‘चिकित्सक संघको काम आन्दोलन गर्नेमात्रै भयो, यसलाई सुधार्छु’ « Khabarhub

‘चिकित्सक संघको काम आन्दोलन गर्नेमात्रै भयो, यसलाई सुधार्छु’


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा डा. नारायण भुसालले अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनी किष्ट मेडिकल कलेजमा युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जनका रुपमा कार्यरत छन् । डा. भुसालले आफूलाई स्वतन्त्र उम्मेदवारका रूपमा प्रस्तुत गर्दै नेपाल चिकित्सक संघ (एनएमए) लाई सबै चिकित्सकको साझा र विश्वासिलो संस्था बनाउने लक्ष्य राखेको बताएका छन् ।

एनएमको निर्वाचन काठमाडौं उपत्यकाबाहिर माघ २ र ३ गते र काठमाडौं उपत्यकामा १५, १६ र १७ गतेका लागि तोकिएको थियो ।

यद्यपि उच्च अदालत पाटनको आदेशपछि तत्कालका लागि निर्वाचन स्थगित भएको छ । संघको निर्वाचनमा केन्द्रित भएर खबरहबले डा. भुसालसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

नेपाल चिकित्सक संघको आगामी नेतृत्वका लागि स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिनुभएको छ । के छन् तपाईँका एजेण्डा ?

म विगत १२ वर्षदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत छु । यो दौरानमा मैले चिकित्सकहरुले भोगेका विभिन्न किसिमका समस्याहरु र दैनिक रुपमा स्वास्थ्य क्षेत्रमा देखिएका इस्युको अनुभव गरेको छु । ती समस्या समाधान गर्नका लागि चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघको स्थापना भएको हो । यो संगठनले सरकारलाई पोलीसी लेबलमा गाइड गर्दै आएको छ र चिकित्सकहरुको हकहितमा पनि काम गर्दै आएको छ । संघले गर्ने कामकारवाहीमा परिवर्तन ल्याउने जमर्को गरेर मैले उम्मेदवारी दिएको हुँ ।

सरकारी, निजी र ग्रामीण क्षेत्रमा कार्यरत चिकित्सकहरूको समस्या फरक–फरक छन् । सबैलाई समेट्नका लागि तपाईँले के कस्ता योजना ल्याउनुभएको छ ?

नेपालमा चिकित्सहरुको समस्याहरु धेरै छन् । जसलाई हामी विभिन्न भागमा बाँड्न सक्छौँ । त्यसमा पनि चिकित्सकहरुको सुरक्षा अथवा उनीहरुले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्‍यो भन्ने हो । त्यो वातावरण अहिले छैन । हामीले बेला बेलामा स्वास्थ्यकर्मीमाथि हातपात भएका घटनाहरु देख्दै सुन्दै आएका छौँ । हुन त चिकित्सक संघले कहिलेकाहीँ विज्ञप्ति निकाल्ने, आन्दोलन गर्नेजस्ता कामहरु पनि गर्दै आएको छ । तर, त्यतिले मात्रै पुगेको छैन ।

अहिले चिकित्सक र आम जनताबीच एक किसिमको अविश्वासको खाडल छ, यसलाई पुर्न जरुरी छ । हामीले पनि आम जनताको मन जितेर विश्वास जगाउनु छ । त्यो क्षेत्रमा म काम गर्न चाहान्छु । त्यसको लागि अहिले हामीसँग भएको जुन संघ छ, त्यसलाई समावेशी गराएर अगाडी बढ्ने योजना छ । जस्तै, अहिले देशभर लगभग ४५ हजार चिकित्सकमध्ये १६ हजारमात्रै संघमा आबद्ध छन् ।

यदि चिकित्सक संघ समावेशी भयो भने संघको कुरा सरकारले पनि सुन्छ जस्तो मलाई लाग्छ । किनभने जब चिकित्सक संघ समावेशी हुन्छ तब आफ्ना एजेण्डाहरु लिएर दह्रोसँग उभिनसक्छ । तबमात्रै यसको प्रभावकारिता बढ्छ ।

त्यस्तै, सेक्युरीटीको हिसाबले हेर्दा कुनै पनि स्वास्थ्यकर्मीले सुरक्षित वातावरण नभएसम्म राम्रोसँग काम गर्न सक्दैन । यसमा धेरै सुधार र्नुपर्ने देखिन्छ । अहिले हामीसँग भएका कानुनकै अधिनमा रहेर काम गर्नसके पनि धेरै हुन्छ । किनकी कानुनमा धेरै कुराहरु समेटिएको छ । तर, कार्यान्वयन भइरहेको छैन ।

त्यस्तै अन्य कुराहरुमा पनि सुधार आवश्यक छ । जस्तै नेपालमा जति पनि हामी चिकित्सकहरु छौँ, अन्य मुलुकसँग तुलना गर्ने हो भने अहिलेको हाम्रो आम्दानी १५-२० गुणा कम छ ।

तर, पढाइ भने महङ्गो छ । एउटा डाक्टर भएर निस्किँदा कम्तिमा एक-डेढ करोड खर्च लाग्छ । एकातिर महङ्गो पढाइ र न्यून तलब, त्यसमा पनि वर्षौँदेखि सरकारी दरबन्दी पनि थपिएको छैन । जसको परिणामस्वरुप धेरै योग्य चिकित्सकहरु विदेश जान बाध्य छन् । त्यसैले, चिकित्सकलाई नेपालमै बसेर काम गर्ने वातावरण बनाउनका लागि पनि हामीले काम गर्न जरुरी छ ।

चिकित्सकमाथि हुने हिंसा, असुरक्षा र कानुनी झन्झट समाधानका लागि संघले कसरी काम गर्दै आएको छ ? तपाईँ अध्यक्ष भए के फरक हुन्छ ?

संघले हाम्रो पक्षमा कामै गरेन त भन्न मिल्दैन । विज्ञप्ति निकाल्ने, खबरदारी गर्नेजस्ता कामहरु त गर्दै आएको छ । तर, काम गर्ने तरिकामा फरक हुनुपर्छ भन्ने मेरो मान्यता हो । हामीले चिकित्सक संघलाई एउटा ‘रियाक्टिभ बडी’ जस्तो बनायौँ । कतै झगडा पर्‍यो भने आन्दोलन घोषणा गर्ने, विज्ञप्ति निकाल्ने गरेर मात्रै हुँदैन । यस्तो हुँदा संघ त्यति बलियो देखिँदैन । संघले आन्दोलन घोषणा गर्छ, त्यो आन्दोलन कुनै निष्कर्षै नपुगी सकिन्छ । एउटा यो पाटो भयो भने अर्को चाहिँ संघको आवाज सरकारले पनि सुनेको छैन ।

देशको राजनितिक अवस्था नै यस्तै छ । चिकित्सकहरु पनि कुनै न कुनै दलसँग जोडिएका छन् । त्यस्तै, चिकित्सकमाथि हातपात गर्ने मान्छे पनि कुनै दलसँग जोडिएको हुन्छ । त्यस्तो अवस्थामा संघ स्वतन्त्र भए पो एउटा अडान लिन सक्छ । तर चिकित्सकहरु पनि कतै न कतै जोडिएका हुन्छन् र ठोस परिणाम नआउँदै आन्दोलन रोकिन्छ ।

कानुन अनुसार यदि कसैले चिकित्सकमाथि हातपात गर्छ भने उसलाई पक्राउ गरेर कारवाही प्रक्रिया अगाडी बढाउन पाइन्छ । तर यसको कार्यान्वयन भइरहेको छैन । यो हुनुको कारण चिकित्सकहरु राजनितिक दलसँग जोडिनु हो । त्यसैले, देशभरका सम्पूर्ण चिकित्सकहरु कुनै राजनितिक दलसँग आबद्ध भएर होइन, स्वतन्त्र रुपमा संघमा जोडिन आवश्यक छ ।

स्वतन्त्रबाट उम्मेदवारी दिँदा चिकित्सक सहकर्मीहरुबाट के-कस्तो सहयोग पाउनुभएको छ नि ?

सहकर्मीहरुबाट धेरै राम्रो प्रतिक्रिया पाएको छु । अग्रज चिकित्सकहरुले हामीले चाहेको र खासमा हुनुपर्ने यस्तै नै हो भन्नुभएको छ । चिकित्सक संघ मात्रै होइन, नेपालका हरेक संस्थामा राजनिति घुसेको पाइन्छ । जसका कारण प्रभवकारी कामहरु हुन सकिरहेको छैन ।

त्यसैले, अहिले हामीले के चाहेका छौँ भने अब चिकित्सकको लागि चिकित्सकबाट चिकित्सकको हकहितमा काम गर्ने र सरकारका राम्रा काममा साथ दिने अनि नराम्रा काममा खबरदारी गर्ने कुरा गरिरहेकाले धेरै चिकित्सकहरुको साथ सपोर्ट मैले पाएको छु ।

याहाँले सरकारको कुरा गर्नुभयो । सरकारसँगको सम्बन्धलाई सुमधुर बनाउँदै स्वास्थ्य नीतिका विषयमा संघको भूमिका कसरी प्रभावकारी बनाउन सकिन्छ ? तपाईँको योजना के छ ?

चिकित्सक संघ भनेको चिकित्सकको हकहितका लागि मात्रै नभएर सरकारलाई सहि पोलिसीमा डोहोर्‍याउने संस्था पनि हो । नेपालमा स्वास्थ्य क्षेत्रमा अहिलेसम्म धेरै राम्रो काम पनि भएको छ । तर यसलाई अझै राम्रो गर्न सकिन्छ ।

हामीले विभिन्न देशको स्वास्थ्य प्रणालीको अनुकरण पनि गर्न सक्छौँ । किनकी कतिपय कुरामा हामी अझै पछि छौँ । जस्तै अहिले टिचिङ, वीरजस्ता एक दुई वटा अस्पतालमा हजारौं बिरामीको भिड छ ।

भन्नुको अर्थ विकेन्द्रीकरणमा समस्या देखियो । जस्तै, स्वास्थ्य बीमाले केही सहयोग पुर्‍याउन खोजेको छ । तर, प्रभावकारी भइरहेको छैन । त्यस्तै, कुनै अस्पतालको प्रमुख नियुक्त गर्दा पारदर्शी व्यवस्था छैन, भित्रभित्रै पैसाको लेनदेन गरेर नियुक्त गरेको सुनिन्छ । यसैगरी, स्वास्थ्य उपकरणहरु किन्दा भ्रष्टाचार गरेको लगायत धेरै बेथितीहरु छन् । यसलाई चिर्न जरुरी छ ।

हाम्रो पेसा विशुद्ध सेवमुखी हो । यसमा पारदर्शीता र जवाफदेहिता चाहिन्छ । यसका लागि हरेक कुराहरु सिस्टममा हुनुपर्छ भन्ने हो ।

निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूको पारिश्रमिक, कामको समय र श्रम अधिकार सुनिश्चित गर्न संघले के गर्न सक्छ ?

यसमा हाम्रो एउटा धारणा छ । हाम्रो टिमले प्रतिबद्धतापत्र पनि जारी गर्दै छ । चिकित्सकहरुले काम गर्दा आफ्नो ‘वर्कलोड’ लाई ब्यालेन्स गरेर काम गर्न पनि जरुरी छ ।

किनभने कुनै एउटा पेसेन्टको जीवन मरणको लागि चिकित्सकले काम गर्दैछ भने उ मानसिक र शारीरिक रुपमा फिट हुनुपर्छ । त्यसैले, निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुको काम गर्ने समय र पारिश्रमिकमा कसरी सुधार गर्न सकिन्छ भनेर हामीले बृहत छलफल गर्दैछौँ ।

सरकारी स्वास्थ्य संस्थामा सुधार गर्न सजिलो छ । त्यहाँ सरकारलाई दबाब दिँदा पुग्छ । निजी स्वास्थ्य संस्थालाई एकैपटक दबाब दिन मिल्दैन । तर विभिन्न सुझावहरु दिन भने मिल्छ ।

भिडियोमा पनि हेर्नुहोस् :

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ४ : २८ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान