२५० रुपैयाँको सामान किन्दा १० लाख पुरस्कार, अर्थमन्त्रीले गरे फोन « Khabarhub

२५० रुपैयाँको सामान किन्दा १० लाख पुरस्कार, अर्थमन्त्रीले गरे फोन


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जना उपभोक्तालाई बधाई दिएका छन् । सरकारले बजेटमार्फत घोषणा गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो १५ दिनको नतिजा शुक्रबार सार्वजनिक गरिएको थियो ।

आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. वाग्लेले १५ जना १(१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका थिए । साउन १ देखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका तथा नगदमा कारोबार गरी विभागको प्रणालीमा बिल पेस गरेका उपभोक्ता यस कार्यक्रममा सहभागी थिए ।

जसमध्ये १५ दिनको बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ विजेता बनेका कञ्चनपुर पुनर्वास नगरपालिकाका हेमराज जोशीलाई फोन सम्पर्क गरेर अर्थमन्त्री डा। वाग्लेले बधाई दिए। विजेता जोशीले शिवकृष्ण जेनरल स्टोर्सबाट सामान खरिद गरेका थिए ।

‘हेमराज जी, बधाई छ। म संघीय सरकारको अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बोलेको,’ उनले भने, ‘ल, तपाईंलाई बधाई छ। बिल लिने र बिल दिने बानी बसाल्न सरकारले सुरु गरेको प्रोत्साहन कार्यक्रममा तपाईंले बम्पर उपहारस्वरूप १० लाख जित्नुभयो। तपाईंलाई कर कार्यालयका साथीहरूले सम्पर्क गर्नुहुन्छ है।’

अर्थमन्त्रीको बधाई फोनपछि अकमक्क भएका जोशीले अर्थमन्त्रीलाई धन्यवाद ज्ञापन गरे।

‘धेरै धेरै धन्यवाद अर्थमन्त्रीज्यू,’ १० लाख विजेता जोशीले फोनमा भने । जोशीले गत साउन ७ गते २५० रुपैयाँ पर्ने सामान अनलाइन बैंकिङमार्फत क्युआर स्क्यान गरी खरिद गर्दा १० लाख रुपैयाँ हात परेको हो ।

यसैगरी, अर्थमन्त्री वाग्लेले १ लाख रुपैयाँ विजेता रुपन्देहीकी सपना खरेललाई पनि बधाई दिए। खरेलले साउन ९ गते देवदह नगरपालिका मिलनचोकमा रहेको शुभसिद्धी सप्लायर्सबाट ९ सय रुपैयाँको तरकारी किनेकी थिइन्। अर्थमन्त्रीले फोन गरेर बधाई दिँदा विजेता सपना खरेलले विश्वास नै गरेकी थिइनन् ।

‘नमस्कार सपना जी, म स्वर्णिम वाग्ले। करदाता प्रोत्साहन कार्यक्रममा तपाईंले १ लाख रुपैयाँ पुरस्कार जित्नुभयो। ९ सय रुपैयाँको सामान किन्नुभएको थियो ?’ अर्थमन्त्रीको प्रश्नमा उनले भनिन्, ‘ए हो र ? मैले सामान त किनेको थिएँ।’

त्यसपछि अर्थमन्त्री वाग्लेले उनलाई आफूले किनेको सामानको बिल सुरक्षित राख्न आग्रह गरे। अर्थमन्त्री वाग्लेले जोशी र खरेल दुवैलाई अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागले सम्पर्क गरेर पुरस्कार जितेकोबारे विस्तृत जानकारी दिने पनि बताए। सो क्रममा उनले अन्य विजेतालाई पनि फोन सम्पर्क गरी बधाई दिने प्रयास गरेका थिए, तर उनीहरूसँग फोन सम्पर्क भएन।

सरकारले घोषणा गरेको करदाता प्रोत्साहन कार्यक्रम यही साउन १ गतेबाट कार्यान्वयनमा आएको छ। अनलाइन माध्यमबाट वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता यो उपहार कार्यक्रममा स्वतः सहभागी हुने प्रणाली विकास गरिएको छ। तर, वस्तु तथा सेवा खरिद गरेपछि भ्याट तथा प्यान बिल भने अनिवार्य रूपमा लिनुपर्ने हुन्छ।

यसैगरी, नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने सक्कल भ्याट तथा प्यान बिल लिएपछि त्यसलाई आन्तरिक राजस्व विभागको उपहार पोर्टल मा गएर दर्ता गराउनु पर्छ। सरकारले हरेक दिन एक जनालाई करकट्टी गरी १ लाख रुपैयाँ र प्रत्येक १५–१५ दिनमा २ जनालाई १०–१० लाख रुपैयाँ नगद प्रोत्साहन रकम उपलब्ध गराउनेछ।

उपहार हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन घोषणा हुनेछ। एक लाख रुपैयाँको कुल उपहार रकम एक लाख ३३ हजार ३३४ मा २५ प्रतिशत करकट्टी गरेर विजेताले एक लाख नगद पाउने छन् भने १० लाख रुपैयाँको उपहारमा भने २५ प्रतिशत कर लाग्नेछ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ८ : ५४ बजे

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट

कटुवा पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद

काठमाडौं – प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुर जाने बाटो छेउबाट