विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो « Khabarhub

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व आर्थिक स्वतन्त्रता : २०२६ वार्षिक प्रतिवेदन’ अनुसार नेपाल विश्वव्यापी वरियतामा एक स्थान खस्किएर ९०औँ स्थानमा पुगेको छ । 

कुल १६५ देशहरू समेटिएको यस प्रतिवेदनमा समृद्धि फाउण्डेशनले नेपालमा लगातार १९औँ पटक यो प्रतिवेदन सार्वजनिक गरेको हो । गत वर्ष ६.५८ अङ्कसहित ८९औँ स्थानमा रहेको नेपालले यस वर्ष १० अङ्कको मापनमा ६.५९ अङ्क प्राप्त गरे पनि वरियतामा भने एक स्थान तल झरेको छ । 

वरियतामा सामान्य गिरावट आए तापनि नेपालको अङ्क कोभिड–१९ महामारीको अवधिमा आएको गिरावटबाट पूर्ण रूपमा सुधार भई सन् २०१९ को ६.५२ अङ्कभन्दा माथि पुगेको छ ।

प्रतिवेदनले मूल्याङ्कन गरेका प्रमुख पाँच क्षेत्रहरूमध्ये नेपालको प्रदर्शन मिश्रित रहेको छ । सरकारको आकार सूचकमा नेपाल अघिल्लो ७.२९ अङ्कसहित ४९औँ स्थानबाट घटेर ७.२५ अङ्कसहित ५१औँ स्थानमा पुगेको छ भने कानुनी व्यवस्था तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षामा ४.९२ अङ्कसहित ९१औँ स्थानबाट घटेर ४.८२ अङ्कसहित ९६औँ स्थानमा पुगेको छ । 

स्वस्थ मुद्रामा पहुँच सूचकमा अङ्क बढेर ७.५७ पुगे तापनि वरियता ९६औँ स्थानबाट खस्किएर १०१औँ स्थानमा पुगेको छ । नियमन सूचकमा पनि नेपाल अघिल्लो ७.१२ अङ्कसहित ३७औँ स्थानबाट घटेर ६.९० अङ्कसहित ५०औँ स्थानमा पुगेको छ । यद्यपि, अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रतामा भने सुधार गर्दै नेपाल अघिल्लो ६.२१ अङ्कसहित १२६औँ स्थानबाट ६.३९ अङ्कसहित ११७औँ स्थानमा उक्लिएको छ । 

अध्ययन गरिएका २४ वटा उप-सूचकहरूमध्ये नेपाल सातवटामा माथि उक्लिएको, छवटामा तल झरेको र ११ वटामा पूर्ववत् स्थानमा कायमै रहेको छ ।

अन्तर्राष्ट्रिय परिदृश्यलाई हेर्दा विश्वभर हङकङ आर्थिक स्वतन्त्रतामा पहिलो स्थानमा कायम रहेको छ भने स्विट्जरल्यान्ड, सिङ्गापुर, न्युजिल्यान्ड, संयुक्त राज्य अमेरिका, आयरल्यान्ड, डेनमार्क, अस्ट्रेलिया, मौरिसस, फिनल्यान्ड, नेदरल्यान्ड्स र संयुक्त अधिराज्य शीर्ष स्थानहरूमा रहेका छन् । नेपालका छिमेकी राष्ट्रहरूमध्ये भारत ८८औँ स्थानमा र चीन ११०औँ स्थानमा रहेका छन् । अन्य प्रमुख देशहरूमा जर्मनी १९औँ, जापान १३औँ, फ्रान्स ३९औँ र रुस १४३औँ स्थानमा रहेका छन् भने भेनेजुएला सबैभन्दा पुछारमा अर्थात् १६५ औँ स्थानमा रहेको छ ।

अनुसन्धान अनुसार उच्च स्तरको आर्थिक स्वतन्त्रता भएका देशका मानिसहरूले बढी समृद्धि, बढी राजनीतिक तथा नागरिक स्वतन्त्रता र लामो आयु प्राप्त गर्छन् । 

उदाहरणका लागि, आर्थिक स्वतन्त्रताको उच्च २५ प्रतिशतमा रहेका देशहरूको औसत प्रतिव्यक्ति आय ६५ हजार ५९६ अमेरिकी डलर र औसत आयु ८०.७ वर्ष रहेको छ भने तल्लो २५ प्रतिशतमा रहेका देशहरूको यस्तो आय ९ हजार ५५२ डलर र औसत आयु ६७.१ वर्ष मात्र रहेको छ । 

फ्रेजर इन्स्टिच्युटका फ्रेड म्याकमहोनका अनुसार मानिसहरू आफ्ना अवसरहरू खोज्न र निर्णयहरू आफैँ गर्न स्वतन्त्र हुँदा बढी समृद्ध, सुखी र स्वस्थ जीवन बिताउँछन् । यो प्रतिवेदन सन् २०२४ को तथ्याङ्कमा आधारित रहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ५ : ४६ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा