तेहरान- संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी जारी राखेका बेला इरानका तेलमन्त्री मोहसेन पाकनेजादले राजीनामा दिएका छन् ।
राष्ट्रपति मसुद पेजेस्कियानले उनको राजीनामा स्वीकृत गर्दै राष्ट्रिय इरानी तेल कम्पनी (एनआइओसी) का प्रमुख हमिद बोवार्डलाई कार्यवाहक तेलमन्त्री नियुक्त गरेकान छन् ।
इरानी सरकारी सञ्चारमाध्यम आइआरआइबीका अनुसार पाकनेजादले व्यक्तिगत कारण देखाउँदै पदबाट हट्न प्रस्ताव गरेका थिए। राष्ट्रपतिले सुरुमा पदमै रहन आग्रह गरे पनि उनले राजीनामा दिने अडान नछाडेपछि राजीनामा स्वीकृत गरिएको हो। राष्ट्रपति पेजेस्कियानले पाकनेजादको प्रयास र सेवाको प्रशंसा गरे ।
इरानको तेल क्षेत्रमा नेतृत्व परिवर्तन अमेरिकी दबाब बढिरहेका बेला भएको हो। मध्यपूर्वमा जारी युद्धका क्रममा हर्मुज जलघाँटी महत्वपूर्ण समुद्री मार्गका रूपमा रहेको छ। युद्धअघि विश्वव्यापी कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यासको करिब २० प्रतिशत यही जलमार्गबाट ढुवानी हुने गरेको थियो।
इरानको तेल आम्दानी रोक्नु अमेरिकी आर्थिक रणनीतिको प्रमुख उद्देश्य बनेको छ। अमेरिकी अर्थ मन्त्रालयले शुक्रबार इरानको अटोमोटिभ तथा रेल उद्योगलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले उक्त प्रतिबन्धले इरानको युद्ध सञ्चालन गर्ने वित्तीय क्षमता कमजोर पार्ने बताए
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक हतियार विकास गर्ने महत्वाकांक्षा लगभग त्यागिसकेको दाबी गरे।
इरानको ऊर्जा क्षेत्रमा अमेरिकी आर्थिक दबाब बढिरहेका बेला पाकनेजादको राजीनामासँगै तेल मन्त्रालयमा नयाँ नेतृत्व आएको हो।














प्रतिक्रिया