हिउँ र चिसोमा हराइरहेको डोल्पा : ६ महिना न शिक्षा न स्वास्थ्य ! « Khabarhub

हिउँ र चिसोमा हराइरहेको डोल्पा : ६ महिना न शिक्षा न स्वास्थ्य !

हिउँमा थुनिएको डोल्पामा भाग्यले बाँच्छन् सुत्केरी


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देश अहिले चुनावमय बनेको छ। विभिन्न राजनीतिक दलका नेता र कार्यकर्ता भोट माग्न जनताको घरदैलोमा पुगेका छन्। जनताका दुःख सुन्न व्यस्त भनिएका राजनीतिक दलका प्रतिनिधि कतिपय दुर्गम ठाउँमा पुग्न सक्ने अवस्था नै छैन।

माथिल्लो डोल्पाका बासिन्दा यतिबेला घरबाहिर निस्किन पनि जोखिम ठान्छन्। जाडोको छ महिनासम्म लगातार हिमपात तथा अत्यधिक चिसो हुने भएकाले हिमाली गाउँमा दैनिक जीवन चलाउन धौ-धौ परेको हुन्छ।

चुनाव के हो? किन चुनाव भइरहेको छ? यो सवालमा माथिल्लो डोल्पाका स्थानीयलाई कुनै चासो छैन। न उम्मेदवार त्यो ठाउँमा पुग्न सक्छन्, न त मतदाताले उम्मेदवारका योजना नै सुन्ने अवस्था रहन्छ।

मंसिरदेखि वैशाखसम्मको ६ महिना चिसोबाट जोगिनु नै उनीहरूको मुख्य चुनौती हो। ‘अपर डोल्पा’मा पर्ने दुई स्थानीय तह- डोल्पोबुद्ध र शे-फोक्सुण्डो गाउँपालिकाको जनजीवन अत्यन्तै कष्टकर हुने गर्दछ।

‘मंसिरदेखि वैशाखसम्म ६ महिना यहाँको जनजीवन एकदमै कष्टकर हुन्छ’, चिसोबाट जोगिन काठमाडौं आएका डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले भने।

उनका अनुसार गाउँपालिकाका कर्मचारी लगायत हुनेखाने वर्गका मानिस काठमाडौं, पोखरा, नेपालगञ्ज र सुर्खेतजस्ता सहरमा सुविधा र आराम खोज्न जान्छन्। तर, गरिब परिवार बिहानदेखि बेलुकासम्म चिसो र कठिन परिस्थितिमा दिन काट्न बाध्य हुन्छन्।

६ महिना आधारभूत सेवाबाटै वञ्चित उपाध्यक्ष गुरुङका अनुसार बालबालिकाको पढाइ, बालबालिका तथा गर्भवती आमाले लगाउनुपर्ने नियमित खोपसमेत ६ महिनासम्म उपलब्ध हुन सक्दैन। बिरामी हुँदा स्वास्थ्य केन्द्रसम्म पुग्न पनि मुस्किल पर्छ।

स्वयंसेविका र अनमीको भरमा सुरक्षित प्रसूति गराउन गाउँगाउँमा बर्थिङ सेन्टर बनेका छन्, तर जटिल अवस्था आउँदा त्यहाँ डाक्टर हुँदैनन्। वर्षमा ६ महिना सञ्चालन हुने सेवा पनि हिउँदमा पूर्णतः बन्द हुन्छ।

धेरै आमाले घरमै असुरक्षित रूपमा बच्चा जन्माउँछन्। ‘गाह्रो पर्दा पहुँच भएकालाई हेलिकोप्टरमार्फत उद्धार गरेर सुर्खेत वा नेपालगञ्ज लगिन्छ, नभए ज्यान गुमाउनुपर्ने अवस्था छ। भाग्यले मात्रै बाँच्छन् त्यहाँका आमाहरू’, उनले भने।

घर न्यानो बनाउने इन्धनको अभाव, पर्याप्त खाना र सुरक्षित आवासको कमीले उनीहरूको जीवन अझ कठिन बनाइरहेको उपाध्यक्ष गुरुङ बताउँछन्।

सडकको पहुँचबाहिर डोल्पो कर्णाली प्रदेशको डोल्पा जिल्लामा अवस्थित डोल्पोबुद्ध गाउँपालिका उपल्लो डोल्पा क्षेत्रको प्रमुख स्थानीय तह हो। हिमाली भेगमा पर्ने यो गाउँपालिका भौगोलिक रूपमा अत्यन्तै दुर्गम र मौसमका दृष्टिले कठोर मानिन्छ।

करिब दुई हजार चार सय जनसंख्या रहेको यो स्थानीय तह हालसम्म सडक सञ्जालमा जोडिन सकेको छैन। डोल्पोबुद्ध गाउँपालिका बौद्ध संस्कृति र भोटे परम्पराका लागि चिनिन्छ। यहाँका गुम्बा, प्राचीन बस्ती र हिमाली दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने प्रचुर सम्भावना बोकेका छन्। तर, सडक, सञ्चार र स्वास्थ्य सेवाको अभावले पर्यटन प्रवर्द्धन अपेक्षाकृत सुस्त छ।

यातायात चल्ने बाटोसम्म पुग्न तीन दिन पैदल हिँड्नुपर्छ भने जिल्ला अस्पताल पुग्न एक हप्ताभन्दा बढी समय लाग्छ। जसका कारण शिक्षा र स्वास्थ्य सेवामा नागरिकको पहुँच पुग्न नसकेको गुरुङको भनाइ छ।

आधुनिक चिकित्साको अभावमा स्थानीय बासिन्दा धामी-झाँक्रीकै भरमा उपचार गराउन बाध्य हुनुपरेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मी बताउँछन्।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  १० : ४५ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको