हिउँ र लेक लाग्ने डरबीच हिमाली जिल्लामा चुनावको तयारी « Khabarhub

हिउँ र लेक लाग्ने डरबीच हिमाली जिल्लामा चुनावको तयारी

हिमाली क्षेत्रमा निर्वाचन चुनौती: चिसोले मतदाता र कर्मचारी दुवैलाई सास्ती


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर अन्तिम तयारी भइरहेको छ । निर्वाचन आयोगले मतदान केन्द्रसम्म निर्वाचन सामग्री ढुवानीदेखि आकस्मिक स्वास्थ्य व्यवस्थापनसम्मका कामलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकाय र स्थानीय तहलाई आवश्यक निर्देशन दिइसकेको छ ।

मतदानका दिन हुनसक्ने आकस्मिक स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली परिचालन, अत्यावश्यक औषधी तथा प्राथमिक उपचार सामग्रीको व्यवस्था गर्न आयोगले पहल अघि बढाएको छ ।

व्यवस्थापनकै दृष्टिले जटिल मानिएका देशभरका हिमाली जिल्लामा मतदानको तयारी केही ठाउँमा चुनौतीपूर्ण बनेको छ । हिमपात, अवरुद्ध सडक तथा प्रतिकूल मौसमका बाबजुद पनि निर्वाचन सामग्री ढुवानी र कर्मचारी परिचालनको काम सकिएको छ । कतिपय दुर्गम स्थानमा हेलिकोप्टरमार्फत सामग्री पुर्‍याइसकिएको छ ।

जाडो छल्न बाहिरिएका अधिकांश मतदाता अझै गाउँ नफर्किएकाले ती क्षेत्रमा अत्यन्त न्यून मतदान हुने अनुमान गरिएको छ । हिमाली बस्तीमा मतदाता सङ्ख्या पहिलेदेखि नै सीमित रहेकामा मौसमी बसाइँसराइका कारण मतदान प्रतिशत झन् घट्ने स्थानीयको अनुमान छ ।

स्थानीयका अनुसार हालको चिसो मौसम स्वास्थ्यका दृष्टिले पनि अनुकूल छैन । बाहिरबाट खटिने निर्वाचन कर्मचारी, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीका लागि उच्च हिमाली क्षेत्रको कठोर मौसम चुनौतीपूर्ण हुने उनीहरूको भनाइ छ । यसका साथै, चिसोका कारण श्वासप्रश्वास तथा अन्य स्वास्थ्य समस्या बढ्ने सम्भावना रहेको भन्दै आवश्यक पूर्वतयारी अझ सुदृढ हुनुपर्ने सुझावसमेत दिइएको छ ।

हिमाली क्षेत्रका स्थानीयवासीले अहिलेको समय निर्वाचनका लागि अनुकूल नरहेको बताउँदै आएका छन् । मौसम, यातायात र मतदाता उपस्थिति जस्ता पक्षलाई मध्यनजर गर्दै भविष्यमा निर्वाचन तालिका निर्धारण गर्दा भौगोलिक यथार्थलाई ध्यान दिनुपर्ने उनीहरूको माग छ । यसबीच आयोगले भने प्रतिकूल परिस्थितिका बाबजुद पनि सबै क्षेत्रमा संविधानअनुसार मतदान सम्पन्न गराउने प्रतिबद्धता दोहोर्‍याएको छ ।

कुन जिल्लामा कस्तो छ तयारी ?
मुस्ताङका सबै मतदान केन्द्र सडक पहुँचमा पुगे पनि मतदाता न्यून छन् । मुस्ताङमा जम्मा मतदाता सङ्ख्या ११ हजार ३ सय २८ हो । तर, चिसोका कारण यहाँका मतदाताहरू प्राय: पोखरा, काठमाडौँलगायतका क्षेत्रमा जाने चलन रहेकाले बिस्तारै फर्किने क्रम बढिरहेको प्रमुख जिल्ला अधिकारी अजिता भण्डारीले बताइन् ।

उनका अनुसार मुस्ताङका जम्मा ४० वटै मतदान केन्द्र सडकको पहुँचमा रहेका छन् । ती सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगिसकेको छ । हिमाली क्षेत्र रहेको माथिल्लो मुस्ताङका २१ वटा मतदान केन्द्रमा प्रति केन्द्र तीनवटा अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको भण्डारीले जानकारी दिइन् ।

त्यस्तै, निर्वाचनमा खटिने कतिपय कर्मचारी तथा सुरक्षाकर्मी बाहिरबाट आउने हुँदा उनीहरूलाई लेक लाग्ने सम्भावना धेरै भएकाले औषधिको व्यवस्था गरिएको छ भने आवश्यकताअनुसार चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली पनि तयारी अवस्थामा राखिएको उनले बताइन् ।

ताप्लेजुङका ४ हिमाली क्षेत्रमा ५ सय ९७ मतदाता
ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा रहेका ४ वटा मतदान केन्द्र याङ्मा, ओलाङचुङगोला, घुन्सा र ग्याब्लामा निर्वाचन सामग्री फागुन १५ गते नै पठाइसकिएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले बताए ।

सडक यातायातको पहुँच नभएका ती क्षेत्रमा अहिले निर्वाचन सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मी हिँडेरै गएका छन् भने मतपेटिका ल्याउँदा हवाई मार्ग प्रयोग गर्ने तयारी भइरहेको छ । घुन्सामा १७३, ग्याब्लामा ६९, ओलाङचुङगोलामा २ सय ९३ र याङ्मामा ६२ गरी जम्मा ५ सय ९७ मतदाता रहेका छन् ।

अत्यधिक चिसोका कारण धेरैजसो मानिस बेँसीतिर झर्ने र सीमित व्यक्ति मात्र बस्ने भएकाले न्यून मतदान हुन सक्ने प्रजिअ सेढाईँले बताए । उनले भने, “आशा गरौँ, मतपेटिका खाली आउँदैन ।”

दार्चुलाका हिमाली बासिन्दालाई सदरमुकाममै मतदान
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार दार्चुलाका व्यास र अपि हिमाल गाउँपालिकाका केही क्षेत्र हिमाली भेगमा पर्दछन् । व्यासको तिङ्कर र छाङ्रु क्षेत्रका मतदाताका लागि सदरमुकाम खलङ्गा नजिकैको टिङ्करखेडामा मतदानको व्यवस्था गरिएको छ । छाङ्रुमा ३७५ र तिङ्करमा २४४ मतदाता छन् ।

अपि हिमाल गाउँपालिकाका केही मतदान केन्द्रमा निर्वाचन सामग्री हेलिकोप्टरमार्फत पुर्‍याउने प्रक्रिया अगाडि बढाइएको छ । यहाँ चार हजार ६ सय ५१ मतदाताका लागि ८ वटा मतदान स्थल र ९ वटा मतदान केन्द्र तोकिएको छ ।

उपल्लो डोल्पाका ३० प्रतिशत मतदाता बाहिरै
उपल्लो डोल्पामा अत्यधिक चिसोका कारण धेरै मतदाता जिल्ला बाहिर छन् । स्थानीय तहले आग्रह गरे पनि प्रतिकूल मौसमका कारण सबै फर्किने सम्भावना कम छ । डोल्पोबुद्ध, छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकाका १३ सयभन्दा बढी (कुल मतदाताको ३० प्रतिशत) मतदाता बाहिर रहेको सर्वेक्षणले देखाएको छ ।

डोल्पोबुद्धका प्रमुख प्रशासकीय अधिकृत मनबहादुर थापा भन्छन्, “निर्वाचन जेठ–असारतिर हुन्थ्यो भने सहभागिता राम्रो हुने थियो । अहिले मौसम र यातायातका कारण न्यून मतदान हुने देखिन्छ ।” बाहिरबाट आएका कर्मचारीमा टाउको दुख्ने र वाकवाकी लाग्ने (लेक लाग्ने) समस्या देखिएकाले अक्सिजन र हवाई उद्धारको समेत व्यवस्था मिलाइएको थापाले बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ८ : २७ बजे

आईपीएल : लखनउलाई पाँच विकेटले पराजित गर्दै आरसिबी शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न

पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले पहाडी

खडेरी चिर्दै जलवायुमैत्री खेती: फेरिँदै किसानको जीवनस्तर

सिरहा– केही वर्ष अघिसम्म लक्ष्मीपुर पतारी गाउँपालिका–४ का प्रमोदकुमार मण्डललाई

रणनीतिक महत्वको सडक कालोपत्र सुरु भएपछि ताकमवासी उत्साहित

म्याग्दी– म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ ताकममा

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।