छोरीहरुको व्रतबन्धमार्फत समानताको अभ्यास « Khabarhub

छोरीहरुको व्रतबन्धमार्फत समानताको अभ्यास


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परम्परागत सोच र आधुनिक चेतनाबीच सन्तुलन खोज्दै एक दम्पतीले छोरीहरूको व्रतबन्ध गराएर समाजमा सकारात्मक सन्देश दिएका छन् ।

 सुवास बस्ताकोटी र अनुपा रेग्मीले आफ्ना दुई छोरीको व्रतबन्ध सम्पन्न गर्दै छोरा–छोरीबीच समानता व्यवहारमै लागू हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेका हुन् । उनीहरूको यो कदमले व्रतबन्ध जस्तो संस्कारलाई केवल लिङ्गसँग जोडेर हेर्ने परिपाटीभन्दा माथि उठाउँदै यसको वास्तविक अर्थ-अनुशासन, शिक्षा र जिम्मेवारी सबै सन्तानका लागि समान हुने सन्देश दिएको छ । 

आमा अनुपा रेग्मीका अनुसार छोरीहरूलाई व्रतबन्ध गराउनु कुनै परम्परा तोड्ने प्रयास नभई यसको मूल भावलाई समेट्ने प्रयास हो । सन्तान भनेको सन्तान हो, छोरा वा छोरी भनेर फरक गर्ने होइन ।

खबरहबसँग कुरा गर्दै आमा अनुपाले छोरी पाएकै कारणले आफूहरू समाजबाट हेपिएकै कारण र छोरा र छोरीबीचको भिन्नता छैन भन्ने सन्देश दिनको लागि छोरीहरूको व्रतबन्ध गरिएको बताइन् । उनी भन्छिन्, ‘यदि भगवानकै सन्तान हुन् भने सृष्टि चलाउन छोराछोरी बराबर हुन् । देवीको मूर्ति पूजा गरिन्छ । उहाँहरूलाई स्वीकार गरिन्छ । अहिले पनि कति महिला वाचिका पण्डित हुनुहुन्छ । धार्मिक दृष्टिले पनि व्रतबन्धको मूल उद्देश्य अध्ययनको सुरुवात र अनुशासनमा बाँधिनु हो, जुन कुनै एक लिङ्गमा मात्र सीमित छैन । इतिहास र शास्त्रमा महिलाहरूले वेद अध्ययन गरेको उल्लेख पाइन्छ । जसले छोरीहरूको व्रतबन्धलाई सांस्कृतिक रूपमा पनि स्वाभाविक बनाउँछ । 

अनुपा भन्छिन्, ‘पारिवारिक कर्म छोराको अधिकार जस्तो मानिने समाजले छोरालाई ‘वंश धान्ने’ जिम्मा दियो भने छोरीलाई आफ्ना आमाबुवाको कर्म गर्नबाट टाढा राख्यो । व्रतबन्ध गर्ने, पूजा गर्ने, कुलको नाम अघि बढाउने जस्ता जिम्मेवारी छोरामाथि मात्र सीमित गरियो ।’ 

उनका अनुसार छोरीहरूले गुन्युचोली नगर्ने निर्णय गरेपछि उनीहरूको इच्छाअनुसार व्रतबन्ध गरिएको हो । गुन्युचोलीमा मन्त्र वा स्पष्ट आधार नदेखिएकाले छोरीहरूको चाहनालाई सम्मान गर्दै व्रतबन्ध गर्‍यौँ, उनले भनिन् । अभिभावकका अनुसार छोरा र छोरीबीच ‘एक्स’ र ‘वाइ’ क्रोमोजमबाहेक अन्य आधारभूत भिन्नता छैन । समाजमा अझै पनि अंश, वंश निरन्तरता र किरिया जस्ता विषयमा छोरालाई प्राथमिकता दिने सोच कायम रहे पनि यस पहलले छोरीहरू पनि समान रूपमा सक्षम र जिम्मेवार हुन्छन् भन्ने सन्देश दिएको छ । 

धार्मिक अभ्यासमा पनि छोरीहरूको सहभागिता नयाँ होइन । भारतको हरिद्वारमा छोरीहरूले जनै लगाउने प्रचलन छ भने धर्मशास्त्रले पनि यसमा स्पष्ट बन्देज गरेको पाइँदैन । जनै लगाएका छोरीहरूले आफ्ना आमाबुवाको कर्म गर्न सक्ने मान्यता रहेको बताइन्छ । अनुपाका अनुसार सन्तानले जनै नलगाए पनि कर्तव्यबाट पछि हट्दैनन्। तर जनै लगाएपछि समाजले विरोध गर्ने आधार कम हुन्छ भन्ने हाम्रो उद्देश्य हो । 

उनले थप भन्छिन्, ‘छोरीहरूको व्रतबन्ध गर्ने हामी पहिलो होइनौ । धेरैले आलोचनाको डरले खुलाउनु भएको रहेनछ । पछि अन्य अभिभावक र गुरूहरूले पनि आफ्ना छोरीहरूको व्रतबन्ध गराएको कुरा थाहा पायौँ ।’ 

यद्यपि, यस कदमप्रति केही नकारात्मक प्रतिक्रिया आए पनि धेरैले यसलाई समयअनुकूल परिवर्तन र समानताको अभ्यासका रूपमा लिएका छन् । यो घटनाले संस्कृति स्थिर नभई समाजको चेतनाअनुसार विकसित हुँदै जाने तथ्य पुनः स्थापित गरेको छ । परम्परालाई जोगाउँदै समानताको मूल्य स्थापित गर्ने यस्ता पहलले भविष्यमा अझ समावेशी समाज निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ६ : ०० बजे

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५