काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा पुगेका ६ दलमध्ये पाँचवटाले संसदीय दलको नेता छानिसकेका छन् । तर प्रमुख प्रतिपक्षीको भूमिका पाएकाो नेपाली कांग्रेसले अझैसम्म नेता चयन गर्न सकेको छैन।
कांग्रेसमा देखिएको दुई समूहबीचको कलह र चुनावी हारपछि सभापति गगन थापाको राजीनामाका कारण दलको नेता चयन लम्बिएको छ । यद्यपि थापाले राजीनामाबाट पछि हटेर कांग्रेसको कमान्ड सम्हालिसकेका छन् ।
दलको नेतालाई लिएर केही दिनदेखि नेताहरूले भित्रभित्रै छलफल चलाइरहेका छन् ।
‘सञ्चारमाध्यममा बैठक आह्वान गरिएको भनिए पनि केन्द्रीय समितिबाट कुनै निर्णय भएको छैन,’ सह–महामन्त्री डिला संग्रौलाले भनिन्, ‘तर सहमति जुटाउन नेताहरू आन्तरिक छलफलमा हुनुहुन्छ ।’
यस्तै उपसभापति पुष्पा भुसालले पनि सम्भव भएसम्म सहमतिमै दलको नेता चयन गरिने जानकारी दिइन् ।
‘दलको नेता अब चयन गर्नेछौँ, सम्भव भएसम्म सर्वसम्मतिमै छानिनेछ । अन्यथा, प्रक्रियामा जाने विकल्प पनि छ,’ उपसभापति भुसालले बताइन् ।
सांसदहरू अर्जुननरसिंह केसी, भरतबहादुर खड्का, मोहन आचार्य, भीष्मराज आङ्दाम्बे र निश्कल राईको नाम दलको नेताका लागि चर्चामा छ । जसमध्ये केसी र आङ्देम्बे समानुपातिकका हुन् । अन्य नेता प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
‘सर्वसम्मतिमै गर्न पाए राम्रो हुने थियो, तर त्यसो हुन्छ जस्तो लाग्दैन । केसी, आङ्देम्बे र आचार्यमा एकजना आउने सम्भावना बढी छ,’ नाम खुलाउन नचाहेका कांग्रेसकै एक नेताले भने ।
दलको नेतामा इलाम–१ का युवा सांसद निश्कल राईको चर्चाबारे उनी भन्छन्, ‘यति धेरै पाका नेता भएको पार्टीमा निश्कललाई अघि बढाउलान् जस्तो लाग्दैन ।’
पञ्चायतकालदेखि नेतृत्व गर्दै ५ दशक लामो राजनीतिक अनुभव बटुलेका डोटीबाट निर्वाचित सांसद खड्का भन्छन्, ‘संसदीय दलको नेताकै लागि बैठक बोलाइएको त छ्रैन, तर अब बस्ने सुनेका छौँ ।’
आफू पनि दलको नेतामा आकांक्षी भए पनि पार्टीको निर्णय स्वीकारेरै अघि बढ्ने उनले बताए ।
अन्य दलका नेता
अन्य पाँच दलले संसद्को पहिलो बैठकअगावै दलको नेता चयन गरिसकेका छ । ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन गरेर प्रधानमन्त्री बनाएको छ ।
२५ सिटसहित संसद्मा तेस्रो दल बनेको नेकपा एमालेले रामबहादुर थापा बादललाई दलको नेता बनाएको छ । उक्त निर्णयबारे एमालेभित्र विरोधसँगै विवाद सतहमा आएको छ ।
यस्तै, श्रम संस्कृति पार्टीले हर्क साम्पाङ राई र नेकपाले अध्यक्ष पुष्पकमल दाहाललाई दलको नेता बनाएका छन् । राप्रपाले ज्ञानेन्द्र शाहीलाई नेता बनाएको छ।
राष्ट्रिय निणर्यमा ढिलाइ
नेपालको संविधानको धारा २८४ अनुसार संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा ६ सदस्यीय संवैधानिक परिषद् रहने व्यवस्था छ ।
परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता तथा प्रतिनिधिसभाको उपसभामुख सदस्य रहने प्रावधान छ ।
आइतबार रास्वपा उपसभापति डीपी अर्याल सर्वसम्मत सभामुख चुनिए पनि उपसभामुख र विपक्षी दलका नेता नचुनिँदा परिषद् अपूर्ण छ।
जसकारण रिक्त रहेको प्रधानन्यायधीश नियुक्तिमा समेत ढिलाइ भइरहेको छ । प्रकामानसिंह राउत अवकाशमा गएपछि सपना प्रधान मल्ल कायममुकायम भएकी छन् । तर संवैधानिक परिषद्ले सिफारिस आएकामध्ये एकजनालाई प्रधानन्यायाधीश बनाउने छ ।













प्रतिक्रिया