लागि पनि त्यसको जानकारी जनतासम्म पुग्नुपर्छ । जनतालाई परिणाम मात्र होइन, त्यसको उद्देश्य र प्रक्रियाबारे पनि जानकारी चाहिन्छ । उनीहरू सरकार कहाँ पुग्यो भनेर मात्र होइन, कहाँ पुग्न खोज्दै छ भनेर पनि जान्न चाहन्छन् । विकासको लक्ष्य के हो ? रोजगारी सिर्जना कसरी हुन्छ ? युवालाई देशमै भविष्य देखाउने वातावरण कसरी बनाइन्छ ? भ्रष्टाचार नियन्त्रणका लागि के कदम चालिँदै छन् ? अर्थतन्त्रलाई चलायमान बनाउने योजना के छ ? यस्ता विषयमा प्रधानमन्त्रीको स्पष्ट दृष्टिकोण सुन्न पाउनु जनताको अधिकार हो ।

प्रधानमन्त्रीले बोल्ने मात्र होइन, सुन्ने संस्कार पनि विकास गर्नुपर्छ । नागरिकका गुनासा, सुझाव र असन्तुष्टिलाई सुन्ने ठाउँ बनाउनु पनि नेतृत्वकै जिम्मेवारी हो ।

​​​​​​​प्रधानमन्त्रीले कुनै घोषणा गर्नुपर्ने बेला मात्र बोल्ने होइन । जनतासँगको संवाद निरन्तर हुनुपर्छ । सामाजिक सञ्जालमा छोटो सन्देश लेख्नु र पत्रकारहरूसँग बसेर प्रश्नको जवाफ दिनु फरक कुरा हुन् ।  जनतालाई एकतर्फी सूचना होइन, दोहोरो संवाद चाहिएको छ । प्रधानमन्त्रीले बोल्ने मात्र होइन, सुन्ने संस्कार पनि विकास गर्नुपर्छ । नागरिकका गुनासा, सुझाव र असन्तुष्टिलाई सुन्ने ठाउँ बनाउनु पनि नेतृत्वकै जिम्मेवारी हो ।

प्रधानमन्त्रीज्यू, मौनता कहिलेकाहीँ रणनीति हुन सक्छ, तर निरन्तरको मौनता नेतृत्वको विकल्प बन्न सक्दैन ।  सरकारको कामको मूल्याङ्कन घोषणाले होइन, परिणामले हुन्छ । तर परिणाम हासिल गर्ने यात्रामा जनताको विश्वास र सहभागिता पनि उत्तिकै आवश्यक हुन्छ । त्यस्तो विश्वास संवादबाटै निर्माण हुन्छ ।

तपाईँले नयाँ राजनीतिक अभ्यासको अपेक्षा जगाउनु भएको छ । त्यसैले पुरानै शैलीको दूरी र अपारदर्शितालाई निरन्तरता दिनु  हुँदैन । जनताले नयाँ नेतृत्वबाट नयाँ काम मात्र होइन, नयाँ राजनीतिक संस्कार पनि खोजेका छन् ।  त्यो संस्कारको सुरुवात प्रधानमन्त्री स्वयंले गर्नुपर्छ ।

प्रधानमन्त्रीको कुर्सीमा बस्ने व्यक्तिको आवाज केवल एउटा व्यक्तिको आवाज हुँदैन, त्यो देशको नेतृत्वको आवाज हो ।

अब बोल्नुस् प्रधानमन्त्रीज्यू ! नियमित रूपमा बोल्नुस् । जनतासँग संवाद गर्नुस् । पत्रकारका प्रश्नको सामना गर्नुस् । सरकारका उपलब्धि मात्र होइन, कमजोरी पनि सुनाउनुस् । सपना मात्र होइन, चुनौती पनि बताउनुस् । जनतालाई आश्वासन होइन, स्पष्ट योजना र जवाफदेहिताको अनुभूति गराउनुस् ।

किनकि प्रधानमन्त्रीको कुर्सीमा बस्ने व्यक्तिको आवाज केवल एउटा व्यक्तिको आवाज हुँदैन, त्यो देशको नेतृत्वको आवाज हो ।  देशलाई तपाईँको मौनता होइन, दृष्टिकोण चाहिएको छ । देशलाई तपाईँको उपस्थिति मात्र होइन, सक्रिय संवाद चाहिएको छ ।

प्रधानमन्त्री बालेन, जनता तपाईँको काम हेरिरहेका छन् ।  तर अब तपाईँका कुरा पनि सुन्न चाहन्छन् । देश तपाईँलाई सुन्न चाहन्छ । अब बोल्नुस् !

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ८ : २८ बजे

स्थानीय तहद्वारा जग्गा वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको अधिकांश स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा स्थानीय नागरिक

भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

काठमाडौँ– भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि आज

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

चितवन- प्रहरीले ६ लाख बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई

शिवपुरी निकुञ्जमा थरीथरीका पुतली (तस्बिर)

काठमाडौँ– काठमाडौँसहित चार जिल्लामा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा थरीथरीका

कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष