काठमाडौं- लोकतान्त्रिक व्यवस्थामा संसद् केवल कानुन निर्माण गर्ने थलो मात्र नभई राष्ट्रको राजनीतिक संस्कार, नैतिकता र नेतृत्व क्षमताको प्रतिबिम्ब पनि हो । संसदमा हुने प्रत्येक गतिविधिलाई देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय समुदायले समेत निकै चासोका साथ नियालिरहेको हुन्छ ।
तर, गत आइतबार प्रतिनिधि सभामा देखिएको उद्दण्डताले संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासमाथि नै गम्भीर प्रश्न उठाइदिएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति समेत रहिसकेका सभामुख अर्यालले जबरजस्ती नियमावली पारित गर्न खोजेको भन्दै प्रतिपक्षी सांसदहरू एकाएक होहल्ला गर्दै रोस्ट्रमतर्फ बढेपछि संसद् रणभूमिमा परिणत भयो ।
मर्यादापालकको घेराभित्र सभामुख, सत्तारुढ सांसद र प्रतिपक्षबीच ठेलमठेल मात्र भएन, झण्डै हात हालाहालको अवस्था सिर्जना भयो । यस क्रममा नेकपा एमालेका सांसद्द्वय ऐन महर र रिंगला यादवले संसदीय मर्यादाको धज्जी उडाउँदै रोस्ट्रमै पुगेर सभामुखको माइक खोस्ने प्रयास गरे ।
त्यस्तै रास्वपा सांसद् आशिका तामाङ प्रतिपक्षले बारम्बार औँला उठाएर गाली गरेको र सभामुखलाई हेपेको भन्दै संसद् चलिरहेकै बेला अचानक ’फायर’ भइन् । आक्रोश नियन्त्रणबाहिर गएपछि जङ्गिएकी तामाङलाई हलबाटै बाहिर निकाल्नुपर्ने परिस्थिति बन्यो ।
मनोचिकित्सक डा. पद्मप्रसाद घिमिरेका अनुसार सार्वजनिक स्थलमा देखाइने अधिकांश रिस सचेत र उद्देश्यपूर्ण हुन्छन् । धेरैजसो अवस्थामा व्यक्तिहरूले आफ्नो उपस्थिति बलियो बनाउन, ध्यान आकर्षित गर्न वा आफ्नो धारणा स्थापित गर्न रिसको प्रदर्शन गर्ने गरेको उनले बताए ।
तर, यस्तो व्यवहार बारम्बार दोहोरिँदा संस्थागत मर्यादा कमजोर बन्नुका साथै संस्थागत विश्वास र सामाजिक संस्कारमा समेत असर पार्ने डा. घिमिरेको बुझाइ छ । डा. घिमिरेका अनुसार सार्वजनिक जीवन वा संसद् जस्तो गरिमामय ठाउँमा देखाइने रिस सधैँ अचानक आउने शारीरिक प्रतिक्रिया मात्र हुँदैन ।
‘संसद् वा उच्च ओहोदामा देखिने रिस ९० प्रतिशत र्याशनल (तार्किक वा सचेत) हुन्छ,’ डा. घिमिरेले भने । यसको मुख्य उद्देश्य अरूको ध्यान आकर्षण गर्नु, मिडियामा सस्तो चर्चा कमाउनु वा आफ्ना कुरा जबरजस्ती सुनाउनु भन्ने रणनीतिबाट निर्देशित हुने उनले बताए । कतिपय अवस्थामा भने यस्तो रिस प्रदर्शन पहिले नै तय गरिएको ’बनावटी नाटक’ जस्तै समेत हुन सक्ने उनको धारणा छ ।
यद्यपि, राजनीतिक कुण्ठा, विचारको अन्तरविरोध वा हर्मोनल असन्तुलन जेसुकै कारण भएपनि नेतृत्व तहको एकैछिनको आवेगले विधिको शासन र सामाजिक विश्वासको धज्जी उडाइरहेको हुन्छ ।
त्यसैले नेता, कर्मचारी, शिक्षक वा चिकित्सक जस्ता जिम्मेवार पदमा रहेका व्यक्तिहरूले आफ्नो मानसिक सन्तुलन र व्यवहारलाई सधैँ उच्च राख्नुपर्ने डा. घिमिरेको सुझाव छ ।
रिस नियन्त्रण गर्न के गर्ने ?
१. ’माइन्ड मेकअप’ र कार्यक्षेत्रको पूर्वतयारी
डा. घिमिरेको सुझावमा जुनसुकै सार्वजनिक मञ्च वा कार्यक्षेत्रमा जाँदा पनि मानसिक रूपमा पूर्वतयारी गरेर जानु आवश्यक हुन्छ । ‘मैले आफ्नो कुरा राख्दा वा निर्णय गर्दा विरोधी पक्ष आक्रोशित हुन सक्छन् वा ममाथि प्रश्न उठ्न सक्छ भन्ने मानसिकता पहिले नै बनाएर कार्यक्षेत्रमा प्रवेश गर्नुपर्छ,’ उनले भने ।
सम्भावित चुनौती र आलोचनाको पूर्वानुमान गर्दा अचानक आउने आवेग वा रिसबाट सजिलै बच्न सकिन्छ ।
२. अति आवेग र खुशीको अवस्थामा तुरुन्तै निर्णय नगर्ने
मनोविज्ञानको सर्वमान्य नियम छ— अत्यधिक रिस उठेको बेला वा अत्यधिक खुशी भएको बेला कहिल्यै पनि तुरुन्तै जवाफ वा निर्णय दिनु हुँदैन । आक्रामक जवाफको प्रतिक्रिया सधैँ घातक रूपमा आउने डा. घिमिरेले बताए ।
जब कसैले उत्तेजित पार्ने प्रयास गर्छ, त्यतिबेला केही सेकेन्ड मौन बस्ने वा ‘म यसको जवाफ उपयुक्त समयमा दिनेछु’ भनी संयमता अपनाउने संस्कारको विकास गर्नुपर्ने उनले बताए ।
३. रिसलाई शक्तिको दुरुपयोगका रूपमा प्रयोग नगर्ने
डा. घिमिरेको बुझाइमा रिस आफैँमा एउटा संवेग वा ’पावर’ (शक्ति) हो । नेताले कार्यकर्तामा, हाकिमले कर्मचारीमा वा सुरक्षाकर्मीले सर्वसाधारणमा रिस देखाएर अरूलाई नियन्त्रणमा राख्न खोज्नु शक्तिको सरासर दुरुपयोग हुन्छ ।
आवश्यक नभएको ठाउँमा रिस देखाएर क्षणिक डर पैदा गर्नुभन्दा आफ्नो तर्क, ज्ञान र व्यवहारले मानिसहरूको मन जित्नु नै वास्तविक नेतृत्वको पहिचान भएको उनको सुझाव छ ।
४. पूर्वीय जीवनशैली, अध्यात्म र सात्विक आचरणको अवलम्बन
शारीरिक र मानसिक स्वास्थ्य एक आपसमा जोडिएका छन् । रिस शरीरका विभिन्न अङ्ग वा ग्रन्थीहरूमा गाँठो परेर बसेको हुन्छ, जसलाई ’रिलिज’ गर्न शारीरिक व्यायाम र ’जोइन्ट’ चलाउने अभ्यासहरू आवश्यक पर्छन् । यसका साथै नियमित ध्यान र सात्विक भोजनले मस्तिष्कलाई शान्त राख्न मद्दत गर्ने उनले बताए ।
विभिन्न अध्ययनहरूका अनुसार, नैतिक मूल्यमान्यता वा कुनै शक्तिमा आस्था नभएका मानिसहरू बढी अशान्त र हिंस्रक हुने गर्दछन् । अध्यात्म र नैतिक आचरणले मानिसमा लचकता ल्याउँछ, जसले नेतृत्वलाई समाजमा ’टावरिङ पर्सनालिटी’ (उच्च र सर्वस्वीकार्य व्यक्तित्व) बनाउन मद्दत गर्छ ।
५. आत्मरक्षा र प्रतिरक्षाको सही बुझाइ
यदि कसैले आफ्नो अस्तित्व, आत्मसम्मान वा ज्यानमाथि नै खतरा पैदा गर्छ भने आत्मरक्षाका लागि आक्रोशित हुनु स्वाभाविक हो, जसलाई मनोविज्ञानले रिस मान्दैन ।
जसरी बुद्धमार्गीहरूले आक्रमण गर्न होइन, बरु आक्रमणकारीबाट बच्नका लागि ‘मार्सल आर्ट’ को विकास गरेका थिए, त्यसैगरी समाजमा आवेगको सामना गर्दा कि त काउन्टर दिन सक्ने बौद्धिक एवं तार्किक क्षमता हुनुपर्छ, कि त संयमित भएर परिस्थितिबाट साइड लाग्न सक्नुपर्छ ।
देशको नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने तहमा बसेका व्यक्तिहरूको काँधमा देशकै प्रतिष्ठा जोडिएको हुन्छ । आक्रोश र दम्भले क्षणिक रूपमा आफ्नो राजनीतिक वा व्यक्तिगत स्वार्थ पूरा भए जस्तो देखिए पनि यसले दीर्घकालीन रूपमा व्यक्ति र संस्था दुवैको साख सधैँका लागि गिराउँछ ।
त्यसैले, उच्च ओहोदामा रहेका सम्पूर्ण नेता, कार्यकर्ता र कर्मचारीहरूले रिसलाई आफ्नो कमजोरी होइन, विवेकलाई आफ्नो हतियार बनाएर अघि बढ्नु नै आजको आवश्यकता रहेको डा. घिमिरेले बताए ।













प्रतिक्रिया