वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना सबै बी–१ बमवर्षक विमान फिर्ता गरेको छ।
बेलायती हवाई अड्डामाथि सम्भावित आतंकवादी आक्रमणको योजना बनाइएको आशंकामा छ जना संदिग्ध पक्राउ परेपछि अमेरिकाले त्यहाँ तैनाथ विमान फिर्ता गर्ने निर्णय गरेको हो।
अमेरिकी अधिकारीहरूका अनुसार बेलायतमा करिब एक दर्जन बी–१ विमान तैनाथ थिए। अमेरिकी रक्षा मन्त्रालयले ती सबै विमान अमेरिकास्थित आफ्ना सैन्य अड्डामा फर्किसकेको पुष्टि गरेको छ।
अमेरिकी र बेलायती अधिकारीहरूले सम्भावित आक्रमणको प्रयासलाई समयमै विफल पारिएको बताएका छन्। घटनापछि अमेरिकी पक्षले बेलायती सैन्य हवाई अड्डाको सुरक्षा व्यवस्थाको पुनर्मूल्याङ्कन गरेको थियो।
अमेरिकी रक्षा मन्त्रालयले सैन्य सुरक्षाका कारण विमानको आवतजावतसम्बन्धी विवरण वास्तविक समयमा सार्वजनिक नगरिएको जनाएको छ। सबै विमान सुरक्षित रूपमा अमेरिका फर्किएपछि मात्रै तैनाथी र फिर्ताबारे औपचारिक जानकारी दिइएको हो।














प्रतिक्रिया