‘पीडितको पक्षमा बोल्दा तँलाई बलात्कार गर्छुसम्म भन्छन्’ « Khabarhub

‘पीडितको पक्षमा बोल्दा तँलाई बलात्कार गर्छुसम्म भन्छन्’



काठमाडौं- बलात्कारीलाई फाँसीको सजाय माग गर्दै २०७५ भदौ २ गते काठमाडौंको माइतीघरमा पेटीकोट लगाएर अर्धनग्न प्रदर्शनमा उत्रिएकी नारीवादी योद्धा थिइन् – ‘जयनारी’ अर्थात् सावित्री सुवेदी । त्यस बेला उनीसँगै अरु पुरुष र यौनिक अल्पसंख्यक लगायतका अभियानकर्मीहरुले फाँसीको माग गर्दै प्रदर्शन गरेका थिए ।

२०७१ सालदेखि नै औपचारिक अभियानकर्ममा होमिएकी सावित्री पेटीकोट प्रदर्शन पश्चात् चर्चामा रहिन् । बारा कलैयाकी उनी आफ्नो व्यक्तिगत जीवन अन्यायमा परेका महिलाहरुलाई न्याय दिलाउन दिलोज्यान दिएर लागिरहेकी छिन् । राजनीतिशास्त्रमा स्नाताकोत्तर गरेकी उनको रुचि भने समाजसेवामै रह्यो ।

अन्याय देख्न र सहन नसक्ने स्वभावकी उनी पितृसत्तात्मक व्यवस्थाले महिलालाई वस्तुको रुपमा प्रयोग गरेको भन्दै त्यसविरुद्ध कडा आवाज उठाउदै आएकी छिन् । सानैदेखि घरपरिवार र समाजसँग लड्दै आएकी सुवेदी मधेश प्रदेशकी पूजा शाहको योनीमा रड कोचेर हत्या गरेपछि अझ सशक्त रुपमा नारीवादी संघर्षमा लागिरहेकी छिन् । उनको बुझाई अनुसार राज्यले महिलालाई अझै सुरक्षा दिन सकेको छैन ।

बोक्सी प्रथाको चपेटामा पिल्सिएका, लोग्नेले छोडेर अलपत्र परेका, बुवाको पहिचान नहुदाँ नागरिकता प्राप्त गर्न नसकेका छोरीहरुदेखि बलात्कार जस्ता जघन्य अपराधहरुलाई सजाय दिलाउने अभियानमा उनी डटेर लागेकी छिन् । विवाह नगरी बच्चा जन्माउन पाउनुपर्ने अभिव्यक्तिले उनी आलोचनामा परिन् । साथै उनी विवाह संस्था खारेज गर्नुपर्छ भन्नेमा छिन् ।

उनी जहाँ अन्याय-त्यहाँ खरो उत्रिने पात्र हुन् । उनको पहलमा धेरै महिलाहरुले न्याय पाएका छन् । तर पनि उनीमाथि विभिन्न किसिमका लाञ्छना लगाइन्छ । त्यसको बावजुद पनि उनी पीडितकै न्यायको लागि खटिरहेकी हुन्छिन् । खबरहबले आज उनै अभियानकर्मीसँग कुराकानी गरेको छ ।

अपशब्द, गालीगलौज, धम्कीलगायत सबै किसिमले तपाईंमाथि आक्रमण भइरहेको हुन्छ । तर पनि पीडितको साथमा अन्यायको विरुद्ध सडकमै भेटिनुहुन्छ ? के कुराले ऊर्जा दिन्छ ?

पीडितले न्याय पाएको क्षण देख्नुभएको छ ? उसको अनुहारको भाव देख्नुभएको छ ? उसको खुसी अनुहारमा छचल्किएको देख्नुभएको छ ? मैले देखेको छु । न्याय पाउँदा जुन सुख छ नि, त्यसको अगाडि गाली केही होइन । पीडितको पक्षमा बोल्दै गर्दा गाली, धम्की वा तँलाई बलात्कार गर्छु भन्ने धेरै आए । तर मैले त्यसलाई सहजै पचाएँ र पचाउँदै आएको छु ।

धम्की पचाउने ऊर्जा मलाई पीडितलाई न्याय दिलाउँदा आउँछ । उसको अनुहारमा खुसी देख्छु, म त्यही ऊर्जाले गालीको परवाह नगरी आफ्नो उद्देश्यमा अडिग छु । म पीडितले न्याय पाउनुपर्छ भन्ने प्राथमिकता बोकेर हिडेको मान्छे हुँ । धम्कीले डराउदिनँ ।

सबै पुरुष बलात्कारी हुन् भन्नुहुन्छ, विवाह संस्था खारेज गर्नुपर्छ भन्नुहुन्छ, समाजमा राम्रा पुरुष छैनन् ?

म फिल्डमा काम गर्ने मान्छे हो । मैले बलात्कारपछि मारिएका छोरीचेली देखेँ । योनी च्यातिएको, स्तन चुरोटले पोलिएको, प्राइभेट पार्टमा रडको प्रयोग गरेका घटना प्रत्यक्ष देखेको छु । यो संसारमा हरेक मानिस जन्मिने बाटो भनेको योनी हो । आमाको दूधले नै मानिस सिञ्चित हुन्छ । तर कसरी तीनै अंगहरुमा राक्षसी प्रहार हुन्छ ? मैले अधिकांश निर्मम पुरुषहरु देख्नुपर्‍यो ।

अर्को, विवाह संस्थाले महिलाको सधै वस्तुकरण गर्दै आएको छ । यसले पुरुषलाई मालिक, नायक र हिरोको संज्ञा दियो । उसले श्रीमतीलाई भोग गर्ने अधिकार जन्मसिद्ध मान्यो । यो स्थापित मानकका कारण यो संस्था खारेज हुनुपर्छ भन्ने मेरो बुझाइ हो । विवाह संस्था रहुञ्जेल महिला मुक्ति हुँदैन । महिला मुक्तिको बाधक यही संस्था हो ।

विवाहले महिलाको इच्छा, रहर र चाहनालाई कुण्ठित गर्दै आएको छ । समाजले बलात्कार गर्न दिएको ‘लाइसेन्स’ नै विवाह हो । श्रीमतीको अनुमति बिना शारीरिक सम्बन्ध राख्ने होइन भन्ने चेतना छैन । श्रीमती भनेको जस्तोसुकै अवस्थामा पनि श्रीमानको लागि तयार हुनुपर्छ भन्ने छ । त्यस्तै श्रीमतीलाई पनि चाहना नहुँदा ‘नो’ भन्ने अधिकारका बारेमा ज्ञान छैन ।

विस्तारै र थोरै जनामा ज्ञान छ तर वैवाहिक बलात्कारको बारेमा यो समाजले सोच्नै सक्दैन । श्रीमतीले बलात्कार भयो भन्न थाले, बौलाउन थाले महिलाहरु भन्ने आरोप लाग्छ । महिलाले ‘हुन्न’ सम्म भन्न नपाउने सम्बन्ध के काम ? यो विवाह संस्था के काम ? महिला र पुरुषबीच सहअस्तित्वको सम्बन्ध भएन यसको महत्व हुन्थ्यो । एकपक्षीय रुपमा पुरुष सर्वश्रेष्ठ हो भन्ने संस्था बहिष्कार गर्नुपर्छ ।

पितृसत्ताको विरोध गर्नुहुन्छ । यो सबै अपराधको जड त्यही सत्ता हो ?

बलात्कारसम्बन्धी अपराधको जड पितृसत्ता हो । बलात्कार भयो भनेर कोही महिला सडकमा आउँदा धारिलो जिब्रो प्रहार हुन्छ । तर बलात्कारी वा अपराधीलाई ‘तैँले किन बलात्कार गरिस् ?’ भनेर प्रश्न गरिँदैन । पीडितले आवाज उठाउँदा उसको बदनाम गर्न, चरित्र हत्या गर्न पछि नपर्ने समाज छ ।

हाम्रो हिरो, हाम्रो खेलाडी, हाम्रो कलाकार र हाम्रो नेताले बलात्कारै गर्दैन भन्ने भाष्य बनाइएको छ । पीडकको लागि पूरै समाज एकिकृत हुने र पीडितलाई बाँच्नै नदिने अवस्था छ । अझ उल्टै महिला नै पीडितलाई प्रश्न गरिरहेका हुन्छन् । पुरुषको जिन्दगी बर्बाद भयो भनेर छाती पिटिरहेका छन् ।

पीडितले वर्षौसम्म एन्जाइटी र डिप्रेसनको सिकार भएको थाहा छैन । पीडित कस्तो अवस्थाबाट गुज्रिएको भन्ने थाहा छैन । महिलाहरु नै पुरुष सकिए भनेर उफ्रिरहेका छन् । यो भन्दा बढी पितृसत्ताको कुरुपता अरु के होला ?

बलात्कारसम्बन्धी कानूनमा अपूग के छ ?

म सुरुदेखि नै बलात्कारीलाई फाँसीको सजाय हुनुपर्छ भनेर हिँडिरहेको छु र आज पनि मेरो अडान त्यही हो । केही दिनअगाडि सुर्खेतमा इनिसा विकलाई आफ्नै साथीहरुले सामूहिक बलात्कार गरेर हत्या गरे । निर्मला पन्त, भागिरथी भट्ट लगायतका अपराधमा संलग्न जोकोहीलाई झुण्ड्याउनुपर्छ । अहिलेको विद्यमान कानून संशोधन गरेर बलात्कारसम्बन्धी कडा कानूनको व्यवस्था नहुञ्जेल यस्ता अपराध रोकिँदैन । बलात्कारी पुज्ने समाजमा गौशाला २६ ले देश छोडेर भाग्नुपर्छ । गायिकाले दिन रात रोएर स्टाटस मार्फत आँशु झार्नुपर्छ । हुर्कँदै गरेका छोरीहरु कोपिलामै मार्दिन्छन् । बलात्कार गरेर हत्या गर्दापनि लासमाथि राजनीति हुँदै आएको छ । यो भन्दा सर्मनाक विषय अरु के होला ?

इनिसाकै केसमा केटा साथीसँग जंगल-जंगल किन गएको ? सानै उमेरमा ब्वाइफ्रेण्ड किन बनाएको ? भनेर लासमाथि प्रश्न गरिएको छ । छोरीले ब्वाइफ्रेण्ड बनाउनै नहुने हो ? पुरुष भनेको जनावर हो ? साथी बनाउनै नहुनलाई । छोरी ब्वाइफ्रेण्डसँगै सुरक्षित छैनन् । यो कस्तो समाज बनाउँदैछौ हामीले ? पीडितले स–सम्मान बाँच्न पाउने समाजको निर्माण गर्ने कानून आवश्यक छ ।

पीडित एकदुई वर्ष पछि किन बोल्छन्, समयमै वा तत्कालै बोल्न किन सक्दैनन् ?

बलात्कृत भएँ भनेर भन्न सक्ने समाज छ ? हेर्नुहोस् त, बल्ल–बल्ल हिम्मत गरेर बोल्ने पीडितमाथि समाज खनिएको छ । यो देखेर कसैले जघन्य अपराधको बारेमा मुख खोल्न सक्छ ? उल्टै होटल किन गएको ? केटा भेट्न किन गएको ? भनेर प्रश्न गर्छ ।समयमै बोल्ने हामीले वातावरण बनाइदिएनौँ । होटल जानु भनेको बलात्कार गर्ने अनुमति दिने होइन । केटा भेट्न राजी हुनु भनेको बलात्कार गर्ने छुट दिनु होइन ।

पीडितलाई आफूमाथि भएको अपराध बुझ्न समय लाग्नसक्छ । पीडितलाई ‘म आफैँ उसलाई भेट्न होटलसम्म गएकी थिएँ, त्यसैले यो अपराधको लागि म स्वयं पनि जिम्मेवार छु’ भन्ने लाग्न सक्छ । पीडितको आवाज दबाउने प्रयास नगरौँ । एकदिन वा एक वर्षपछि नै किन नभनोस् । अपराध त अपराध हो ।

पीडित किन ‘होस्टायल’ हुन्छन् ?

पीडित ‘होस्टायल’ हुने मुख्य कारण यो राज्य हो । राज्यले पीडितलाई संरक्षण गर्दैन । घटनाको फैसला नहुदाँसम्म राज्यले सेफ्टी हाउसमा राख्नुपर्‍यो । उसलाई परामर्श दिनुपर्‍यो । यहाँ राज्य नै मन मिले चमत्कार, नत्र बलात्कार भन्ने स्थिति छ । महिला भनेको पुरुषले रोज्ने र छान्ने वस्तु हो । पीडितलाई भोलि बिक्दिनस्, तँलाई कसैले बिहे गर्दैन, समाजले बहिष्कार गर्छ भनेर तर्साएर र डर देखाएर वा धम्काएर, राजनीतिक दबाबले होस्टाइल बन्दै आएका छन् ।

प्रहरी, अदालत लगभग सबै निकायमा पुरुष कर्मचारी हुन्छन् । पीडितले कसरी बयान दिन्छन् ?

पुरुष कर्मचारीहरुसँग पीडितले खुलेर बयान दिन सकिरहेका छैनन् । अझ कर्मचारीले पीडितको जज (मूल्याङकन) गर्ने प्रवृत्ति छ । कपाल छोटो किन ? टिकटकमा किन नाचेको, लाइभ किन बसेको ? केटासँग किन मस्केको ? केटी आफैँ उत्ताउली भएर हिँडेपछि त केटाले चान्स खोजिहाल्छ भन्नेजस्ता कुरा सोध्छन् ।

पुरुषवादी संरचना बदल्नुपर्छ । महिलाको बयान लिने महिला नै हुनुपर्छ । र अर्को, महिला मात्रै भएरपनि हुँदैन । महिलामैत्री व्यवहारको ज्ञान भएको कर्मचारी हुनुपर्छ । पहिलो कुरा हाम्रो देशमा अधिकांश बलात्कारका मुद्दा प्रहरीको ढोकासम्म पुग्दैन । यदी प्रहरीसम्म पुग्यो भने पनि तल सिपाहीदेखि माथि प्रहरी निरीक्षकसम्म पीडितसँगको मैत्रीपूर्ण सोधपुछ हुँदैन ।

पीडितलाई ‘कहाँ गर्‍यो ? कसरी गर्‍यो ? त्यतिबेलै किन नचिच्याएको ?’ जस्ता असंवेदशील प्रश्न गरेर अक्क न बक्क बनाइन्छ । पीडितलाई हतोत्साही बनाउने काम प्रहरी कार्यालयमा हुन्छ । त्यसकारण कुनैपनि न्यायालयले पीडितले बलात्कार भए भनेर उजुरी दिन आएपछि उसको बोली नै प्रमाणको आधार मुद्दा चलाउनुपर्छ । त्यसमाथि पीडितको चरित्रहत्या गर्ने, बदनाम गर्ने, फोटो भिडियो लिक गर्दिन्छन् ।

बलात्कारको मुद्दामा ‘मिलापत्र’ पनि गरिन्छ ?

कति बहिनीहरुले बलात्कार भएकै व्यक्तिसँग बिहे गरेर बस्नुपरेको छ । नेताहरुले मेलमिलाप गराएका छन् । स्थानीय जनप्रतिनिधिले बलात्कार गरेकोसँगै बिहे गराइदिने नीति लिएर बसेका छन् । बलात्कारको घटनापछि मेलमिलाप गराइदिएपछि पीडितले आत्महत्या गरेका छन् । अझ मधेश प्रदेशमा धेरै मिलापत्र गराइन्छ । छोरीको इज्जत योनीमा राखिएको छ । बलात्कृत, डिभोर्स भएपनि सेकेण्डह्याण्ड मापन गर्ने संस्कार छ । कसैले छुनेबित्तिकै दाग लाग्छ ।

तपाईंको ‘छोटो कपाल’ व्यक्तिगत रुचि हो वा आफूलाई फरक अथवा क्रान्तिकारी देखाउन हो कि पुरुष बराबर देखाउन खोज्नुभएको हो ?

बलात्कारपछि हत्या गरिएकी बहिनीको लागि केश मुण्डन गरेकी थिएँ । दिनानुदिन बलात्कारको घटना आउँछ । कपाल लामो बनाउनै सकिनँ । बलात्कारमुक्त समाज स्थापना भएपछि लामो कपाल पाल्ने हो । अर्को कुरा, पुरुषसँग बराबरी म छैन । म उनीहरुभन्दा माथि छु । यो समाजका विद्यमान पुरुषभन्दा क्रान्तिकारी छु । बलियो छु, उनीहरु भन्दा बढी निर्णय लिन सक्छु । म उनीहरुसँग तुलना गर्दिनँ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ४ : ४१ बजे

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना

बागमती प्रदेशसभाको सत्रौँ हिउँदे अधिवेशन आजदेखि प्रारम्भ

मकवानपुर – बागमती प्रदेशसभाको १७औँ हिउँदे अधिवेशन आजदेखि प्रारम्भ भयो