सरकारमा चुलिँदो शक्ति संघर्ष : बालेनले गभर्नरसँग डिल गरेपछि स्वर्णिमले बोलाए राष्ट्र बैंकका कार्यकारी निर्देशक « Khabarhub

सरकारमा चुलिँदो शक्ति संघर्ष : बालेनले गभर्नरसँग डिल गरेपछि स्वर्णिमले बोलाए राष्ट्र बैंकका कार्यकारी निर्देशक

रास्वपाभित्रै रवि र बालेन समूहको कित्ताकाट



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)देखि सरकारसम्म नै पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)बीचको शक्ति संघर्ष चुलिँदै गएको छ । सत्ताभित्रको शक्ति संघर्षलाई दुवै पक्षले औपचारिक रूपमा अस्वीकार गरे पनि व्यवहारिक ढंगले भने छताछुल्ल भइसकेको छ ।

बुधबार बिहान मात्रै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरबाहेकलाई अर्थ मन्त्रालयमा बोलाएर छलफल गरे । छलफलमा अर्थमन्त्री डा. वाग्लेले राष्ट्र बैंकका निर्देशकहरूलाई केन्द्रीय बैंकलाई केवल नियामक निकायका रूपमा मात्रै नभई देशको आर्थिक रूपान्तरणको सहयात्री बनेर काम गर्न आग्रह गरे ।

यसका साथै, उनले पछिल्लो समय उद्योगी–व्यवसायी र बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग भएका छलफलको सन्दर्भ जोड्दै निजी क्षेत्रले सहुलियतभन्दा पनि स्पष्ट नीति, स्थिर नियम र छिटो निर्णय प्रक्रिया खोजेको स्पष्ट पारे ।

बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग, उत्पादन र रोजगारी सिर्जनामा कसरी रूपान्तरण गर्ने भन्ने विषयमा राष्ट्र बैंकका अधिकारीहरूले गम्भीर हुनुपर्नेमा उनले जोड दिएका छन्।

छलफलमा डा. वाग्लेले आर्थिक सुधार, डिजिटल बित्त, फिनटेक र स्टार्टअप वित्तपोषणलाई सहज बनाउन राष्ट्र बैंकलाई नीतिगत स्पष्टता र तत्परताका साथ काम गर्न उनले निर्देशन दिए ।

तर, विडम्बना छलफलमा राष्ट्र बैंकको मुख्य नेतृत्व गर्ने गभर्नर र डेपुटी गभर्नरको उपस्थिति नै थिएन ।

मंगलबार अर्थमन्त्री वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर छलफल गरेका थिए । उक्त छलफलमा पनि अर्थमन्त्रीले बैंकहरूकै नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको सहभागी गराएनन् ।

गत असार ३२ गते प्रधानमन्त्री बालेन र राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्व पौडेलबीचमा छलफल भएको थियो । जुन भेट प्रधानमन्त्री बालेनले श्रृंखलाबद्ध रूपमा निजी क्षेत्रसँगका प्रतिनिधिसँगको भेटघाटका क्रममा भएको थियो । तर, त्यस भेटमा प्रधानमन्त्रीले अर्थमन्त्री वाग्लेलाई भने सहभागी गराएका थिएनन् ।

त्यस्तै, प्रधानमन्त्री बालेनले साउन ४ गते अर्थ मन्त्रालय मातहतकै निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृतलाई निजी क्षेत्रका प्रतिनिधिसँगै बोलाएर भेटघाट गरेका थिए । तर, सो भेटमा पनि उनले अर्थमन्त्रीलाई भने बोलाएका थिएनन् ।

प्रधानमन्त्री बालेनले असार २३ गतेबाट श्रृंखलाबद्ध रूपमा निजी क्षेत्रसँग गरेको भेटघाट तथा छलफलमा अर्थमन्त्रीलाई सहभागी गराएनन् । त्यसपछि केही दिन यता अर्थमन्त्री वाग्लेले पनि आफ्नो तर्फबाट फेरि निजी क्षेत्रसँगको भेटघाटलाई तीव्रता दिएका छन्, जुन भेटमा उनले सम्बन्धित क्षेत्रलाई छुटाएका छन् । जुन तस्बीरले प्रधानमन्त्रीको शैलीको काउन्टर अर्थमन्त्रीले गरेको देखिन्छ ।

तर, अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीले छलफल गरिसकेपछि अघिल्लो मंगलबार उत्पादनमूलक उद्योगीहरूसँग छलफल गर्दै आफू र प्रधानमन्त्रीबीच बाहिर चर्चामा आएको जस्तो असामञ्जस्य सम्बन्ध नरहेको र प्रत्येक मन्त्रिपरिषद् बैठकपछि आफूहरूले लामो संवाद गर्ने गरेको बताएका थिए । तर, नतिजामा हेर्दा भने सोही छलफल कार्यक्रममा उनले उद्योगमन्त्रीलाई सहभागी गराएका थिएनन् ।

प्रधानमन्त्री बालेनले निजी क्षेत्र र नियामकसँग गर्ने छलफल र अर्थमन्त्री वाग्लेले निजी क्षेत्र र नियामकसँग गर्ने छलफलमा लगानीको वातावरण निर्माण गर्ने, नीतिगत तथा कानुनी समस्याको पहिचान गर्ने र सहजीकरण गर्ने प्रतिबद्धता सार्वजनिक भइरहेका देखिएका छन् । 

तर, ती छलफलमा कानुनका मस्यौदा तयार गर्ने सम्बन्धित निकायकै सहभागिता भने नभइरहँदा दुईपक्षले म्याराथनको स्तरमा गरेको छलफल नतिजाको लागि भन्दा पनि शक्ति संघर्षको लागि भएको त होइन भन्ने आशंका पैदा गराएको छ ।

राजनीतिक तहमै शक्ति संघर्ष

प्रधानमन्त्री र अर्थमन्त्रीबीचमा भएको शक्ति संघर्ष सरकारका दुई नेतृत्वबीचमा भन्दापनि रास्वपाको नै केन्द्रीय शक्तिबीचमा भएको भन्ने संकेत केही घटनाक्रमले देखाउन थालेका छन् ।

साउनको १३ गते बसेको रास्वपा केन्द्रीय समितिको बैठकमा विधानमा संसदीय दलको नेतालाई पार्टी सभापतिले हटाउन सक्ने भनि राखिएको विषयलाई छेडखानी गरिएको भन्दै आशंका व्यक्त गरेको थियो । स्रोतका अनुसार सो बैठकमा नेता गणेश कार्कीले छानबिन समिति नै बनाउनुपर्ने माग गरेका थिए ।

यद्यपि, पार्टी सभापति लामिछानेले पाँच वर्ष नै बालेन प्रधानमन्त्री हुने र विश्वासको लागि अर्को पाँच वर्ष पनि आफू छाड्न तयार रहेको बताएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरिरहेका बेला गत वैशाख २८ गते नीति तथा कार्यक्रम बीचमै छाडेको र नेपालले भारतको जग्गा मिचेको विवादास्पद अभिव्यक्तिदेखि मधेशमा भएको पछिल्लो साम्प्रदायिक झडपसम्म आउँदा विशेषगरी पार्टी सभापति पक्षधर नेता तथा कार्यकर्ताले प्रधानमन्त्री बालेन र उनको समूहको बचाउमा बोल्न छाडेका छन् । बरू उनीहरूले सरकारबारे कडा टिप्पणीसहित संसद्‍मा बोलिरहेका छन् ।

पछिल्लो एक टेलिभिजन अन्तरवार्तामा महामन्त्री बिपिन आचार्यले नागरिकमाथि गोली चल्दैगर्दाको जिम्मेवारी प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने आक्रमक अभिव्यक्ति दिएका थिए । उनको यस भनाइले पनि भित्रभित्रै रास्वपामा तत्कालीन नेकपामा जस्तै उच्च ध्रुवीकरण र झगडा फैलिँदै गएको संकेत गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ६ : ५८ बजे

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११०  परिवारले पाए लालपुर्जा

काठमाडौं– नापी कार्यालय धनुषाले  नाप जाँच भएको करिब एघार वर्षपछि

सरकार र वैदेशिक रोजगार व्यवसायीबीच सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

काठमाडौं– वैदेशिक रोजगार क्षेत्रका विभिन्न समस्या समाधानका लागि आन्दोलनरत नेपाल

भारतीय स्थल सेनाध्यक्ष सेठ र प्रधान सेनापति सिग्देलबीच भेटवार्ता

काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले

ललितपुरमा चिकित्सकसहित एम्बुलेन्स सेवा, १५ मिनेटमै बिरामीकहाँ पुग्ने

ललितपुर– ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र घरमै पुगेर

एक महिनामा सरकारको आयव्यय : राजस्व प्राप्ति ५.८४ प्रतिशत, पुँजीगत खर्च १ प्रतिशत तल

काठमाडौं– चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो महिना साउन ३१