चितवन– भरतपुर महानगरपालिकामा जडान गरिएका ट्राफिकलाइट सञ्चालनको तयारीसँगै यात्रु तथा सवारी चालकलाई यसको प्रयोग र सडक सुरक्षाबारे सचेत गराउन थालिएको छ ।
महानगरपालिकाले चौबिसकोठीमा जडान गरिएको ट्राफिकलाइटको परीक्षण गर्दै बिहीबारदेखि सचेतना कार्यक्रम सुरु गरेको हो । महानगरका प्रमुख चोकहरूमा ट्राफिकलाइट जडान गरिए पनि नियमित सञ्चालनमा आउनुअघि सर्वसाधारणलाई यसको प्रयोगबारे जानकारी गराउन कार्यक्रम थालिएको हो ।
भरतपुर महानगरपालिकाको वातावरण शाखाका इन्जिनियर विराट घिमिरेका अनुसार महानगरले दर्शन मिडियासँगको समन्वयमा सचेतना कार्यक्रम अघि बढाएको हो । ट्राफिक तथा पार्किङ व्यवस्थापनसम्बन्धी शिक्षा लिएका विद्यार्थीहरूको सहभागितामा कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए ।
उनले सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र पार्किङका समस्या समाधान गर्ने उद्देश्यले ट्राफिकलाइट जडानसँगै जनचेतनामूलक कार्यक्रम सुरु गरिएको बताए । ट्राफिक व्यवस्थापनमा एकल प्रयास पर्याप्त नहुने भन्दै उनले टोल विकास संस्थालगायत स्थानीय समुदायको सक्रियता पनि आवश्यक रहेको उल्लेख गरे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिकलाइट जडान हुँदैमा सवारी दुर्घटना स्वतः न्यूनीकरण नहुने बताए । चालकको लापरबाही र हेलचेक्र्याइँका कारण दुर्घटना हुने गरेको उल्लेख गर्दै उनले ट्राफिक नियमको पालना र समुदायस्तरबाटै सचेतना आवश्यक रहेको बताए ।
भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनालले ट्राफिकलाइटले सवारी दुर्घटना न्यूनीकरणसँगै सवारीसाधनको गति नियन्त्रणमा पनि सहयोग पुग्ने बताए । उनका अनुसार महानगरका छवटा प्रमुख चोकमा ट्राफिकलाइट जडान गरी सडक सुरक्षासम्बन्धी काम अघि बढाइएको छ ।
महानगरका पुलचोक, सहिदचोक, लायन्सचोक, चौबिसकोठी, हाकिमचोक र मालपोतचोकमा ट्राफिकलाइट जडान गरिएको छ । सडक विभागको ट्राफिक महाशाखाले ती चोकमा लाइट जडान गरेको हो ।
दर्शन मिडियाका अध्यक्ष प्रकाशमणि ज्ञवालीले ट्राफिकलाइट सञ्चालनमा आएपछि यात्रु तथा सवारी चालकलाई यसको प्रयोगमा सहजता होस् भन्ने उद्देश्यले सचेतना कार्यक्रम सुरु गरिएको बताए ।














प्रतिक्रिया