एजेन्सी- उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी तटबाट समुद्रतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। दक्षिण कोरियाली सेनाका अनुसार प्योङयाङले पछिल्लो समय लगातार हतियार परीक्षण गरिरहेका बेला नयाँ क्षेप्यास्त्र प्रक्षेपण गरेको हो।
अमेरिकासँग सम्भावित कूटनीतिक संवाद र उत्तर कोरियाली ह्याकरमाथि लागेका साइबर आक्रमणका आरोपबीच भएको पछिल्लो परीक्षणलाई महत्त्वका साथ हेरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग संवाद पुनः सुरु गर्ने इच्छा व्यक्त गरेका छन्। यसै सन्दर्भमा प्योङयाङले अमेरिकासँगको सम्भावित वार्तामा आफ्नो प्रभाव बढाउन हतियार परीक्षणलाई निरन्तरता दिएको विश्लेषण गरिएको छ।
यसैबीच, उत्तर कोरियाले विश्वकै ठूलो क्रिप्टोकरेन्सी विनिमय मञ्च बाइनान्समा छ अर्ब अमेरिकी डलरभन्दा बढी रकम चोरी गरेको अमेरिकी आरोप अस्वीकार गरेको छ। अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले उक्त साइबर आक्रमणमा उत्तर कोरियाली ह्याकर संलग्न रहेको आरोप लगाएको छ।
एफबीआईले यस घटनालाई गत वर्ष बाइबिटबाट एक अर्ब ५० करोड अमेरिकी डलर चोरी गरेको आरोप लागेको ‘ट्रेडरट्रेटर’ समूहसँग जोडेको छ। उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकी आरोपलाई वासिङ्टनको शत्रुतापूर्ण नीतिको निरन्तरताका रूपमा आलोचना गरेका छन् । उनले त्यस्तो व्यवहार गर्ने पक्षसँग वार्ता गर्नु आवश्यक नरहेको र संवादबाट राष्ट्रिय हित पूरा नहुने धारणा व्यक्त गरे।
उत्तर कोरियाले पछिल्लो समय ब्यालेस्टिक तथा हाइपरसोनिक क्षेप्यास्त्र, आक्रमणकारी ड्रोन र क्लस्टर बमलगायत हतियारको परीक्षण गर्दै आएको छ। मङ्गलबार परीक्षण गरिएको नयाँ क्लस्टर वारहेडले पाँचदेखि छ हेक्टर क्षेत्रफलमा क्षति पुर्याउन सक्ने प्योङयाङले दाबी गरेको छ।
यसैबीच, दुई कोरियाबीचको सैन्य तनावसमेत बढेको छ। गत सेप्टेम्बरमा सीमाक्षेत्रमा बारुदी सुरुङ विस्फोट हुँदा दक्षिण कोरियाका तीन सैनिक घाइते भएका थिए। सियोलले उत्तर कोरियाले सैन्य सीमाङ्कन रेखाको दक्षिणतर्फ सुरुङ बिछ्याएको आरोप लगाउँदै त्यसका लागि माफी माग्नुपर्ने बताएको छ।
तर प्योङयाङले उक्त घटनाको जिम्मेवारी अस्वीकार गर्दै प्रतिकारको चेतावनी दिएको छ। उसले सीमाक्षेत्रमा प्रचारात्मक लाउडस्पीकर प्रसारण पुनः सुरु गर्ने तथा नयाँ हतियार तैनाथ गर्ने धम्कीसहित दक्षिण कोरियाप्रति आफ्नो कडा अडान दोहोर्याएको छ।














प्रतिक्रिया