काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यमा विवेकहीन, अराजक र निरंकुश प्रवृत्ति हाबी भएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौँमा दीपेन्द्र रोकाया र मोहनदास मानन्धरद्वारा लिखित ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक लोकार्पण गर्दै उहाँले विगतका वर्षमा सुशासन र विकासका क्षेत्रमा भएका कामलाई पूर्णतः अस्वीकार गर्ने प्रवृत्ति बढेको बताए।
आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा अभियान सञ्चालन गर्दा सरकारबाट हटाइएको उनको दाबी थियो ।
वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै प्रचण्डले सरकारका गतिविधि हेर्दा हिन्दी जासुसी फिल्मजस्तो देखिन थालेको टिप्पणी गरे। सरकारले हुँदै नहुने खालका विचित्रका काम देखाउन थालेको उनको भनाइ थियो ।
सुशासनका पक्षमा काम गर्दा आफूहरूलाई सरकारबाट हटाइएकै कारण मुलुक अहिले दुर्घटनातर्फ गएको उनले जिकिर गरे।
कार्यक्रममा प्रचण्डले कर्णालीको विकासका लागि आफूले विगतदेखि नै पहल गर्दै आएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गरे। कर्णालीको विकास र त्यहाँका नागरिकको जीवनस्तर सुधारका लागि राज्यले थप ध्यान दिनुपर्ने उनको धारणा थियो ।














प्रतिक्रिया