काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पुराना विदेशी लगानीको अभिलेखीकरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।
बाह्रौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले २०४६ सालको आर्थिक उदारीकरणपछि नेपालमा भित्रिएका विदेशी लगानीको अभिलेखीकरण नहुँदा लगानीकर्ताले विभिन्न समस्या भोग्नुपरेको बताए ।
विशेषगरी पुराना भारतीय लगानीको अभिलेखीकरण नहुँदा व्यवसाय विस्तार गर्न, थप पुँजी भित्र्याउन, लगानीको प्रतिफल लैजान र व्यवसायबाट बाहिरिनसमेत कठिनाइ भइरहेको उनको भनाइ छ ।
उनले उद्योग प्रवर्द्धन बोर्डमार्फत एकपटकका लागि पुराना विदेशी लगानीको अभिलेखीकरण गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे । यसले नेपालमा लगानी गरिरहेका विदेशी लगानीकर्तामा सकारात्मक सन्देश जाने र थप वैदेशिक लगानी आकर्षित गर्न सहयोग पुग्ने उनले बताए ।
ढकालले वर्तमान सरकारले निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति पारित गर्नु सकारात्मक भएको उल्लेख गर्दै निजी क्षेत्रलाई अर्थतन्त्रको वास्तविक संवाहकका रूपमा स्वीकार गरेको बताए ।
निजी क्षेत्र रोजगारी सिर्जना, राजस्व सङ्कलन र पूर्वाधार निर्माणको मुख्य आधार भएको उनको भनाइ थियो । पूर्वाधार सम्मेलनको तयारीका क्रममा ५९ भन्दा बढी कानुन संशोधन गर्ने सरकारको कदमको प्रशंसा गर्दै उनले त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।














प्रतिक्रिया