काठमाडौं– नेपाली कांग्रेसले पार्टीको वैधानिकताका सवालमा जस्तोसुकै छानबिनका लागि तयार रहेको स्पष्ट पारेको छ ।
बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले पार्टीको वैधानिकताका सवालमा पार्टी र नेतृत्व विरुद्ध लगाइएका आरोप, अडियो बयान र प्रचारहरू निराधार, कपोलकल्पित र नियोजित रहेको भन्दै जस्तोसुकै छानबिनका लागि तयार रहेको स्पष्ट पारेको हो ।
यस्ता षडयन्त्रका पछाडिको उद्देश्य, बदनियत र संलग्न पात्रहरू समयक्रममा थप उजागर हुँदै जाने कांग्रेस वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बताए ।
पार्टीका बारेमा उठेका प्रश्नको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्न माग गरिएको उनले बताए ।
त्यस्तै कांग्रेसले इनम सापकोटा प्रकरण लगायत सबै घटना र राज्य संयन्त्रलाई दुरुपयोग गरी अनधिकृत एवं गैरकानुनी कार्य गर्नेमाथी स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धानका लागि माग गरेको छ ।
बरिष्ठ उपसभापति शर्माले सरकारको अपारदर्शी निर्णय, पत्रकारमाथि धरपकड र संवैधानिक निकायमाथिको नियन्त्रणले सरकारको अलोकतान्त्रिक चरित्र उजागर गरेको बताए ।
पार्टीलाई बदनाम गर्ने सुनियोजित प्रयास, प्रेस नियन्त्रण र राज्यका निकायमाथिको हस्तक्षेपविरुद्ध कांग्रेस राजनीतिक र कानुनी दुवै ढङ्गले सशक्त रूपमा उभिने उनले उल्लेख गरे ।
साथै कांग्रेसले अतः राज्य–नियन्त्रित अफवाह फैलाएर भय र भ्रम सिर्जना गरी सत्ता चलाउने धन्दा बन्द गरी जनताका मूल मुद्दामा तत्काल केन्द्रित हुन सरकारलाई आग्रह गरेको छ ।
‘प्रतिपक्षीय निगरानी’ मार्फत सरकारका गलत क्रियाकलापमा प्रश्न गर्दा अत्तालिएको सरकार संरक्षित गिरोहले आफ्नो गल्ती ढाकछोप र विषयान्तर गर्न बुनेका षड्यन्त्रमा नपर्न कांग्रेसले पार्टी पङ्क्तिलाई अपिल समेत गरेको छ ।














प्रतिक्रिया