काठमाडौं– परम्परागत सोच र आधुनिक चेतनाबीच सन्तुलन खोज्दै एक दम्पतीले छोरीहरूको व्रतबन्ध गराएर समाजमा सकारात्मक सन्देश दिएका छन् ।
सुवास बस्ताकोटी र अनुपा रेग्मीले आफ्ना दुई छोरीको व्रतबन्ध सम्पन्न गर्दै छोरा–छोरीबीच समानता व्यवहारमै लागू हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेका हुन् । उनीहरूको यो कदमले व्रतबन्ध जस्तो संस्कारलाई केवल लिङ्गसँग जोडेर हेर्ने परिपाटीभन्दा माथि उठाउँदै यसको वास्तविक अर्थ-अनुशासन, शिक्षा र जिम्मेवारी सबै सन्तानका लागि समान हुने सन्देश दिएको छ ।

आमा अनुपा रेग्मीका अनुसार छोरीहरूलाई व्रतबन्ध गराउनु कुनै परम्परा तोड्ने प्रयास नभई यसको मूल भावलाई समेट्ने प्रयास हो । सन्तान भनेको सन्तान हो, छोरा वा छोरी भनेर फरक गर्ने होइन ।
खबरहबसँग कुरा गर्दै आमा अनुपाले छोरी पाएकै कारणले आफूहरू समाजबाट हेपिएकै कारण र छोरा र छोरीबीचको भिन्नता छैन भन्ने सन्देश दिनको लागि छोरीहरूको व्रतबन्ध गरिएको बताइन् । उनी भन्छिन्, ‘यदि भगवानकै सन्तान हुन् भने सृष्टि चलाउन छोराछोरी बराबर हुन् । देवीको मूर्ति पूजा गरिन्छ । उहाँहरूलाई स्वीकार गरिन्छ । अहिले पनि कति महिला वाचिका पण्डित हुनुहुन्छ । धार्मिक दृष्टिले पनि व्रतबन्धको मूल उद्देश्य अध्ययनको सुरुवात र अनुशासनमा बाँधिनु हो, जुन कुनै एक लिङ्गमा मात्र सीमित छैन । इतिहास र शास्त्रमा महिलाहरूले वेद अध्ययन गरेको उल्लेख पाइन्छ । जसले छोरीहरूको व्रतबन्धलाई सांस्कृतिक रूपमा पनि स्वाभाविक बनाउँछ ।

अनुपा भन्छिन्, ‘पारिवारिक कर्म छोराको अधिकार जस्तो मानिने समाजले छोरालाई ‘वंश धान्ने’ जिम्मा दियो भने छोरीलाई आफ्ना आमाबुवाको कर्म गर्नबाट टाढा राख्यो । व्रतबन्ध गर्ने, पूजा गर्ने, कुलको नाम अघि बढाउने जस्ता जिम्मेवारी छोरामाथि मात्र सीमित गरियो ।’
उनका अनुसार छोरीहरूले गुन्युचोली नगर्ने निर्णय गरेपछि उनीहरूको इच्छाअनुसार व्रतबन्ध गरिएको हो । गुन्युचोलीमा मन्त्र वा स्पष्ट आधार नदेखिएकाले छोरीहरूको चाहनालाई सम्मान गर्दै व्रतबन्ध गर्यौँ, उनले भनिन् । अभिभावकका अनुसार छोरा र छोरीबीच ‘एक्स’ र ‘वाइ’ क्रोमोजमबाहेक अन्य आधारभूत भिन्नता छैन । समाजमा अझै पनि अंश, वंश निरन्तरता र किरिया जस्ता विषयमा छोरालाई प्राथमिकता दिने सोच कायम रहे पनि यस पहलले छोरीहरू पनि समान रूपमा सक्षम र जिम्मेवार हुन्छन् भन्ने सन्देश दिएको छ ।
धार्मिक अभ्यासमा पनि छोरीहरूको सहभागिता नयाँ होइन । भारतको हरिद्वारमा छोरीहरूले जनै लगाउने प्रचलन छ भने धर्मशास्त्रले पनि यसमा स्पष्ट बन्देज गरेको पाइँदैन । जनै लगाएका छोरीहरूले आफ्ना आमाबुवाको कर्म गर्न सक्ने मान्यता रहेको बताइन्छ । अनुपाका अनुसार सन्तानले जनै नलगाए पनि कर्तव्यबाट पछि हट्दैनन्। तर जनै लगाएपछि समाजले विरोध गर्ने आधार कम हुन्छ भन्ने हाम्रो उद्देश्य हो ।

उनले थप भन्छिन्, ‘छोरीहरूको व्रतबन्ध गर्ने हामी पहिलो होइनौ । धेरैले आलोचनाको डरले खुलाउनु भएको रहेनछ । पछि अन्य अभिभावक र गुरूहरूले पनि आफ्ना छोरीहरूको व्रतबन्ध गराएको कुरा थाहा पायौँ ।’
यद्यपि, यस कदमप्रति केही नकारात्मक प्रतिक्रिया आए पनि धेरैले यसलाई समयअनुकूल परिवर्तन र समानताको अभ्यासका रूपमा लिएका छन् । यो घटनाले संस्कृति स्थिर नभई समाजको चेतनाअनुसार विकसित हुँदै जाने तथ्य पुनः स्थापित गरेको छ । परम्परालाई जोगाउँदै समानताको मूल्य स्थापित गर्ने यस्ता पहलले भविष्यमा अझ समावेशी समाज निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।













प्रतिक्रिया