वीरगञ्ज– वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिरामीको स्वास्थ्य परीक्षण सेवालाई थप छिटो, प्रभावकारी र विश्वसनीय बनाउन अत्याधुनिक प्रयोगशाला उपकरण सञ्चालनमा ल्याएको छ ।
अस्पतालका सूचना अधिकारी विराज किशोरका अनुसार नयाँ उपकरणले जैविक रासायनिक, शरीरमा रहेका लवण तथा खनिज तत्त्व र प्रतिरक्षासम्बन्धी गरी तीन प्रकारका परीक्षण प्रणालीलाई एउटै उपकरणमा एकीकृत गरेको छ । अस्पतालका अनुसार यो उपकरण मधेस प्रदेशमै पहिलोपटक जडान गरिएको हो ।
नयाँ प्रविधिको प्रयोगसँगै एउटै प्रयोगशालाबाट विभिन्न प्रकारका स्वास्थ्य परीक्षण गर्न सकिनेछ । यसले परीक्षण प्रक्रियालाई व्यवस्थित बनाउनुका साथै बिरामीले प्रयोगशाला प्रतिवेदन प्राप्त गर्न लाग्ने समयसमेत घटाउने अस्पतालको विश्वास छ ।
वरिष्ठ प्रयोगशाला प्राविधिक शर्माका अनुसार उपकरणमार्फत कलेजो, मिर्गौला, मधुमेहलगायतका रोगसँग सम्बन्धित जैविक रासायनिक परीक्षण गर्न सकिनेछ । त्यस्तै, विद्युतीय प्रणालीबाट सोडियम, पोटासियम र क्लोराइडजस्ता शरीरका लवण तथा खनिज तत्त्वको परीक्षण पनि गर्न सकिनेछ ।
यसअघि जटिल तथा विशेष प्रकृतिका परीक्षणका लागि अन्य ठूला सहर वा सुविधासम्पन्न प्रयोगशालामा निर्भर हुनुपर्ने अवस्था रहेकामा नयाँ उपकरणको सञ्चालनले त्यस्तो बाध्यता कम गर्ने अस्पतालको अपेक्षा छ ।
वीरगञ्ज महानगरपालिका–१५ मा अवस्थित उक्त अस्पताल विसं २०५८ मा स्थापना भएको हो । अस्पताल त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध छ ।














प्रतिक्रिया