संसदमा कुस्ती खेल्ने सांसदलाई मनोविदका ५ सुझाव : माइण्ड मेकअपदेखि सात्विक आचरणसम्म « Khabarhub

संसदमा कुस्ती खेल्ने सांसदलाई मनोविदका ५ सुझाव : माइण्ड मेकअपदेखि सात्विक आचरणसम्म


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोकतान्त्रिक व्यवस्थामा संसद् केवल कानुन निर्माण गर्ने थलो मात्र नभई राष्ट्रको राजनीतिक संस्कार, नैतिकता र नेतृत्व क्षमताको प्रतिबिम्ब पनि हो । संसदमा हुने प्रत्येक गतिविधिलाई देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय समुदायले समेत निकै चासोका साथ नियालिरहेको हुन्छ ।

तर, गत आइतबार प्रतिनिधि सभामा देखिएको उद्दण्डताले संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासमाथि नै गम्भीर प्रश्न उठाइदिएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति समेत रहिसकेका सभामुख अर्यालले जबरजस्ती नियमावली पारित गर्न खोजेको भन्दै प्रतिपक्षी सांसदहरू एकाएक होहल्ला गर्दै रोस्ट्रमतर्फ बढेपछि संसद् रणभूमिमा परिणत भयो ।

मर्यादापालकको घेराभित्र सभामुख, सत्तारुढ सांसद र प्रतिपक्षबीच ठेलमठेल मात्र भएन, झण्डै हात हालाहालको अवस्था सिर्जना भयो । यस क्रममा नेकपा एमालेका सांसद्‍द्वय ऐन महर र रिंगला यादवले संसदीय मर्यादाको धज्जी उडाउँदै रोस्ट्रमै पुगेर सभामुखको माइक खोस्ने प्रयास गरे ।

त्यस्तै रास्वपा सांसद् आशिका तामाङ प्रतिपक्षले बारम्बार औँला उठाएर गाली गरेको र सभामुखलाई हेपेको भन्दै संसद् चलिरहेकै बेला अचानक ’फायर’ भइन् । आक्रोश नियन्त्रणबाहिर गएपछि जङ्गिएकी तामाङलाई हलबाटै बाहिर निकाल्नुपर्ने परिस्थिति बन्यो ।

मनोचिकित्सक डा. पद्मप्रसाद घिमिरेका अनुसार सार्वजनिक स्थलमा देखाइने अधिकांश रिस सचेत र उद्देश्यपूर्ण हुन्छन् । धेरैजसो अवस्थामा व्यक्तिहरूले आफ्नो उपस्थिति बलियो बनाउन, ध्यान आकर्षित गर्न वा आफ्नो धारणा स्थापित गर्न रिसको प्रदर्शन गर्ने गरेको उनले बताए ।

तर, यस्तो व्यवहार बारम्बार दोहोरिँदा संस्थागत मर्यादा कमजोर बन्नुका साथै संस्थागत विश्वास र सामाजिक संस्कारमा समेत असर पार्ने डा. घिमिरेको बुझाइ छ । डा. घिमिरेका अनुसार सार्वजनिक जीवन वा संसद् जस्तो गरिमामय ठाउँमा देखाइने रिस सधैँ अचानक आउने शारीरिक प्रतिक्रिया मात्र हुँदैन ।

‘संसद् वा उच्च ओहोदामा देखिने रिस ९० प्रतिशत र्‍याशनल (तार्किक वा सचेत) हुन्छ,’ डा. घिमिरेले भने । यसको मुख्य उद्देश्य अरूको ध्यान आकर्षण गर्नु, मिडियामा सस्तो चर्चा कमाउनु वा आफ्ना कुरा जबरजस्ती सुनाउनु भन्ने रणनीतिबाट निर्देशित हुने उनले बताए । कतिपय अवस्थामा भने यस्तो रिस प्रदर्शन पहिले नै तय गरिएको ’बनावटी नाटक’ जस्तै समेत हुन सक्ने उनको धारणा छ ।

यद्यपि, राजनीतिक कुण्ठा, विचारको अन्तरविरोध वा हर्मोनल असन्तुलन जेसुकै कारण भएपनि नेतृत्व तहको एकैछिनको आवेगले विधिको शासन र सामाजिक विश्वासको धज्जी उडाइरहेको हुन्छ ।

त्यसैले नेता, कर्मचारी, शिक्षक वा चिकित्सक जस्ता जिम्मेवार पदमा रहेका व्यक्तिहरूले आफ्नो मानसिक सन्तुलन र व्यवहारलाई सधैँ उच्च राख्नुपर्ने डा. घिमिरेको सुझाव छ ।

रिस नियन्त्रण गर्न के गर्ने ?

१. ’माइन्ड मेकअप’ र कार्यक्षेत्रको पूर्वतयारी
डा. घिमिरेको सुझावमा जुनसुकै सार्वजनिक मञ्च वा कार्यक्षेत्रमा जाँदा पनि मानसिक रूपमा पूर्वतयारी गरेर जानु आवश्यक हुन्छ । ‘मैले आफ्नो कुरा राख्दा वा निर्णय गर्दा विरोधी पक्ष आक्रोशित हुन सक्छन् वा ममाथि प्रश्न उठ्न सक्छ भन्ने मानसिकता पहिले नै बनाएर कार्यक्षेत्रमा प्रवेश गर्नुपर्छ,’ उनले भने ।

सम्भावित चुनौती र आलोचनाको पूर्वानुमान गर्दा अचानक आउने आवेग वा रिसबाट सजिलै बच्न सकिन्छ ।

२. अति आवेग र खुशीको अवस्थामा तुरुन्तै निर्णय नगर्ने
मनोविज्ञानको सर्वमान्य नियम छ— अत्यधिक रिस उठेको बेला वा अत्यधिक खुशी भएको बेला कहिल्यै पनि तुरुन्तै जवाफ वा निर्णय दिनु हुँदैन । आक्रामक जवाफको प्रतिक्रिया सधैँ घातक रूपमा आउने डा. घिमिरेले बताए ।

जब कसैले उत्तेजित पार्ने प्रयास गर्छ, त्यतिबेला केही सेकेन्ड मौन बस्ने वा ‘म यसको जवाफ उपयुक्त समयमा दिनेछु’ भनी संयमता अपनाउने संस्कारको विकास गर्नुपर्ने उनले बताए ।

३. रिसलाई शक्तिको दुरुपयोगका रूपमा प्रयोग नगर्ने
डा. घिमिरेको बुझाइमा रिस आफैँमा एउटा संवेग वा ’पावर’ (शक्ति) हो । नेताले कार्यकर्तामा, हाकिमले कर्मचारीमा वा सुरक्षाकर्मीले सर्वसाधारणमा रिस देखाएर अरूलाई नियन्त्रणमा राख्न खोज्नु शक्तिको सरासर दुरुपयोग हुन्छ ।

आवश्यक नभएको ठाउँमा रिस देखाएर क्षणिक डर पैदा गर्नुभन्दा आफ्नो तर्क, ज्ञान र व्यवहारले मानिसहरूको मन जित्नु नै वास्तविक नेतृत्वको पहिचान भएको उनको सुझाव छ ।

४. पूर्वीय जीवनशैली, अध्यात्म र सात्विक आचरणको अवलम्बन
शारीरिक र मानसिक स्वास्थ्य एक आपसमा जोडिएका छन् । रिस शरीरका विभिन्न अङ्ग वा ग्रन्थीहरूमा गाँठो परेर बसेको हुन्छ, जसलाई ’रिलिज’ गर्न शारीरिक व्यायाम र ’जोइन्ट’ चलाउने अभ्यासहरू आवश्यक पर्छन् । यसका साथै नियमित ध्यान र सात्विक भोजनले मस्तिष्कलाई शान्त राख्न मद्दत गर्ने उनले बताए ।

विभिन्न अध्ययनहरूका अनुसार, नैतिक मूल्यमान्यता वा कुनै शक्तिमा आस्था नभएका मानिसहरू बढी अशान्त र हिंस्रक हुने गर्दछन् । अध्यात्म र नैतिक आचरणले मानिसमा लचकता ल्याउँछ, जसले नेतृत्वलाई समाजमा ’टावरिङ पर्सनालिटी’ (उच्च र सर्वस्वीकार्य व्यक्तित्व) बनाउन मद्दत गर्छ ।

५. आत्मरक्षा र प्रतिरक्षाको सही बुझाइ
यदि कसैले आफ्नो अस्तित्व, आत्मसम्मान वा ज्यानमाथि नै खतरा पैदा गर्छ भने आत्मरक्षाका लागि आक्रोशित हुनु स्वाभाविक हो, जसलाई मनोविज्ञानले रिस मान्दैन ।

जसरी बुद्धमार्गीहरूले आक्रमण गर्न होइन, बरु आक्रमणकारीबाट बच्नका लागि ‘मार्सल आर्ट’ को विकास गरेका थिए, त्यसैगरी समाजमा आवेगको सामना गर्दा कि त काउन्टर दिन सक्ने बौद्धिक एवं तार्किक क्षमता हुनुपर्छ, कि त संयमित भएर परिस्थितिबाट साइड लाग्न सक्नुपर्छ ।

देशको नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने तहमा बसेका व्यक्तिहरूको काँधमा देशकै प्रतिष्ठा जोडिएको हुन्छ । आक्रोश र दम्भले क्षणिक रूपमा आफ्नो राजनीतिक वा व्यक्तिगत स्वार्थ पूरा भए जस्तो देखिए पनि यसले दीर्घकालीन रूपमा व्यक्ति र संस्था दुवैको साख सधैँका लागि गिराउँछ ।

त्यसैले, उच्च ओहोदामा रहेका सम्पूर्ण नेता, कार्यकर्ता र कर्मचारीहरूले रिसलाई आफ्नो कमजोरी होइन, विवेकलाई आफ्नो हतियार बनाएर अघि बढ्नु नै आजको आवश्यकता रहेको डा. घिमिरेले बताए ।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ६ : २४ बजे

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा