म्याग्दी – म्याग्दीको बेनीमा चौथो बौद्ध कप खुला फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
बौद्ध युवा क्लबको आयोजनामा बेनीस्थित खुलामञ्च खेलमैदानमा सुरु भएको प्रतियोगिता पाँच दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबसहित १४ टोली सहभागी छन् ।
प्रतियोगिताको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले उद्घाटन गरेका हुन् । उद्घाटन खेलमा आयोजक बौद्ध युवा क्लबको सेतो समूहलाई सेभेन स्टार युवा क्लब, आनन्दबगरले पेनाल्टी सुटआउटमा ६–५ गोलले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
बौद्ध युवा क्लबका अध्यक्ष दुर्गा बुढामगरका अनुसार बिहीबारको पहिलो खेल नेपाल पुलिस क्लब र मनसुन युवा क्लबबीच हुनेछ ।
प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टोलीलाई ५५ हजार ५५५ रुपैयाँ प्रदान गरिनेछ ।
त्यस्तै, अनुशासित टोलीलाई २२ हजार २२२ रुपैयाँ पुरस्कार दिइनेछ । उत्कृष्ट खेलाडी, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ७ हजार ७७७ रुपैयाँ प्रदान गरिने क्लबका सचिव श्यामसुन्दर कँडेलले जानकारी दिए ।
प्रतियोगिता सञ्चालनमा १६ लाख ५७ हजार ७७२ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता हेर्न दर्शकले ५० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ ।
अध्यक्ष बुढामगरका अनुसार प्रवेश शुल्कबाट सङ्कलित रकमको ४० प्रतिशत असोज दोस्रो साताको बाढीपहिरोबाट प्रभावितलाई राहतस्वरूप प्रदान गरिनेछ । प्रतियोगिताबाट बचत भएको रकम क्लबको कार्यालय भवन निर्माण तथा कोष स्थापनामा खर्च गर्ने लक्ष्य राखिएको छ ।














प्रतिक्रिया