‘३० वर्षपछि सगरमाथामा हिउँ नै नदेखिने हो कि ?’ « Khabarhub

‘३० वर्षपछि सगरमाथामा हिउँ नै नदेखिने हो कि ?’



मैले सन् २००८ र सन् २०१८ मा खिचेका सगरमाथा क्षेत्रका दृश्यलाई तुलना गर्छु । पहिले पनि म हिमालतिर जान्थेँ । सन् २००८ मा हिउँ पुरै आइसको थुप्रोजस्तो देखिन्थ्यो र हिँड्न सजिलो थियो । तर सन् २०१८ मा हेर्दा स्थितिमा धेरै भिन्नता आइसकेको छ । त्यहाँ अहिले सबै ग्लेशियर पग्लिसकेको छ ।

म क्याम्प वान र क्याम्प टु जाँदाका अनुभवहरू पनि फरक छन् । क्याम्प थ्री र क्याम्प फोरतिर त झन् ठूलो परिवर्तन आएको छ । पहिले त्यहाँ बाक्लो हिउँ हुन्थ्यो र टेन्ट राख्न तथा हिँड्न धेरै सहज हुन्थ्यो । अहिले भने त्यहाँ हिउँ नै छैन, पूरै ढुङ्गामात्रै छ। बाटोमा हिउँ नभएर काँचो ढुङ्गा मात्रै हुँदा चिप्लिने र लड्ने खतरा धेरै बढेको छ । क्लाइम्बिङ गर्न पनि अहिले निकै गाह्रो भइसकेको छ । यो सोसोलुम्बु क्षेत्रको समग्र रेञ्जमा नै धेरै परिवर्तन आइसकेको देखिन्छ ।

म धेरै पढेलेखेको त छैन, एउटा शेर्पाको छोरो हुँ र मेरो गाउँ सोसोलुम्बुको जुनबेसी हो । म हिमालको बारेमा अलिअलि अनुभवका आधारमा कुरा गर्दैछु । सगरमाथाको मात्रै कुरा गर्दा, अघि गोरखा वा अन्य क्षेत्रका कुरा पनि आए, तर खुम्बु क्षेत्रको कुरा गर्न छुटाउनु हुँदैन । थामेबाट सुरु भएर रसुवा र गोरखासम्मका कुरा आए जस्तै खुम्बु क्षेत्रमा ग्लेशियरहरू धेरै पग्लिसकेका छन् । म सानोमा २२ वर्षको उमेरमा बाबुलाई खोज्न जाँदा हिमाल पुग्न आधा घण्टा लाग्थ्यो, तर अहिले त्यो दुरी निकै टाढा भइसकेको छ र हिउँ पग्लिएर पोखरी जस्तो बनिसकेको छ ।

यसको नापजाँच कसले गर्ने त ? हामी घटनास्थलमा मान्छे मिसिङ भइसकेपछि वा दुर्घटना भएपछि मात्रै मिटिङ बसेर प्रतिक्रिया जनाउने गर्छौं । हामीले पछि प्रतिक्रिया दिनुभन्दा पहिले नै अनुसन्धान र रेकी गर्नुपर्छ । गाउँपालिका लगायतका स्थानीय निकायसँग समन्वय गरेर स्थानीय मानिसहरूलाई जोखिमका बारेमा जानकारी र क्लास दिनुपर्छ । मैले बुझे अनुसार यो फिल्मको ट्रेलर जस्तो मात्रै हो, जुन सोलुम्बु, गोरखा र खुम्बु थामेमा आएको अवस्था देखाउन खोजिएको हो ।

मेरो आफ्नै हिमाल आरोहणको कुरा गर्ने हो भने, सन् २०२१ मेरो अन्तिम क्लाइम्बिङ थियो । मैले १७ पटक सगरमाथा सफल आरोहण गरेको छु । सगरमाथा बाहेक मकालु, चोयु र शिशापाङ्गा हिमाल पनि चढेको छु । हरेक हिमालमा हिजोआज धेरै परिवर्तन आएको छ । सगरमाथाको कुरा गर्ने हो भने, अबको ३० वर्षपछि हामीले सगरमाथामा हिउँ नै देख्न नपर्ने हो कि भन्ने चिन्ता लाग्छ । खुम्बु आइसफल लगातार सर्दै गएको छ ।

यसको संरक्षण कसरी गर्ने तरु सरकारले वर्षको तीन–चार पटक, विशेष गरी समर र स्प्रिङ सिजनमा मान्छे पठाएर आइसको नापजाँच गराउनुपर्छ । हिउँ पग्लेर बनेका पोखरीहरूको गहिराई र ग्लेशियरहरूको आयतन कति बढेको छ भनेर नियमति रेकर्ड राख्नुपर्छ । अप्रिलमा जाँदा हिउँ पाइन्छ भने मे महिनामा ठूला खोलाहरू बगेर आउँछन्, जुन प्राकृतिक मात्र नभई कृत्रिम जस्तै देखिन्छन् ।

ती पानीहरू बगेर फेरि ग्लेशियरमै पुग्छन् र बेसक्याम्पमा ठूला–ठूला पोखरीहरू बन्छन् । तापक्रम बढ्दै जाँदा ती पोखरीहरू झन् ठूला हुन्छन् र पानीको भार थेग्न नसकेर फुट्छन् । खुम्बु क्षेत्रमा यस्ता पोखरी फुटेर ठूलो विपत्ति आउने खतरा छ, जुन अरू ठाउँको भन्दा धेरै डेन्जर छ ।

त्यसैले मेरो सानो सुझाव के हो भने, हामीले बेलैमा रेकी गर्नुपर्छ, अनुसन्धान बढाउनुपर्छ र जोखिमपूर्ण ठाउँका बस्तीहरूलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउनुपर्छ। अज्ञानताका कारण मानिसहरूको ज्यान जाने अवस्था आउन दिनु हुँदैन । खुम्बु क्षेत्रमा त यस्तो विपत्ति आयो भने हजारौँ मानिसको ज्यान जान सक्छ । त्यहाँ बत्ती, हाइअल्टिच्युड र अन्य आधारभूत आवश्यकताका कुराहरू पनि जोडिएका छन् । यी सबै कुराहरूको दीर्घकालीन योजना नेपाल सरकारले नै अघि सार्नुपर्छ । मैले जानेको र बुझेको कुरा यति नै हो ।

(राजधानीको दरबारमार्गमा इन्स्टिच्युट अफ स्टाटेजिक स्टडिज एण्ड सोसियो इकोनोमिक रिसर्च आईएसएसआर र खबरहबले सोमबार ‘जलावायु पीडितदेखि जलवायु नेतृत्वसम्म’ विषयक अन्तरक्रिया कार्यक्रममा सगरमाथा आरोही जाङ्बु शेर्पाले राखेको मन्तव्यको सम्पादित संक्षिप्त अंश)

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ३ : ३७ बजे

१६ वर्षपछि अघि बढ्यो भरतपुरको ल्यान्डफिल साइट निर्माण प्रक्रिया

नारायणगढ– ढिलै भए पनि अन्ततः भरतपुर महानगरपालिकाको ल्यान्डफिल साइट निर्माण

गृह मन्त्रालय पुगे नवनियुक्त आईजीपी केसी, आजै पदभार ग्रहण गर्ने

काठमाडौं– नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसी गृह

मन्त्रिपरिषद्बाट निर्णय भए मात्रै बजेटबारे छलफल गर्ने कांग्रेसको अडान

धनगढी- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेश सरकारका अत्यावश्यक तथा

नेपाल र भारतबीच बहुआयामिक साझेदारी थप सुदृढ बनाउन परराष्ट्र सचिवस्तरीय छलफल

काठमाडौँ – नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय द्विपक्षीय वार्ता बुधबार

टोखामा पशु वधशाला तथा मासु जाँच ऐन-२०५५ कार्यान्वयन

काठमाडौँ– टोखा नगरपालिकाले पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ लाई