काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि नेपाल तर्फ चोरी आयात हुने सम्भावना बढेकाले नेपालमा पनि भन्सार दर घटाउन खाने तेल व्यवसायीहरूले माग गरेका छन् ।
भारत सरकारले सेप्टेम्बर २४ तारिख देखि सुर्यमुखी तेलको कच्चा पदार्थमा लाग्दै आएको साढे १६ प्रतिशत भन्सारलाई घटाएर साढे ५ प्रतिशत पुर्याएको छ ।
यसमा ५ प्रतिशत जिएसटी जोड्दा पनि भारतमा तयारी सुर्यमुखी तेलको लागत मूल्य करिब ११ प्रतिशत मात्र पर्ने भएकाले नेपालमा भन्दा सस्तो पर्ने र भारतबाट चोरी आयात हुने सम्भावना बढेको व्यवसायीहरूले जनाएका छन् ।
नेपालमा सुर्यमुखी तेलको कच्चा पदार्थमा १० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लाग्दै आएको छ । भारतबाट हुने चोरी तस्करी रोक्न नेपालमा सुर्यमुखी तेलको कच्चा पदार्थको भन्सार घटाउन नसके नेपाल मै प्रतिस्पर्धा गर्न गाह्रो हुने खाने तेल व्यवसायी एवम् उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए ।
उनले भारत सरकारले भन्सार दर घटाए लगत्तै सुर्यमुखी तेलको मूल्य करिब १० रुपैयाँ प्रति लिटर सस्तो भएको जानकारी दिए ।
भारत सरकारले कच्चा भटमास र पाम तेलको भन्सार दर पनि साढे १६ प्रतिशतबाट घटाएर साढे ११ प्रतिशत पुर्याएको छ ।
भटमास र पाम तेलमा भन्सार दर कम फरक भएकाले भटमास र पाम तेल चोरी आयातको सम्भावना नभए पनि सुर्यमुखी तेलले भने नेपालका खाने तेल उद्योगहरूलाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको व्यवसायीहरूको भनाइ छ ।














प्रतिक्रिया