करेसाबारीको फूलबाटै तिहार खर्चको जोहो, किसान भन्छन्- १० बोटले नै दुई हजार पाइयो « Khabarhub

करेसाबारीको फूलबाटै तिहार खर्चको जोहो, किसान भन्छन्- १० बोटले नै दुई हजार पाइयो


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- तिहार पर्वमा महोत्तरीका दिदीबहिनीले आफ्नै करेसाबारीको फूलबाट तिहार खर्चको जोहो गर्दैछन् । खासगरी भाइटीकाका दिन दाजुभाइलाई लगाइने सप्तरङ्गी टीका, माला, भाइमसाला र दिइने उपहार सामग्रीको खर्च यहाँका दिदीबहिनीले आफ्नै करेसाबारीको सयपत्री फूलबाट जोहो गर्दैछन् ।

‘यसपालि तिहारका लागि खर्च जुटाउन कतै रकम खोज्नु परेन, आफ्नै करेसाको फूलले राम्रो आम्दानी दियो’, बर्दिबास–७ मनहरिपुरकी गृहिणी वीणा खत्री भनिन्, ‘भाइटीकाका दिन दाजुभाइलाई लगाइने टीका, माला, भाइमसला, मिष्टान्न परिकार र सानोतिनो वस्त्र उपहार पुग्नेगरी रकम पाइयो ।’  फूलका व्यापारी घरै आएर सुरुमै भुक्तानी दिएर गएपछि तिहारको खर्चका लागि ढुक्क भएको उनको भनाइ छ ।

खत्रीजस्तै भङ्गाहा–४ रामनगरकी शर्मिला पोखरेलले पनि करेसाबारीकै केही बोट फूलबाट राम्रै आय आर्जन गर्न पाइएको बताइन् । 

‘यहीँ हेर्नोस् न, कति होलान र ? त्यही ५०’६० बोट सयपत्रीका होलान्’, करेसाबारीमा ढकमक्क फुलेका सयपत्री फूल देखाउँदै उनले भनिन्, ‘यहाँका १० बोट फूलले राखीकन दुई हजार रुपैयाँ पाइयो ।’ तिहारलक्षित फूल लगाउन सके राम्रो आम्दानी हुने बल्ल बुझेको उनको भनाइ छ । आउने वर्ष तिहारलक्षित गरेर सयपत्री फूल खेतीकै रुपमा केही बढाइने पोखरेलको योजना छ ।

‘अहिलेका बोट त व्यावसायिक उद्देश्यले लगाइएका होइनन्, घरको शोभाका लागि रोपिएका हुन्’, उनी भन्छिन्, ‘तर यिनै बोटले अबचाहिँ केही खेती बढाउन पर्छ भन्ने चेत खोली दिए ।’ उपयुक्त बेला पारेर फुलाउन सके सयपत्रीले राम्रो आम्दानी दिने विश्वास बढेको उनको भनाइ छ । 

यस्तै बर्दिबास–३ गौरीडाँडाकी करुणा पाण्डेको करेसाबारीका सयपत्री फूलको व्यापारीले बैना दिएर गएकी छन् । आर्जनका दृष्टिले नजोडिएका करेसाबारीका फूलका बोटबाट पर्वको मुखमा पाएको रकमले आँखा खोली दिएको उनी बताउँछिन् ।

तिहारका बेला निकै माग बढ्ने भएपनि महोत्तरीमा फूलको व्यावसायिक खेती भने फस्टाउन सकेको छैन । तिहारबाहेक वर्षभरि आयोजना हुने धार्मिक अनुष्ठान र सभासमारोहमा अतिथि स्वागत सत्कारमा माला पहिर्‍याउने बाक्लै चलन छ । यी प्रयोजनमा बाहिरबाट ल्याइने फूलमै आश्रित रहिएको बर्दिबास उद्योग वाणिज्य सङ्घका सचिव रिमनाथ अधिकारी बताउँछन् ।

जिल्लामा तिहारबाहेकका औपचारिक समारोह, धार्मिक अनुष्ठान, विवाहलगायतका समारोहमा मालाको प्रयोगको संस्कृति नै स्थापित छ । तर यहाँको माटो र हावापानी सयपत्री फूलको खेतीलाई उपयुक्त भए पनि किसानले यसबारे खासै चासो नबढाएका कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालय जलेश्वरका सूचना अधिकारी अविरलकुमार महतोको भनाइ छ ।

‘जिल्लामा फूलको व्यावसायिक खेती तथ्याङ्कमा समावेस गरिने गरी खासै छैन’, सूचना अधिकारी महतो भन्छन्, किसानले यसबारे चासो बढाए कार्यालयले सुलभ मूल्यमा उन्नत फूलको बीउ र अन्य हेरचाहसम्मको प्राविधिक समन्वय गर्न सकिन्छ ।’ यो कम खर्चिलो नगदेखेतीका रुपमा विकास गर्न सकिने उनको ठम्याइ छ ।

जिल्लामा बलवा नगरपालिकाका बनौटा, धमौरा, पडौलमा थोरथोरै मात्रामा किसानले आठ/१० वर्षदेखि सयपत्री खेती गर्दै आएका छन् । यसबाहेक भङ्गाहा र गौशाला नगरपालिकाका केही बस्तीमा किसानले एकाध कठ्ठामा सयपत्री फूलको खेती गरेका छन् । महोत्तरीमा यो खेती धेरै नभएपनि यहाँका फूल टाढासम्मका व्यापारीको रोजाइमा भने पर्ने गरेको छ । 

बनौटा र पडौलतिर उत्पादित फूल जनकपुरका व्यापारीले बारीबाटै उठाएर लैजाने गरेका पडौल बस्तीका राजकिशोर यादव बताउँछन् । केहीकेही फूल खेती गर्दै आएका किसानले राम्रो बीउ र प्राविधिक सल्लाहको सहयोग पाउनसके यो खेती बढाउँदै लान सकिने बताएका छन् । 

यसैगरी घरशोभाका लागि केही बोट लगाउँदै आएका गृहिणीले पनि राम्रो बीउ र समयसमयको प्राविधिक हेरचाह र सल्लाह पाउनसके व्यावसायिक रूपमै फूल खेती गरिने बताएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  १ : ५५ बजे

ग्लोबल आइएमईले काठमाडौँमा अत्याधुनिक कर्पोरेट भवन बनाउँदै

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन

बालेन सरकारलाई डिलाको चेतावनी- राणा, पञ्चायत र राजासँग नडराएको कांग्रेसमाथि षड्यन्त्र बन्द गर्नू

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले सरकारले आफ्ना कमजोरी र

कर्णालीले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा शुक्रबारको पहिलो खेलमा अहिले सुदूरपश्चिम

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेट अभाव हुन दिन्नौँ : अर्थमन्त्री

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत,

विजय र अञ्जनाको भावुक अवतारमा ‘सिन्दुरे जात्रा’को फर्स्टलुक सार्वजनिक

काठमाडौं– ‘पूर्णबहादुरको सारङ्गी’बाट दर्शकको मन जितेको जोडी विजय बराल र