‘कांग्रेस नेताले लालपुर्जा दिन्छौँ भने, सरकारले डोजर चलायो’ « Khabarhub

‘कांग्रेस नेताले लालपुर्जा दिन्छौँ भने, सरकारले डोजर चलायो’



काठमाडौं- ५१ वर्षीय आइतबहादुर तामाङ काठमाडौंको शंखमूलमा रहेको सुकुम्वासी बस्तीमा बस्थे । सोमबार खबरहब टिम पुग्दा उनी सरकारी डोजरले भत्काएको आफ्नो घरको भग्नावशेष नियाल्दै थिए । तामाङ परिवारको तीन पुस्ताले त्यस बस्तीमा बनेको घरलाई आश्रय बनाएको थियो । आइतबहादुर आफू शंखमूलको बस्तीमै जन्मिएको बताउँछन् । बागमतीमा पौडी खेल्दै हुर्किएका उनले काठमाडौंबाहिरको संसार बुझेका छैनन् ।

सोमबारको दिन खबरहबको टिम शंखमूलको सुकुम्वासी बस्ती पुग्दा मौसम पनि आइतबहादुरको मनजस्तै मलिन र आर्द्र थियो । दुई दिनअघि सरकारले डोजर चलाएर घर ध्वस्त बनाइदिएपछि उनलाई धरधरी रुन मन लागेको छ । तर, घरको मूली आफैं रुँदा बूढी भएकी आमा, श्रीमती र नातिनातिनाको मन कसले बुझाइदिने ? यही चिन्ताले उनलाई आँशु झार्न दिएको छैन ।

धेरै नेताले लालपुर्जा मिलाइदिने आश्वासन दिएकाले उनले ज्यामी काम गरेर बैंकमा बचत गरेको र सहकारीको ऋण भेला पारेर शंखमूलको बस्तीमै साढे दुई तलाको घर बनाए । उनले लालपुर्जा मिलाइदिने भनेर कांग्रेसका ठूलै नेताले आश्वासन दिएको खुलाए । खबरहबसँग उनले भने, ‘कांग्रेसका नेताहरुले लालपुर्जा दिलाइदिन्छौँ, यो बस्तीलाई केही हुँदैन भनेर आश देखाएका थिए । त्यही भएर ज्याला गरेर कमाएको पैसा र सहकारीबाट ऋण लिएर घर बनाएँ ।’

बैंकमा साइन गरेको छ, घर भत्किएपनि ऋण त तिर्नै पर्‍यो । पुराना नेताहरुले छिनोफाँनो गर्दिएको भएर यति धेरै परिवारले ऋण गरेर घर बनाउने थिएनन् । टाउको लुकाउने छाप्रो गयो,’ उनले भने, ‘चुनावमा भोट चाहिने बेला चाहिँ लालपुर्जाको आश देखाउने, तर दिन चाहिँ कहिल्यै नदिने ।’

आइतबहादुर खोलाको किनारभन्दा माथि भएकाले बस्तीले कसैलाई बाधा नपारेको जिकिर गर्छन् । अघिल्लो वर्षभन्दा अघि कहिल्यै पनि बस्तीमा बाढी नपसेको उनको दाबी छ । उनी भन्छन्, ‘यो बस्तीले कसैलाई बाधा पारेको थिएन । खोलाको किनारभन्दा केही माथि नै थियो । अघिल्लो वर्ष बाढी पसेपनि त्योभन्दा अगाडी बाढी पसेको थाहा थिएन ।’

शंखमूलको सुकुम्वासी बस्तीमा १ सय ८ घरपरिवार बस्दथ्यो । अन्य सुकुम्वासी बस्तीभन्दा यहाँका धेरै घरहरु पक्की छन् । अधिकांशले बैंकबाट ऋण लिएर पक्की घर बनाएका छन् । नापीसमेत भइसकेको जग्गाको लालपुर्जा दिने भनिएकाले उनीहरु आफ्नो बस्ती नभत्किनेमा ढुक्क थिए ।

तर, शनिबार सरकारको डोजर त्यहाँ पनि पुग्यो । आइतबहादुरका अनुसार शंखमूलमा अरु बस्तीलाई दिएजस्तो घर खाली गर्न पर्याप्त समय पनि दिइएन । ‘हामीलाई बस्ती पनि खाली गर्न भनेर कसैले पनि जानकारी दिएको थिएन । एक्कासी डोजर आयो,’ उनले भने, ‘यहाँ मान्छे हिड्ने पेटी पनि छ । बस्तीले कसैलाई अप्ठ्यारो पारेको पनि थिएन । तैपनि भत्काइदिए ।’

दुई दाजुभाइमध्ये आइतबहादुरका कान्छा भाइ बितेर गए । बुवाले उनलाई त्यही बस्तीमा टहरो दिएका थिए । त्यही टहरामा ज्यामी काम गर्दै जीवन धानिरहेको आइतबहादुरको तीन पुस्ता अहिले बिलखबन्दमा परेको छ । उनी व्यवस्थापनको नाममा आफूहरुलाई सरकारले काठमाडौंबाहिर लगेर राख्दिने हो कि भन्ने चिन्तामा छन् ।

‘हामी बाउदेखि नै काठमाडौंमा बसेको हो । हामी यहीँ जन्मेका हौँ । बाहिर जिल्लाका बारेमा केही पनि थाहा छैन । हामी अन्त गएर बस्न पनि सक्दैनौँ होला । बालेन सरकारले हामीलाई काठमाडौं नै बस्ने व्यवस्था गर्दिनुपर्छ,’ उनी थप भन्छन्, ‘बाहिर जिल्ला बस्नुपर्‍यो भने हामीलाई विदेश गएजस्तो हुन्छ ।’

केही वर्षअघि भिनाजु पनि बितेर गए । त्यसपछि आइतबहादुरकी एक मात्रै दिदी पनि भान्जाभान्जाी लिएर माइतीनजिकै टहरा बनाएर बसिन् । अब उनलाई आफ्नोसँगै दिदीको परिवारको पनि जिम्मेवारी आइलागेको छ ।

भत्किएको घरको टिन बटुल्दै गरेकी दिदीलाई देखाउदैँ उनले भने, ‘त्यो हरियो कुर्ता लगाएकी मेरी दिदी हो । सहारा हुन्छ भनेर यहाँ नजिकै टहरा बनाएर बसेकी थिई । ज्याला काम गरेर भान्जाहरु हुर्काई । मलाई मेरोभन्दा दिदीको पो चिन्ता लागेको छ ।’

आइतबहादुरका छोरीज्वाँइको घर पनि यही बस्तीमा थियो । उनीहरु पनि इट्टा टक्टक्याइरहेका थिए । अरुलाई लैजान दिनुभन्दा केही पैसा आउँछ भनेर उनीहरु इट्टा भेला पार्नमै व्यस्त थिए ।

‘हामीजस्ता गरिबका छोरीको बिहे पनि गरिबसँगै हुन्छ । यही बस्तीकै सुकुम्वासीलाई छोरी दिएको थिएँ । छोरी पनि बेघर भई । आफन्त समेत गन्दा यहाँ हाम्रो धेरै परिवार थिए । अहिले सबै बेघर भए,’ उनले भने ।

काठमाडौंका घरधनीको व्यवहारले पनि आइतबहादुरको परिवारलाई खिन्न बनाएको छ । दुई दिनदेखि कोठा खोज्न हिँडेपनि कसैले नदिएको उनले गुनासो गरे । उनी भन्छन्, ‘साथीभाइको कोठा–कोठामा सामान लगेर राखेका छौँ । कोठा खोज्न जाँदा नागरिकता मागे । नागरिकता काठमाडौंकै छ । यहीँका मान्छेलाई किन कोठा चाहियो ? भनेर सोध्छन् । झुटो बोल्नु भएन, सुकुम्वासी भन्ने थाहा पाएपछि खाली कोठा पनि दिएनन् ।’

‘धनीहरुलाई छिमेकमा गरिब बसेको मन नपर्ने रहेछ । हाम्रो घर भत्किँदा उनीहरु खुसी भएर बल्ल खायौ भने । एक वर्षअघि त्यो पाँच तले घरमा ग्याँस लिक भएर आगो लाग्यो । त्यहीँका छिमेकीले पनि सहयोग गरेनन्,’ उनले भने, ‘तर, हामी सुकुम्वासी बस्तीका सबै जना कोही पानी लिएर, कोही बालुवा लिएर गयौँ । हामीले नै फोन गरेर दमकल आयो । तर, हाम्रो बस्तीमाथि डोजर चल्दा उनीहरु खुसी भएका छन् ।’

लालपुर्जा नभएपनि जमिनसँग आत्मा गाँसिएका कारण आफ्नो मन भक्कानिएको आइतबहादुरले सुनाए । उनले भने, ‘बाहिर जिल्लाबाट आएर यहाँ ओगटेर बसेको होइन । यहीँ जन्मिएको हो,’ उनले भने, ‘घरमा डोजर चलेपछि न दिन न रात भएको छ । भोक पनि लागेको छैन । ज्यालादारी गरेर छोरालाई खाइ नखाइ १२ कक्षासम्म पढाएँ । ठूलो मान्छे हुने सपना देखेको छ । अहिले डेलिभरी ब्वाइको काम गर्छ । अनलाइन सामानहरु डेलिभरी गर्छ ।’

‘धनीका बच्चाहरुले झैँ सपना देखेको छ । छोराको सपना मर्न नदिए हुन्थ्यो,’ आइतले भने, ‘टुडिँखेलमा सुकुम्बासी भनेर नाम दर्ता गराएर आएको छु, हेरौँ अब के हुन्छ ।’

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ७ : २४ बजे

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको