काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित युवा उद्यमशीलता विकाससम्बन्धी अन्तर्क्रियामा युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड दिइएको छ । कार्यक्रममा सहभागी व्यवसायी नेता तथा युवा उद्यमीहरूले आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि युवाको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
मुलुकको आर्थिक पुनरुत्थान, लगानी विस्तार, रोजगारी सिर्जना तथा उद्यमशीलताको विकासका विविध पक्षमा उनीहरूले छलफल गरे । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले युवाहरूले सकारात्मक सोच, समन्वय र क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताए ।
हरित अर्थतन्त्रको नयाँ अवधारणाले विश्वव्यापी रूपमा गति लिइरहेको उल्लेख गर्दै उनले नयाँ विश्वको नेतृत्व लिन सक्षम युवाशक्ति तयार हुनुपर्नेमा जोड दिए । विश्वव्यापी सञ्जाल विस्तार, लगानी आकर्षण तथा रोजगारी सिर्जनामा युवाले अग्रसर रही भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष अग्रवालले नेपाल चेम्बर अफ कमर्सले युवामा गरिएको लगानीले दीर्घकालीन रूपमा देशको अर्थतन्त्रलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
चेम्बरको हिरक जयन्ती मूल समारोह समितिका संयोजक तथा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले युवाले नवीन सोच र नयाँ व्यावसायिक क्षेत्रको पहिचान गरी उद्यमशीलतामा अघि बढ्नुपर्नेमा जोड दिए । विदेशका युथ चेम्बरहरूसँग सम्बन्ध विस्तार गरी नयाँ प्रविधि, ज्ञान र व्यावसायिक अभ्यास आदानप्रदान गर्न सके व्यापार विस्तारमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिने उनको भनाइ थियो ।
नेपाल चेम्बर अफ कमर्स निजी क्षेत्रको पहिलो संस्था भएकाले यसको ७५ वर्षे गौरवशाली यात्रासँग जोडिनु आफैँमा गर्वको विषय भएको उनले उल्लेख गरे । व्यापारमा जोखिम रहे पनि त्यसले सिर्जना गर्ने रोजगारी, उत्पादन र अर्थतन्त्रमा पुर्याउने योगदान अत्यन्त महत्त्वपूर्ण रहेको उनले बताए ।
चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले मुलुकका लागि सम्भावना भएका नयाँ क्षेत्रहरूको पहिचान गरी युवाले अर्थतन्त्रमा नवीनता भित्र्याउन सकिने बताए । नवप्रवर्तनसम्बन्धी नीतिगत अवसरहरूको अधिकतम उपयोग गर्दै सिर्जनशील सोचका साथ उद्यममा अघि बढ्न उनले युवाहरूलाई आग्रह गरे ।
नेपाल युथ चेम्बरका अध्यक्ष दिपेशरत्न तुलाधरले सफल उद्यमको यात्रा एउटा सशक्त विचार, सक्षम टोली र जिम्मेवार नेतृत्वबाट सुरु हुने बताए ।












प्रतिक्रिया