काठमाडौँ- पाकिस्तानले इरानसँग सुरक्षित मार्गका लागि वार्ता गरी सहमति जुटाए पनि शुक्रबार हर्मुज जलक्षेत्र नजिक कतारबाट तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको ‘अल मयेदा’ नामक पानीजहाजमाथि आक्रमण भएको छ ।
कतारबाट एलएनजी लिएर उक्त जलमार्गतर्फ अघि बढिरहेको मार्सल आइल्यान्ड्सको ध्वजावाहक जहाजमाथि आक्रमण भएको हो । आक्रमण हुनुभन्दा केही घण्टाअघि मात्र इरानी अधिकारीहरूले सुरक्षित आवागमनका लागि हरियो झण्डा देखाएको दाबी गरिएको छ । आक्रमणलगत्तै जहाज फारसको खाडीतर्फ मोडिएको जहाज ट्र्याकिङ तथ्याङ्कले देखाएको छ ।
भारतका जहाज, बन्दरगाह तथा जलमार्गसम्बन्धी मन्त्री सर्वानन्द सोनोवालले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जहाजमाथि प्रक्षेपास्त्र (प्रोजेक्टाइल) आक्रमण भएको जानकारी दिँदै ६ भारतीय नागरिकसहित सबै २५ चालक दलका सदस्य सुरक्षित रहेको बताएका छन् । यस्तै, कतार ग्यास ट्रान्सपोर्ट कम्पनी लिमिटेडले जहाजमा हमला भएको पुष्टि गर्दै जहाज अझै सञ्चालनमा रहेको र क्षतिको मूल्याङ्कन भइरहेको जनाएको छ ।
अत्यधिक ऊर्जा अभाव झेलिरहेको पाकिस्तानले इरानसँगको सम्बन्ध र मध्यस्थकर्ताको भूमिकामार्फत पछिल्लो एक महिनामा अन्य कतारी एलएनजी ढुवानीहरूलाई ओमानको खाडीसम्म सुरक्षित पार गराउन सफल भएको थियो । तर, पछिल्लो आक्रमणको कारण स्पष्ट भइसकेको छैन । यसले युद्धअघिको तुलनामा तीन गुणाभन्दा बढी महँगो ‘स्पट मार्केट’ बाट ग्यास किन्नुपर्ने बाध्यता पाकिस्तानसामु सिर्जना गर्न सक्ने देखिएको छ । यस विषयमा पाकिस्तानको पेट्रोलियम मन्त्रालय, कतार इनर्जी र इरानको विदेश मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।














प्रतिक्रिया