कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा « Khabarhub

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व प्रमाणित हुने लालपुर्जा प्राप्त गरेका छन्।

कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवाको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिका–९ मा आयोजित कार्यक्रममा वडा नं. १, ७ र ९ का जग्गाधनीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो।

नगरपालिकाका अनुसार वडा नं. १ का ७३, वडा नं. ७ का ४९ र वडा नं. ९ का १३९ परिवारले लालपुर्जा पाएका छन्। लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाण नहुँदा विभिन्न समस्या झेल्दै आएका स्थानीयवासी लालपुर्जा पाएपछि खुसी भएका छन्।

लालपुर्जा प्राप्त गर्ने ८० वर्षीया स्थानीय मधुरा कुर्मिनीले जीवनको उत्तरार्धमा भए पनि आफ्नो जग्गाको स्वामित्व प्रमाणित हुने कागजात पाउँदा खुसी लागेको बताइन्। वर्षौंदेखि जग्गा भोगचलन गर्दै आए पनि आफ्नो नाममा पुर्जा नहुँदा अन्योलमा रहेको उनको भनाइ छ।

त्यस्तै, वडा नं. ९ का स्थानीय छेदी अहिरले पाँच पुस्तादेखि भोगचलन हुँदै आएको जग्गाको लालपुर्जा अहिले आएर प्राप्त भएको बताए। पुर्जा नहुँदा जग्गाको स्वामित्वबारे अन्योल रहँदै आएको उल्लेख गर्दै उनले लालपुर्जा पाएपछि परिवारमा खुसी छाएको बताए।

नगर प्रमुख रजतप्रताप शाहले गाउँब्लक जग्गाका जग्गाधनीलाई लालपुर्जा उपलब्ध गराउने कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए। बाँकी जग्गाको दर्ता प्रक्रिया पनि सम्बन्धित निकायसँग समन्वय गरेर छिटो सम्पन्न गरिने उनले जानकारी दिए।

नगरपालिकाभित्र रहेका सबै गाउँब्लक जग्गाधनीलाई क्रमशः प्रमाणपुर्जा वितरण गरिने बताउँदै शाहले कृष्णनगर बजार, बहादुरगञ्ज बजार र सिर्सिहवामा रहेका बहाल बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया पनि अघि बढाइने उल्लेख गरे। यसका लागि अध्यादेश आइसकेको र आयोग गठन भएपछि प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ।

नापी कार्यालय तौलिहवाका प्रमुख जनक भण्डारीले गाउँब्लक जग्गाको नापजाँच तथा दर्ता प्रक्रिया पूरा गरेर लालपुर्जा वितरण गरिएको जानकारी दिए। विसं २०७० मा नापी गरिएको जग्गाको प्रमाणपुर्जा वितरण गर्न सफल भएको उल्लेख गर्दै उनले पुर्जामा उल्लेखित जग्गाधनीको नाम, कित्ता नम्बर र क्षेत्रफललगायत विवरण जाँच गर्न आग्रह गरे।

प्रमाणपुर्जामा कुनै विवरण त्रुटिपूर्ण भए सम्बन्धित कार्यालयमा सम्पर्क गरी सच्याउन सकिने उनले बताए।

कार्यक्रममा नगर उपप्रमुख आरती चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद देवकोटा, वडा नं. ९ का वडाध्यक्ष शतिस हरिजन, नापी टोलीका कर्मचारी, जनप्रतिनिधि तथा स्थानीय जग्गाधनीको सहभागिता थियो।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ९ : ३० बजे

लेक लाग्ने समस्या व्यवस्थापन गर्न सरकारले ल्यायो नयाँ मापदण्ड

काठमाडौँ – उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको

सुनको मूल्य ५ हजार ९०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ – स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य

परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

बनेपा– तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा

युवाको असन्तुष्टि सम्बोधन नगरे लोकतन्त्र संकटमा पर्छ : उपेन्द्र यादव

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले आफ्नो सामान विमानबाट झारेर