काठमाडौं – भदौ पहिलो साताका लागि काठमाडौंमा तय गरिएको इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज (आईएटीएस)को १७औँ अन्तर्राष्ट्रिय सम्मेलन सरकारको आग्रहपछि रद्द गरिएको छ ।
स्थानीय आयोजकमध्ये एक काठमाडौं विश्वविद्यालयअन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास)का निर्देशक डा. सागरराज शर्माले नेपाल सरकारको आग्रहमा सम्मेलन स्थगित गरिएको जानकारी दिए। उनका अनुसार अब उक्त सम्मेलन नेपालमा आयोजना नहुने भएको छ ।
७ देखि १३ भदौसम्म सञ्चालन हुने तय भएको सम्मेलनमा ३९ देशका ७२० जना प्रतिनिधिको सहभागिता सुनिश्चित भइसकेको थियो। सम्मेलनको आयोजना हिकास र सेन्टर फर बुद्धिस्ट स्टडिज राङजुङ येसे इन्स्टिच्युटले संयुक्त रूपमा गर्न लागेका थिए ।
स्रोतका अनुसार, चीनको चासो र कूटनीतिक संवेदनशीलताका कारण सम्मेलन प्रभावित भएको हो । यसअघि केन्द्रीय तिब्बती प्रशासन (सीटीए)ले पनि चीनको दबाबपछि आफ्नो प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेको थियाे ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग भेट गर्दै सम्मेलनबारे चासो व्यक्त गरेका थिए। विशेषगरी दलाइ लामाका प्रतिनिधिहरू नेपाल आउने र तिब्बती मामिलासम्बन्धी विषयमा छलफल हुन सक्ने सम्भावनाबारे उनले नेपाली पक्षसँग चिन्ता व्यक्त गरेको स्रोतले जनाएको छ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार सम्मेलन स्थगित भएपछि छिमेकी मुलुकहरूसँगको कूटनीतिक संवेदनशीलता व्यवस्थापन गर्न सहज भएको छ ।
सन् १९७७ मा स्विट्जरल्यान्डबाट सुरु भएको आईएटीएस सम्मेलन यसअघि बेलायत, अमेरिका, जर्मनी, जापान, नर्वे, अस्ट्रिया, नेदरल्यान्ड्स, क्यानडा, मंगोलिया, फ्रान्स र चेक गणतन्त्रलगायत विभिन्न देशमा आयोजना भइसकेको थियो। नेपालमा भने यो सम्मेलन पहिलो पटक आयोजना हुने तयारी गरिएको थियो ।












प्रतिक्रिया